कैलाली- सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि असार २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइसकेका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्छ। उनी दुई तिहाइतर्फ उन्मुख देखिन्छन् ।
आज मुख्यमन्त्री शाहलाई विश्वासको मत लिने वा नदिने भन्ने विषयमा दलहरूले दलको बैठक आह्वान गरेका छन् ।
एमाले कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् भने नेकपा एकीकृत समाजवादी तटस्थ बस्ने भएको छ । माओवादीले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । तर, माओवादीले विपक्षमा मतदान गर्ने सम्भावना रहेको छ ।
१र१ पद रहेका राप्रपा र स्वतन्त्रले पनि मुख्यमन्त्री शाहलाई मत दिने पक्षमा छैनन् ।