नौ दशकको इतिहास छ, जनकपुर-जयनगर रेलमार्गको। तर, त्यसको परिचय त्यतिमै सीमित छैन। यसले संसारमा विरलै उदाहरण भेटिने अन्तर्राष्ट्रिय रेलमार्ग र स्टेसनको परिचय पनि बोकेको छ।
भारत विहार राज्यको जयनगरबाट नेपालको जनकपुर हुँदै कुर्थासम्म ब्रोडगेज रेलवे निर्माण भइसकेको छ। र, अहिले यस मार्गमा रेल परीक्षणका रूपमा गुडिरहेको छ।
यो रेलमार्गको भारततर्फको उद्गम विन्दु हो, जयनगर। जयनगर रेल स्टेसनको परिचय यतिमै सीमित छैन। दुई मुलुक जोड्ने एसियाकै एक मात्र रेल स्टेसन पनि हो यो। अनौठो लाग्न सक्छ, दुई मुलुकको सीमामा एसियाभर यस्ता कुनै रेल स्टेसन छैनन्।
दुई देशबीचको रेलवे स्टेसनलाई एउटै फुट ओभर ब्रिज (आकाशे पुल) ले जोडेको छ। करिब साढे चार सय मिटरको दूरीस्थित दुवै देशको रेल स्टेशनबीचमा आकाशे पुल छ। र, एक मिनटमै एक देशबाट अर्कोमा आउजाउ गर्न सकिन्छ।
हालसम्म आकाशे पुलको सुविधा उपलब्ध थिएन। त्यतिन्जेल ‘न्यारो गेज’ रेलमार्ग सञ्चालनमा थियो। रेलको लिकबाटै भारततर्फको रेल स्टेसन पुग्नुपथ्र्यो। अहिले भने ब्रोडगेज मार्गका लागि दुवै स्टेसन जोड्न आकाशे पुल निर्माण भएको छ।
स्थानीय बासिन्दाको भनाइमा रेल स्टेसनको आकाशे पुल नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धको परिचायक बन्ने आशा छ। जनकपुर हुँदै भारतका विभिन्न गन्तव्यमा पुग्न यसअघि पनि हजारौं मानिसका लागि सहज गन्तव्य थियो, जयनगर। र, नियमित सञ्चालनमा रहँदा रेल यातायातको सुलभ माध्यम पनि थियो।
ब्रोडगेज निर्माणका लागि सन् २०१४ देखि जयनगर–जनकपुर रेलमार्ग बन्द थियो। यसलाई बर्दिवाससम्म जोड्ने योजना छ।
जयनगर स्टेसनबाट तत्कालीन इस्ट इन्डिया कम्पनीले सन् १९२८ मा नेपालसम्म रेल सेवा शुरु गरेका थिए। त्यसको एक वर्षअघि रेल स्टेसन निर्माण भएको थियो।
त्यतिबेला अंग्रेज शासकले नेपालसम्म न्यारोगेज रेल सेवा सञ्चालन गर्नुको उद्देश्य थियो, नेपालको जंगलबाट काठ–दाउरा ढुवानी गर्नु। शुरुवाती दिनमा यस मार्गमा मालगाडी (सामान ढुवानी गर्ने डिब्बा) मात्र सञ्चालन हुन्थ्यो। पछि त्यसलाई यात्रीवाहक बनाइयो।
सन् १९४० मा तत्कालीन दरभंगा महाराजले नेपाल सरकारको आग्रहमा जयनगरस्थित नेपाली भू-खण्डमा रहेको रेलवे स्टेसन भाडामा उपलब्ध गराएका थिए। दुई देशबीच रेलसेवा सञ्चालन भइरहेसम्म यो भू-खण्ड नेपालले प्रयोग गर्ने दरभंगा महाराज र नेपाल सरकारबीच सम्झौता छ।
विगतमा न्यारो गेजमा वाष्प इन्जिनको मद्दतले चल्ने रेललाई जनकपुरदेखि जयनगरको २९ किलोमिटरको यात्रा गर्न साढे दुईदेखि तीन घण्टा समय लाग्थ्यो। वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको भनाइमा वाष्प इन्जिनबाट रेल सञ्चालनमा रहँदा त्यसको गतिबारे स्थानीय उखानजस्तै बनेको थियो, ‘जनकपुर–जयनगर रेल, जाऊँ कि नजाऊँ, जाऊँ कि नजाऊँ’।
पछि समाजवादी नेता चन्द्रशेखर भारतको प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाललाई डिजेल इन्जिन उपहारस्वरूप प्रदान गरेका थिए।
तर, आवश्यक मर्मत सम्भार नहुँदा केही वर्षअघि चालकबिनै जयनगरबाट जनकपुरसम्म रेलको इन्जिन आइपुगेको थियो। त्यतिबेला त्यस घटनाले ठूलै चर्चा बटुलेको थियो। ७ अगस्ट २०१२ मा उक्त इन्जिनले २७ किमिको दूरी २५ मिनटमै तय गरेको थियो।
विगतमा जयनगरबाट दरभंगासम्म मात्र रेल सेवा सञ्चालनमा थियो। केही समय अघिदेखि मात्र नयाँदिल्ली, कोलकाता, पञ्जाबको अमृतसर र झारखण्डसम्म पनि रेल सेवा सञ्चालनमा छन्।
जयनगरबाट कोलकातासम्म हावडा एक्स्प्रेस सञ्चालनमा छ। नयाँदिल्लीसम्म गरिबरथ र स्वतन्त्रता सेनानी एक्स्प्रेस सञ्चालन हुन्छन्। झारखण्डसम्म राँची एक्स्प्रेस र पञ्जाबको अमृतसरसम्म शहीद एक्स्प्रेस सञ्चालन हुन्छन्। गरिबरथ हरेक सोमबार र शुक्रबार चल्छ। अरू सबै दैनिक सेवा हुन्। त्यसबाहेक दरभंगा, पटना र समस्तीपुरसम्म लोकल रेल सेवा उपलब्ध छ। छिट्टै नेपालको बर्दिवाससम्म रेल सेवा सञ्चालनको तयारी छ, जयनगरबाट।
हाल निर्माण भएको ६९ किलोमिटरको ब्रोडगेज मार्गमध्ये तीन किमि भारतमा र बाँकी खण्ड नेपालमा पर्छ। यस्तै, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र बिजलपुरादेखि बर्दिवाससम्म १७ किमि रेलमार्ग सञ्चालनमा ल्याउने योजना छ।