नयाँदिल्ली- आजकल वर्षैभरि सडकमा ठेलामा यत्रतत्र मकै बेच्न राखिएको देखिन्छ। वर्षभरि हरियो मकै उपलब्ध भए पनि वर्षायाममा भने बारीबाट सीधै ल्याएको रसिलो मकैको स्वाद बेग्लै हुन्छ।
सामान्यतया मानिसहरू मकै पोलेर र उसिनेर खान रुचाउँछन्। दाना छोडाएर भुटेर बनाइएको च्याउँ मकै झनै स्वादिलो। त्यसका लागि बनाइएको अचारले अझै त्यसको स्वाद बढाउँछ।
मकै खान जति स्वादिष्ट हुन्छ, स्वास्थ्यका लागि त्यति नै लाभदायक हुन्छ। अर्गानिक र प्रशोधन नगरिएको मकैमा धेरै अत्यावश्यक भिटामिन, खनिज र फाइबर प्रशस्त मात्रामा हुन्छ।
‘साइन्स डाइरेक्ट’मा प्रकाशित एक अध्ययनअनुसार प्रशोधन नगरिएको मकैको नियमित सेवनले मुटु रोग, टाइप-२ मधुमेह, मोटोपना, अधिक तौल र पाचन समस्याको जोखिम कम गर्छ।
साथै, ‘जर्नल अफ द एकेडेमी अफ न्यूट्रिसन एन्ड डाइटेटिक्स’मा प्रकाशित एक अध्ययनअनुसार मकैबाट बनेको पपकर्न खाने मानिसहरूले अरूको तुलनामा औसत २२ प्रतिशत बढी फाइबर उपभोग गर्छन्। यसले उनीहरूको पाचन प्रणालीलाई मजबुत बनाउँछ।
अमेरिकाको कृषि विभागका अनुसार मध्यम आकारको मकै लगभग ६.७५ देखि ७.५ इन्च लामो हुन्छ। थायामिन र अन्य खनिजहरूको राम्रो स्रोत हुनुका साथै यो भिटामिन सी, ई र एमा पनि धनी हुन्छ। मकैमा केही मात्रामा फाइबर र पोटासियम पनि हुन्छ।
मकै खानुका ९ लाभ
– शरीरलाई लामो समय ऊर्जा दिन्छ
– रोग प्रतिरोधी क्षमता मजबुत बनाउँछ
– पाचन प्रणालीलाई दुरुस्त बनाउँछ
– आँखाका लागि पनि लाभदायक हुन्छ
– रक्तचापलाई नियन्त्रणमा राख्छ
– शरीरको तौल बढ्न दिँदैन
– मुटुको स्वास्थ्यका लागि लाभदायक हुन्छ
– ग्लुटोन फ्री कार्बका लागि राम्रो विकल्प हो