काठमाडौं- आज १७ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर याद दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९७०- अर्को ग्रहमा अवतरण भएको पहिलो यान
सन् १९७० मा आजकै दिन तत्कालीन सोभियत संघले ‘भेनेरा ७’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। जुन अर्को ग्रहमा अवतरण भएको पहिलो अन्तरिक्ष यान थियो। कजाखस्तानको बैकोनुर कस्मोड्रोमबाट प्रक्षेपण गरिएको उक्त यान शुक्र ग्रहमा अवतरण भएको थियो।
– सन् १९७८- पहिलो ट्रान्स एटलान्टिक बेलुन उडान
सन् १९७८ मा तीनजनाले पहिलोपटक ट्रान्स एटलान्टिक बेलुन उडान गरेर विश्व रेकर्ड राखेका थिए। उनीहरू थिए- बेन अब्रुजो, म्याक्सी एन्डरसन र ल्यारी न्युम्यान। ‘डबल इगल २’ नाम दिइएको बेलुनमार्फत उनीहरूले प्रेक आइजलबाट पेरिसको बार्ले फिल्डसम्म उडान गरेका थिए, जसका लागि ६ दिन लागेको थियो।
– सन् १९९८- मोनिकासँग सेक्स गरेको बिल क्लिन्टनद्वारा स्वीकार
सन् १९९८ मा आजकै दिन तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले मोनिका लेवेन्स्कीसँग सेक्स गरेको स्वीकारेका थिए। टेप रेकर्ड गरेको बयानमा ह्वाइटहाउसकी इन्टर्न कर्मचारी लेवेन्स्कीसँग सेक्स गरेको स्वीकारेका थिए। सोही दिन उनले राष्ट्रसामु उनीसँग अनुचित सेक्स गरेको स्वीकार्दै देशवासीलाई गुमराहमा राखेकामा माफी मागेका थिए।
– सन् १९९९- टर्की भूकम्पमा गयो १७ हजारको ज्यान
सन् १९९९ मा आजकै दिन टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १७ हजारले ज्यान गुमाएका थिए। ७.४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु इजमित नामक स्थानमा रेकर्ड गरिएको थियो। भूकम्पमा परी ५ लाख मानिस घरबारविहीन भएका थिए।
– सन् २०१५- बैंककमा बम विष्फोट
सन् २०१५ मा आजकै दिन थाई राजधानी बैंककमा बम विष्फोट भएको थियो। इराभान स्राइनमा भएको विष्फोटमा परी १९ जनाको ज्यान गएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।
– सन् २०१७- दुई तारा आपसमा जुधे
सन् २०१७ मा आजको दिन इतिहासमा पहिलोपटक दुईवटा तारा आपसमा जुधेको धर्तिबाट अवलोकन गरिएको थियो। ती दुई न्युट्रोन तारा आपसमा जुधेको दृश्य अमेरिकाको लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल वेभ अब्जरभेटरीबाट अवलोकन गरिएको थियो।
– सन् २०२२- काबुल विष्फोटमा २१ मारिए
सन् २०२२ मा आजकै दिन अफगानी राजधानी काबुलमा भएको विष्फोटमा परी २१ जनाले ज्यान गुमाएका थिए। मस्जिदमा गराइएको आत्मघाति विष्फोटमा अन्य ३३ जना घाइते भएका थिए।
– सन् २०२२- भेटियो डाइनोसरको विनाश गर्ने खाडल
सन् २०२२ मा आजकै दिन पश्चिम अफ्रिकी देश गिनीको समुद्री तटमा डाइनोसरको विनाश गर्ने क्षुद्र ग्रह धर्तिमा ठोक्किएर बनेको खाडल फेला परेको थियो। ८.५ किलोमिटर चौडाइको उक्त खाडललाई ‘नादिर क्रेटर’ नाम दिइएको छ।
– सन् २०२२- चीनका १३८ शहरमा हाई रेड अलर्ट
चीनले सन् २०२२ मा आफ्ना १३८ शहरमा हिटवेभबाट नागरिकलाई बचाउन हाई रेड अलर्ट जारी गर्नुपरेको थियो। त्यो चीनको हालसम्मकै लामो हिटवेभ थियो। र, रेड अलर्ट पनि ६४ दिनसम्म कायम राखिएको थियो।
– सन् २०२५- गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन
सन् २०२५ मा आजकै दिन इजरायल सरकारविरुद्ध इजरायलकै नागरिकहरूले विशाल प्रदर्शन गरेका थिए। गाजामा इजरायलले गराइरहेको नरसंहारविरुद्ध उक्त प्रदर्शन भएको थियो। इजरायलभर २५ लाख मानिस सडकमा उत्रिएका थिए। तेलअभिभमा मात्र ३ लाखभन्दा बढी मानिसले तत्काल युद्धविराम घोषणा गर्न माग गरेका थिए।