मनिष अर्याल
काठमाडौं असनमा नेवार समुदायको महत्त्वपूर्ण पर्व पाहाँ चह्रे (पिशाच चतुर्दशी) का अवसरमा शनिबार खट जुधाउने जात्रा सम्पन्न भएको छ। तीनदिनसम्म चल्ने यो पर्वको समापनमा विभिन्न रंगका खट जुधाउने चलन छ।
हरेक वर्ष चैत्र कृष्ण औंशीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्यः (लुकिराखेका महादेव) लाई खोस्रिएर बाहिर निकाली पूजा गरिन्छ। त्यसकै वरिपरि व्रतबन्ध नगरेका किशोर र इही (बेलविवाह) नगरिएका किशोरीहरूलाई खाना खुवाइन्छ।
लुकुमाद्यःको प्रसादका रूपमा त्यसरी खाना खुवाएमा किशोर–किशोरीलाई रोगव्याधिले नछुने जनविश्वास रहिआएको छ।
चाडमा विवाह भइसकेका चेलीबेटी, आफन्त र साथीभाइलाई पाहुनाका रूपमा सत्कार गर्ने चलन पनि छ। ३२ टोलका ज्यापू समुदायले मरजाः (तान्त्रिक विधिपूर्वक पकाइएको खाना) खुवाइन्छ। अन्तिम दिन कंकेश्वरी, भद्रकाली (रातो) र भद्रकाली (नीलो) को खट जुधाउने चलन छ। यस्तै, राति श्वेतकाली देवीको नाच देखाइन्छ।




