मनिष अर्याल
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा शनिबारदेखि शुरु भएको छ। काठमाडौं केलटोलबाट खटमा ल्याइएको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई काठमाडौं दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि तयार रथमा राखेर नगर परिक्रमा गराउने परम्परा छ।
चैत्र शुक्ल अष्टमीमा शुरु हुने रथयात्रा पाँच दिन चल्छ, जुन असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छेन्द्रबहालमा पुगेर समापन हुन्छ। पहिलो दिन असनसम्म रथ तानेर पु¥याइन्छ। दोस्रो दिन हनुमानढोकास्थित कालभैरव, तेस्रो दिन लगन, चौथो दिन लगनमा रथ घुमाउने र पाँचौँ दिन मच्छेन्द्रबहाल पु¥याइन्छ। त्यहाँ मत्स्येन्द्रनाथकी आमाको मन्दिर र रुखलाई परिक्रमा गराएर जात्रा सम्पन्न हुन्छ। यस्तै, लगनटोलमा जीवित देवी कुमारीलाई बोकेर ल्याई जात्रा देखाइन्छ।
मत्स्येन्द्रनाथको जात्रा समापन पनि वर्षा शुरु हुने र मुलुकमा सहकाल आउने जनविश्वास रहिआएको छ।














