पोखरा- पोखराको लेकसाइड, साँझ नपर्दै संगीत र मदिराको लयमा मात्तिइसकेको हुन्छ। त्यसैले त, लेकसाइडको एउटा चोकको नाम नै राखिएको छ, हल्लन चोक। मदिराको लयमा मानिस हल्लिँदै निस्किने भएकैले हुन सक्छ, यसको नाम हल्लन चोक राखिएको पनि।
तर, पोखरालाई मदिरा पर्यटनका रूपमा मात्र अर्थ्याइयो भने यो देशकै मुख्य पर्यटकीय स्थलप्रति बडो अन्याय हुनेछ। किनकि, यहाँ धार्मिक गतिविधि पनि कम हुँदैन। फेवाताल बीचको नवदुर्गा अर्थात तालबाराही मन्दिरमा पूजा अर्चनामा जाने तीर्थालु पनि कम हुँदैनन्। उनै नवदुर्गा मन्दिरलाई लक्षित गर्दै चार वर्षदेखि फेवाताल किनारमा हुँदै आएको छ, नवदुर्गा आरती।
मध्य पहाडी क्षेत्रमा पर्ने पोखराको आकर्षणको केन्द्र भनेकै यहाँको फेवाताल हो। उसो त पोखरालाई तालैतालको शहर पनि भनिन्छ। पोखरा कतिपय मानिसका लागि सपनाको शहर पनि हो। यहाँको फेवाताल, फेवातालको बीचमा रहेको तालबाराही मन्दिर र यस वरपरका अन्य पर्यटकीय स्थलहरूले जोकोहीलाई लोभ्याउँछन्।
पोखरा एकपटक आइसकेका हरकोहीले भन्छन्, ‘वाह पोखरा ! ताल र सेता हिमालहरू देखिने गज्जबको पोखरा !’ तर कहिले पोखरामा पाइला नटेकेकालाई जिज्ञासा हुन्छ, ‘कस्तो होला पोखरा ? पोखराको सौन्दर्यलाई आकलन गर्न प्रेमप्रकाश मल्लको एउटा गीतको दुई हरफ नै काफी छन्ः
माछापुछ्रे फेवातालमा पौडी खेल्दो रैछ,
पोखरा त साँच्चिकै पोखरा पो रैछ
पोखरा साँच्चिकै पोखरा नै रहेछ। पोखरा भनेको फेवाताल र माछापुछ्रे हिमालको दृश्यावलोकनमा सीमित छैन अब। आजभोलि यही फेवाताल र माछापुछ्रेको सौन्दर्यलाई सुनमा सुगन्ध थपिदिएको छ, फेवाताल किनारमा गरिने नवदुर्गा आरतीले। पोखरा लेकसाइडमा साँझपख स्वदेशी–विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। फेवाताल किनारमै नवदुर्गा आरतीले अर्को जमघट गराउँछ। फेवातालको मध्यभागमा तालबाराही मन्दिर छ । तालबाराहीलाई नवदुर्गा भगवतीको स्वरूप मान्ने गरिन्छ। साँझपख डुंगा चढेर मन्दिर पुग्न सम्भव नभएकाले लेकसाइडमै आरती गर्ने गरिएको माता ताल बाराही आरती सेवा समितिका अध्यक्ष मंगल नेपाली बताउँछन्।
फेवाताल किनारमा २४ असोज ०७५ देखि आरती शुरु भएको हो। शुरुवातबाटै हालसम्म एक दिन पनि नबिराई नवदुर्गा आरती भइरहेको छ। प्रायः तीनवटा आरती गरिन्छ। ‘बर्खायाम भएकाले दैनिक एउटा आरती गरिन्छ। साउन, भदौतिर तीनवटै आरती गर्ने योजना छ,’ अध्यक्ष नेपाली भन्छन्, ‘हरेक साँझ पौने सात बजे शंखध्वनिका साथ आरती शुरु हुन्छ । र, स्तोत्र पाठसहित सुगन्धित धुप बालिन्छ। भक्तजन ४५ मिनटसम्म आरतीमा मन्त्रमुग्ध रहन्छन्। पछिल्लो समय विदेशी पर्यटक पनि यसमा सहभागी हुन थालेका छन्।’
अध्यक्ष नेपालीका अनुसार बनारसबाट आएका महागुरु मदन न्यौपानेबाट आरतीको शुरुवात गरिएको थियो। स्थानीय बासिन्दासँगको आपसी समझदारीमा फेवाताल किनारमा आरती शुरु गरिएको थियो। शुरुमा आरती गर्दा केही राजनीतिक दलहरूबाट विरोध पनि भएको अध्यक्ष नेपाली सम्झिन्छन्।

‘धेरैले ताल छेकिन्छ भनेका थिए तर विस्तारै आरतीले ताल नछेकिने देखेपछि सबैले सहयोग गरे र हालसम्म आरतीले निरन्तरता पाइरहेको छ,’ अध्यक्ष नेपाली भन्छन्, ‘शुरुका दिन करिब चार लाख खर्च गरेर महागुरु ल्याएर आरती उद्घाटन गरियो। मञ्च बनाएर उद्घाटन गरेर आरती गर्दा धेरैले मन पराउनुभयो। दैनिक आरती सञ्चालन गर्दै जाँदा यो त राम्रो काम रहेछ भनेर सबैले सहयोग र सहकार्य गर्नुभयो।’
उनका अनुसार आरती शुरुको एक वर्ष गुरुहरूलाई पारिश्रमिक पनि दिन सकिने अवस्था थिएन। करिब पाँचजना गुरु राख्नलाई मासिक एक लाख २० हजार रुपैयाँ बुझाउनुपर्छ। आरती नियमित सञ्चालनका लागि दैनिक पाँच हजार आम्दानी हुन अत्यन्त आवश्यक छ। अध्यक्ष नेपाली भन्छन्, ‘यहाँ आम्दानी भएन भने गाह्रो हुन्छ। बनारस र पोखराका गुरुहरू मिलेर आरती सञ्चालन गर्नुहुन्छ। गुरु दक्षिणालगायत पूजा सामग्री खरिदका लागि दैनिक पाँच हजार रुपैयाँ उठ्नुपर्छ। साउनमा यदि पानी अत्यधिक परेन, राम्रै भयो भने तीनवटै आरती गर्छौं। होइन भने भदौमा शुरु गर्ने सोेचेका छौं।’
प्रायः फेवाताल किनारमा नवदुर्गा आरती हेर्ने स्वदेशी तथा विदेशी पर्यटकहरू भेला हुन्छन्। त्यसमा नेपाली र भारतीय पर्यटकको भीड लाग्छ। तीर्थालुको सहयोगमा आरती चलिरहेको अध्यक्ष नेपाली बताउँछन्। भन्छन्, ‘यहाँका लेकसाइडका मानिसमा आध्यात्मिक चिन्तन छैन। तर, आन्तरिक पर्यटकहरू पोखरामा एक दिन बढी बसेर भए पनि आरती हेरेर जान्छन्। आरती हेर्न आउने भीडले पाइला टेक्ने ठाउँ हुँदैन। पहिलोपटक नवदुर्गा आरतीमा पुगेकाहरूलाई कुनै धार्मिक मेलामा सहभागी भएको अनुभूति हुने गर्छ।’
नवदुर्गा आरती शुरु भएयता एक हजारभन्दा बढी व्यक्ति कर्ता बसिसकेका छन्। कर्ता बस्नका लागि ११ सय रुपैयाँ तिर्नुपर्छ। उनीहरूलाई प्रमाणपत्र दिएर सम्मानसहित पठाउने गरेको छ, समितिले। समितिका अनुसार हाल आम्दानी कम भएकाले एउटा आरती मात्र सञ्चालन गरिएको छ। समितिले नै आरतीसम्बन्धी सबै व्यवस्थापन गर्छ। पर्यटकहरूले दान पेटिकामा राखेको पैसा समिति र टीका लगाएको आरतीको थालमा जम्मा हुने रकम भने गुरुले लिने गरेका छन्।