काठमाडौं- मिर्गौलाबाट पिसाब थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनांगको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने सम्भावना हुन्छ।
शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुने गर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा समस्या भयो भने पनि संक्रमण हुन सक्छ। लामो समयसम्म पिसाबको संक्रमण भइरहने र उपचार गरिएन भने मिर्गौलामा पिप जम्नेलगायत समस्या हुन्छ र स्वास्थ्यमा थप जटिलता आउँछ।
सबैभन्दा बढी जोखिममा को ?
पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ। कुनै बच्चालाई आमाकै गर्भमा रहँदा शरीरको बनोट बिग्रेर आएको छ भने पनि असर पर्छ। पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ। पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ।
पुरुषभन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ। महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुन्छ। महिलामा नली सानो हुने, पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ।
महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारणमा कुनै एक नलीमा भएको इन्फेन्सन अर्कोमा सजिलै सर्नु पनि हो। महिलालाई एकपटक संक्रमण भएपछि दोहोरिरहन्छ। महिलामा नली सँगसँगै रहेका गन्थ्रीमा संक्रमण बसिरहन्छ। औषधि खाँदा ती गन्थ्रीमा किटाणु सुषुप्त अवस्थामा बस्छन् र विस्तारै औषधिको काम कम हुन थालेपछि ती किटाणु फेरि सक्रिय हुन थाल्छन् र संक्रमण दोहरिरहन्छ।

संक्रमण भएको कसरी थाहा पाउने ?
पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब चुहिने, पिसाब लागेजस्तो हुँदा पनि कम मात्र पिसाब हुने, पिसाब गर्दा रगत जाने, पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने, कोखा दुख्ने, काम ज्वरोसहित उच्च ज्वरो आउनेलगायत समस्या देखिएमा पिसाबको संक्रमण भएको शंका गर्नुपर्छ।
संक्रमणबाट कसरी बच्ने ?
– सरसफाइमा ध्यान दिने
– शौचालय सधैं सफा राख्ने
– महिनावारीको समयमा प्याड समय-समयमा परिवर्तन गरिरहने
– ३-३ महिनामा पिसाबको जाँच गर्ने
– प्रशस्त पानी पिउने
– पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने
(लाइफ इन्टरनेसनल क्लिनिकका युरोलोजिस्ट डा. रौनियारसँग कुराकानीमा आधारित)