समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका यतिबेला दर्शनार्थीको चहलपहलले भरिन थालेको छ। जनैपूर्णिमाको मुख्य पूजाको दिन नजिकिँदै गर्दा देशका विभिन्न स्थानबाट बडिमालिका पुग्ने तीर्थयात्रीको संख्या बढ्दै गएको छ।
दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष मुख्य पूजा अगावै अर्थात् भदौ १ गतेदेखि नै बडिमालिकामा पूजा तथा मेला सुरु गरिएको थियो। एकै दिन अत्यधिक भिड हुँदा दर्शनमा कठिनाइ हुने भएकाले पूजालाई अगाडि सारिएको बडिमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले बताएका छन्।
तर यस वर्ष बडिमालिकाको यात्रामा अर्को नयाँ अनुभव पनि थपिएको छ, सञ्चारको पहुँच।
वर्षौंपछि बडिमालिकामा मोबाइल र इन्टरनेट
वर्षौंदेखि मोबाइल तथा इन्टरनेट सेवाबाट टाढा रहेको बडिमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनमा ल्याएपछि तीर्थयात्री र पर्यटकमा उत्साह थपिएको छ।
नेपाल टेलिकमले ४ हजार २३० मिटरको उचाइमा टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो। जनैपूर्णिमाको मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएपछि बडिमालिका पुग्ने दर्शनार्थीले परिवार तथा आफन्तसँग सम्पर्क गर्न, आफ्ना यात्रा अनुभव तत्काल साझा गर्न तथा आवश्यक पर्दा सहयोग माग्न सहज भएको छ।
सञ्चार सेवा केवल मोबाइल चलाउने सुविधा मात्र नभएर दुर्गम क्षेत्रमा सुरक्षा, स्वास्थ्य उद्धार, पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण पूर्वाधार बनेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल रूपमा सेवा उद्घाटन गर्दै दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताएका थिए । टावर निर्माणका क्रममा नेपाली सेनाले उपकरण ढुवानीमा समेत सहयोग गरेको थियो।
साइकलमा बडिमालिका पुगेपछि बढ्यो चर्चा
बडिमालिकाको पर्यटन प्रबर्द्धनमा कैलालीका साइकल यात्री भरत शाहको यात्रालाई महत्वपूर्ण रूपमा हेरिन्छ।
केही वर्षअघि पहिलोपटक साइकल लिएर बडिमालिका पुगेका शाहले त्यहाँका हरिया पाटन, रंगीचंगी फूल, हिमाली दृश्य र धार्मिक महत्वका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि बडिमालिका थप चर्चामा आएको थियो। भरतको यात्रापछि ‘यति दुर्गम ठाउँमा साइकल पुग्न सक्छ भने पैदल किन नपुग्ने?’ भन्ने उत्साह धेरैमा बढेको स्थानीयको अनुभव छ।
शाहका अनुसार बडिमालिका केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्रकृतिको अनुपम संगम पनि हो। यहाँ पुग्ने जो–कोहीलाई हरिया पाटन, फूलका बगैँचा, हिमाली दृश्य र शान्त वातावरणले लोभ्याउने उनको अनुभव छ। यो पटकपनि शाह साइकल यात्रीको समुह संगै बडिमालिकाको यात्रामा निस्केका छन । तर, साइकल भने यो पटक लगिएको छैन ।
नरेश शाही : धार्मिक पर्यटनसँगै पूर्वाधारमा जोड दिनुपर्छ
सुदूरपश्चिम प्रदेश सभा सदस्य नरेश शाहीका अनुसार बडिमालिका क्षेत्र धार्मिक आस्थासँगै पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो। उनले बडिमालिकाको विकासका लागि सडक, सञ्चार, खानेपानी, स्वास्थ्य तथा सुरक्षा लगायतका आधारभूत पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने बताउँदै आएका छन ।
“बडिमालिका हाम्रो धार्मिक आस्थाको धरोहर मात्र होइन, सुदूरपश्चिमको पर्यटनको महत्वपूर्ण गन्तव्य हो। यहाँ आउने दर्शनार्थीको संख्या बढ्दै गएको अवस्थामा पूर्वाधार विकास र पर्यटकीय व्यवस्थापनलाई पनि सोहीअनुसार अगाडि बढाउन आवश्यक छ,” शाहीले बताए ।
हजारौँ दर्शनार्थी पुग्ने अनुमान
बडिमालिकामा यस वर्ष विगतको तुलनामा दर्शनार्थीको चाप बढेको देखिएको छ। मार्तडीका होटल भरिएपछि कतिपय दर्शनार्थी स्थानीयका घरमा समेत बस्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जनैपूर्णिमाको मुख्य पूजा नजिकिँदै जाँदा अझै ठूलो संख्यामा दर्शनार्थी बडिमालिका पुग्ने अनुमान गरिएको छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पछिल्लो समय बढेको प्रचारप्रसारले बडिमालिकाप्रतिको आकर्षण थप बढाएको छ।
बडिमालिका क्षेत्रका २२ पाटन, त्रिवेणी, विष्णुपानी, खेतीबेती, धर्मद्वारलगायतका क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन्।
सञ्चारले जोडेको बडिमालिका
कुनै समय बडिमालिका पुग्ने यात्रुका लागि आफन्तसँग सम्पर्क गर्नु नै ठूलो चुनौती थियो। मोबाइल नेटवर्क नहुँदा यात्राको अवस्थाबारे घरपरिवारलाई जानकारी दिनसमेत कठिनाइ हुन्थ्यो।
अहिले भने त्यही बडिमालिकाको डाँडाबाट घरपरिवारसँग फोनमा कुरा गर्न सकिने भएको छ। यात्राका दृश्य तत्काल सामाजिक सञ्जालमा पुर्याउन सकिने भएको छ। आकस्मिक अवस्था आएमा सम्बन्धित निकायसँग सम्पर्क गर्न सकिने आशा बढेको छ।
त्यसैले बडिमालिकामा पुगेको फोर–जी सेवा केवल ‘मोबाइलको नेटवर्क’ होइन, दुर्गम बडिमालिकालाई देश र संसारसँग जोड्ने नयाँ ढोका बनेको छ।
अब चुनौती भनेको सेवा सञ्चालनलाई दीर्घकालीन र भरपर्दो बनाउनु हो। सञ्चारसँगै बाटो, स्वास्थ्य, सुरक्षा, आवास, खानेपानी र पर्यावरण संरक्षणका पूर्वाधार पनि व्यवस्थित गर्न सके बडिमालिका धार्मिक तीर्थस्थलसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझ बलियो बन्न सक्नेछ।
जनैपूर्णिमासम्म हजारौँ दर्शनार्थीको पाइला बडिमालिकातर्फ बढिरहँदा यसपटक उनीहरूको यात्रामा आस्था र प्रकृतिसँगै एउटा नयाँ साथी थपिएको छ : सञ्चार।
