देश बनाइहाल्न हुँदैन रहेछ नि
बनाई… ई … ई .. रहनुपर्दो पो रहेछ त !
किनकि,
देश बनाएर सिद्धिने कुरै होइन रहेछ
बरु
बनाई… ई… ई… रहने कुरा पो रहेछ !
तिमीले बनाइहाल्यौ भने
भोलि आउने पुस्ताले फेरि के गर्ने ?
बनाई.. ई… ई रहनुपर्ने रहेछ भन्ने जानेपछि
फेरि भत्काउन थाल्ने छ
फेरि आगो लगाउन थाल्ने छ
फेरि ध्वंश बिध्वंश पार्ने छ !
यस उसले
तिमी पनि बनाई.. ई .. ई रहू
हिजोको ले पनि बनाई..ई..ई रहेको थियो
भोलिको ले पनि बनाई..ई..ई रहने छ !
यसरी नै पुस्ता दर पुस्ता
देश बनिई… ई… ई .. रहनेछ !
त्यसैले देश बनिहाल्यो भने त बित्यास पर्छ
भोलिको जम्जाउँदो पुस्ताले के गर्ला फेरि ?
देश बनि.. ई ..ई हाल्यो भने त
के पो बनाई .. ई .. ई रहला फेरि ?
के मा पो आगो झोस्दै हिँड्ला फेरि
कस्लाई पो दुश्मन घोषणा गरेर
ध्वंश बिध्वंश गर्ला फेरि
के पो भेट्ला भत्काउनलाई फेरि ?
उस्लाई पनि त रोमाञ्चकारी परिवर्तन गर्नुपर्ला
तिलस्मी चालले चल्नुपर्ला
उस्ले पनि त रहस्यमयी
म्यानुफ्याक्चर्ड लिडर बन्नु पर्ला !
थोरै मात्रै भए पनि भविष्य द्रष्टा बनन यार
भोलिको पुस्तालाई
रहस्य, रोमाञ्च र दुस्साहसको लागि
अलिकति प्लेटफर्म छोडिदेऊ
त्यसैले देश नबनाइहाल न प्लिज
बरु
बनाई …. ई… ई …..रहू
बनाएको जस्तो नाटक देखाई .. ई.. ई..रहू
भ्रमित भर्चुअल रैतीहरूले
पत्याई.. ई.. ई.. रहनेगरी मञ्चन गरी.. ई.. ई .. रहू
देश बनाई.. ई.. ई .. रहू !