• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

काँधमा क्यामेरा, हातमा व्यापार


    Avatar photo
शनिबार, असोज २७, २०८० मा प्रकाशित

विकास रौनियार नेपालका पायोनियर फोटो पत्रकार हुन्। सन् २०१३ देखि उनले सक्रिय फोटो पत्रकारिताबाट विश्राम लिए। तर, फोटोग्राफीबाट विश्राम लिएका छैनन्। पञ्‍चायती व्यवस्थाको समयमा स्कुले जीवनदेखि नै फोटोग्राफीका सौखिन उनले तीन दशकभन्दा बढी फोटो पत्रकारितामा बिताए। २४ कात्तिक ०२८ मा काठमाडौं इन्द्रचोक, मखनटोलमा जन्मेका उनी अहिले फोटोग्राफीका साथमा व्यापार, व्यवसायमा जमेका छन्। प्रस्तुत छ, प्रोमिनेन्ट पर्सन शृंखलाको पहिलो एपिसोडमा उनै रौनियारको जीवन यात्रा।

Advertisement

काठमाडौं- विकास रौनियार नेपाल ल क्याम्पसमा बीएल (कानूनमा स्‍नातक)का विद्यार्थी थिए। त्यतिबेला राजीव गान्धी भारतका प्रधानमन्त्री थिए। र, चीनबाट तत्कालीन शाही नेपाली सेनाका लागि हतियार खरिद गरिएकामा आपत्ति जनाउँदै उनको सरकारले नेपालमाथि नाकाबन्दी थोपर्‍यो। संयोगवस, एक दिन कलेज जाने क्रममा रत्नपार्क पुगेका थिए, विकास। नेपाली सेनाले ट्रकमा राखेर हतियार कतै लैजाँदै गरेको देखे। उनले भटाभट तस्बिर खिचे। तोपजस्तो हतियार थिए ती। चार स्‍न्यापजति खिचेका थिए। कलेज सकेपछि हतार-हतार उनी ल्याबमा पुगे। र, तस्बिर धुलाए।

सेनाका लागि चीनबाट हतियार खरिद गरिएको प्रसंग जोडेर एक लेख काठमाडौंकै ‘स्पार्क’ पत्रिकामा छापिने भयो। सोही लेखमा प्रतीकात्मक तस्बिर भनेर ‘स्पार्क’मा छापियो। प्रतीकात्मक भन्‍नुको कारण थियो, ती हतियार चीनबाटै ल्याइएको हो कि होइन भन्‍ने यकिन थिएन। त्यो तस्बिर पत्रकार विनय गुरुवाचार्यले देखेछन्। उनी त्यतिबेला एसोसिएटेड प्रेस (एपी)का नेपाल संवाददाता थिए। उनले विकाससँग त्यो तस्बिर मागे। उनले सहजै दिए। एपीमा उनले त्यो तस्बिर पठाए। उनले पठाएको तस्बिर अमेरिकाको लसएन्जलस टाइम्समा प्रकाशित भएछ, विकासको बाइलाइनसहित। फोनबाट छापिएको तस्बिरको फ्याक्ससहित १०० डलर पनि आएको जानकारी दिए, गुरुवाचार्यले। र, लिन आउन भने। त्यतिबेला १ डलरको नेपाली २८-२९ रुपैयाँ थियो। उनले पारिश्रमिकका रूपमा झण्डै तीन हजार रुपैयाँ प्राप्त गरे।

त्यतिबेला ३ हजार रुपैयाँ ठूलो रकम थियो। नेपाल ल क्याम्पसमा उनको मासिक शुल्क १७० रुपैयाँ थियो। झण्डै दुई वर्षलाई पुग्‍ने रकम आयो एकैपटक। विदेशी मिडियामा विकासको बाइलाइन छापिएको त्यो पहिलो थियो। त्यसले उनलाई फोटो पत्रकारितामा लाग्‍न प्रेरित गर्‍यो। लसएन्जलस टाइम्समा छापिएको त्यो कटिङ अहिले उनीसँग छैन। तर, तस्बिर छँदैछ।

उनको बाल्यकालको केही समय ठमेलमा बितेको थियो, काठमाडौं गेस्टहाउसनजिक। त्यसैले उनले अमेरिकाबाट आएको १०० डलर ठमेलमा चिनजानकै मनी एक्स्चेन्जमा गएर साटे।

०००

२०५१ सालमा एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री नियुक्त भए। उनी प्रधानमन्त्री बन्‍ने पहिलो कम्युनिस्ट नेता थिए। त्यो दिन सपथ ग्रहणको तस्बिर खिच्‍न चन्द्रशेखर कार्की दरबार गए। त्यतिबेला उषा तितिक्षुले कान्तिपुरमा इन्टर्न गरिरहेकी थिइन्, फोटो पत्रकारितामा। उनी मनमोहनको परिवारसँग नजिक थिइन्, मनमोहनले उनलाई छोरी भन्थे। त्यसैले उषालाई लिएर विकास प्रधानमन्त्री निवास बालुवाटार पुगे। उषालाई देखेपछि मनमोहनकी श्रीमती साधना प्रधानले भित्र नलैजाने कुरा भएन।

सपथ ग्रहण सकेर मनमोहन अधिकारी पौने ७ बजेतिर बालुवाटार प्रवेश गरे। मनमोहनले नै ७ बजेको नेपाल टेलिभिजनको समाचार हेरौं भने। सोफामा बसेर उनी समाचार हेर्न थाले। मुख्य समाचार थियो, मनमोहनलाई राजा वीरेन्द्रले सपथ ग्रहण गराएको। टीभीको स्क्रिनमा राजा वीरेन्द्र र मनमोहन अधिकारी, सोफामा मनमोहन आफ्नै समाचार हेर्दै गरेको। त्यो स्‍न्याप भटाभट खिचे विकासले।

बालुवाटारबाट निस्केर फोटो धुलाए। र, सम्पादकलाई जिम्मा लगाएर घर फर्किए। सम्पादकको टेबलमा चन्द्रशेखरले खिचेको सपथ ग्रहण र विकासले खिचेको बालुवाटारका तस्बिर थिए। तर, भोलिपल्ट विकासको तस्बिर छापिँदै छापिएन।

त्यतिबेला जर्मनीकी पत्रकार लुडमिला टुटिङ काठमाडौंमा थिइन्। उनी होटल बज्रमा बसेकी थिइन्। भोलिपल्ट उनले विकासलाई बोलाइन्। उनले मनमोहन अधिकारीको अन्तर्वार्ताका लागि समय लिएकी रहिछन्। र, आफ्नो साथमा गइदिन आग्रह गरिन्, विकासलाई। मोटरसाइकलमा उनलाई राखेर विकास बालुवाटार पुगे। त्यहाँ अन्तर्वार्ता भयो, विकासले तस्बिर खिचिदिए। अघिल्लो दिन आफूले बालुवाटारमै खिचेका तर त्यति नमिलेका दुई कपी फोटो विकाससँगै थिए। उनले ती फोटो लुडमिलालाई देखाए। चिया पिउने बेलामा मनमोहनलाई पनि ती फोटो देखाए। ‘गज्‍जब फोटो रहेछन्, कान्तिपुरले किन नछापेको’ भने मनमोहनले। उनले अनभिज्ञता प्रकट गरे। त्यही क्रममा लुडमिलाले ती तस्बिर आफूलाई उपलब्ध गराउन आग्रह गरिन्। विकासले दिए। जर्मनीको पत्रिकामा अन्तर्वार्ताको होइन, टेलिभिजनमा आफ्नै समाचार हेरिरहेका मनमोहनको तस्बिर छापियो। त्यसवापत उनले डेढ सय डलर पाए। जर्मनीको साप्ताहिक पत्रिकामा मनमोहनको आधा पेज अन्तर्वार्ता छापिएको थियो।

त्यो कटिङ विकासले कान्तिपुरमा आफ्ना सम्पादकलाई देखाए। अनि आठौं, नवौं दिनतिर पृष्‍ठ ३ मा कान्तिपुरले त्यो तस्बिर छाप्यो। न्युजरुममा कायम परम्परागत सोच त्यसको उपज थियो।

०००

दरबारमा कुनै कार्यक्रम हुँदा सबै सञ्‍चार माध्यमका फोटो पत्रकारलाई बोलाइन्थ्यो। दरबारमा प्रोटोकल थियो, ब्ल्याक एन्ड ह्वाइट दौरा सुरुवाल लगाएर जानुपर्ने। दरबारमा कार्यक्रम छ भनेर पहिले नै सूचना हुँदा अफिसमै दौरा सुरुवाल लगाएर जाने चलन थियो। अमेरिकी राष्‍ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी नेपाल भ्रमणमा आएकी थिइन्। अपर्झट दरबारबाट फोन आयो, दौरा सुरुवाल लगाएर आउनु। आधा घण्टा मात्र समय थियो। दौरा सुरुवाल अफिसमा थिएन। घर पुगेर लगाएर आउन सकिने समय थिएन। त्यसैले उनी टिसर्ट र जिन्स पाइन्टमै दरबारको गेटमा पुगे। दरबारका कर्मचारीलाई पर्‍यो अप्ठ्यारो। उनले दरबारका कर्मचारीलाई भने, ‘प्रवेश दिनुभयो भने मैले फोटो खिच्छु, कान्तिपुरमा छापिन्छ। प्रवेश दिनुभएन भने फर्किन्छु, कान्तिपुरमा फोटो आउँदैन।’ त्यतिबेला दरबारका सचिव थिए, दानदास श्रेष्‍ठ। उनी आफैंले फोन गरेर बोलाएका थिए, त्यसैले उनी पनि अप्ठेरोमा परे। र, उनले नै जुक्ति लगाए, विकासलाई विदेशी फोटो पत्रकारहरूसँग मिक्स गरिदिने। दौरा सुरुवाल लगाउनेहरूलाई एकातिर राखे, विकासलाई विदेशी फोटो पत्रकारहरूसँग राखिदिए। र, उनले त्यो इभेन्टको तस्बिर खिच्‍न पाए।

नेपाल भ्रमणमा आएकी हिलारी क्लिन्टनलाई नारायणहिटी दरबारमा स्वागत गर्दै राजा वीरेन्द्र र रानी ऐश्वर्य

०००

कृष्‍णप्रसाद भट्टराईले ०५० सालको उपचुनावमा गिरिजाप्रसाद कोइरालाले अन्तर्घात गरेका कारण चुनाव हारे। चुनावी परिणाम सार्वजनिक भएलगत्तै किसुनजी समर्थक नेवि संघका विद्यार्थीहरू ‘गिरिजा चोर, देश छोड्’ नारा लगाउँदै बालुवाटारतिर लागेको विकासले थाहा पाए। उनी हतारिएर बालुवाटार पुगे। र, भटाभट तस्बिर खिचे। साथमा चन्द्रशेखर कार्की र सुमन प्रधान पनि बालुवाटार पुगेका थिए। साँझ भइसकेको थियो, तस्बिर खिच्दा क्यामेराको फ्ल्यास चल्यो। विकासलाई विद्यार्थीले घेरिहाले। र, तस्बिर किन खिचेको भन्दै हातपात नै गरे। क्यामेरा तोडिदिन्छौं भन्‍न थाले। विकासलाई चिन्‍ने विद्यार्थीले आक्रोसित साथीहरूलाई रोके। विद्यार्थीहरूबीच नै धकेलाधकेल भयो। दुर्भाग्य, विकासको क्यामेराको लेन्स पर्खालमा ठोक्किएर फुट्यो। विद्यार्थीले नै जोगाएर उनीहरूलाई त्यहाँबाट बाहिर निकाले।

रौनियार परिवारको व्यापारिक यात्रा

फोटो पत्रकार रौनियारका हजुरबुवाका बुवा राणा शासनकालमै व्यापार, व्यवसायमा संलग्‍न थिए। हजुरबुवाको बुवाको नाम विष्‍णुचन्द प्रसाद रौनियार थियो। त्यतिबेला राणाहरूले जे सामान अर्डर गर्थे, उनीहरूले उपलब्ध गराइदिन्थे। रौनियारका हजुरबुवाहरूले त्यतिबेलै भारत कोलकाताको बडाबजारमा गद्दी खोलेका थिए। र, कपडाको व्यापार गर्थे। व्यापार, व्यवसाय बढाउँदै लैजाने क्रममा पूर्वी उत्तरप्रदेशको बलियानजिक छाता भन्‍ने ठाउँबाट उनीहरू कोलकाता पुगेका थिए। त्यही क्षेत्रबाट पछि भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय चन्द्रशेखरले चुनाव लड्थे।

व्यापार व्यवसाय विस्तार गर्दै जाँदा हजुरबुवाका बुवा नेपाल आइपुगे। काठमाडौंमा पनि कपडाकै व्यापार थाले। त्यही क्रममा विसं १९९० को भूकम्पभन्दा अगाडि वटु र मखन टोलमा राणाहरूले नेपालमै बसेर व्यापार गर भनेर जग्गा उपलब्ध गराए। जग्गा उपलब्ध भएपछि उनीहरूले काठमाडौंमा पनि गद्दी खोले। र, त्यसमा भारत र तेस्रो मुलुकबाट कपडा ल्याएर बिक्री गरे। भारतबाट खासगरी सुतीका कपडा मगाउँथे।

व्यापारको सिलसिलामा भारतको कोलकाता पुगेका फोटो पत्रकार विकास रौनियार त्यहाँको प्रख्यात पार्क स्ट्रिटमा शुक्रबार। तस्बिर : दुर्लभ रोय चौधरी

काठमाडौंमा रौनियार परिवारको पहिलो संयुक्त घर वटु टोलमा थियो, जुन ९० सालको भूकम्पमा भत्कियो। त्यसपछि अंशबण्डा हुँदा हजुरबुवाका काका वेणिमाधवले वटु टोलमा घर बनाए। हजुरबुवाको भागमा परेको जमिनमा विसं २००० मा रौनियार निवास निर्माण भयो। त्यहीं काठमाडौं टाउन (केटी) र कन्टिनेन्टल (कोन्टी) गरी दुईवटा होटल सञ्‍चालन गर्न थाले। दुवै होटल सँगसँगै थिए।

त्यतिबेला भारतबाट औषधि बिक्री गर्न आउने मेडिकल रिप्रिजेन्टेटिभ (एमआर)माझ बीच त्यो इलाका लोकप्रिय थियो। अनि, काठमाडौं आउने विदेशी पर्यटकमाझ पनि ती होटल रोजाइका थिए। दुवै होटल करिब ०३८ सालसम्म चले। रौनियारका माइलो हजुरबुवाले होटल केटी चलाउँथे। सोही क्रममा माइलो हजुरबुवाका छोरा अशोक रौनियारले जर्मनी गएर होटल म्यानेजमेन्ट पढेका थिए। त्यो विकास जन्मिनुअघिकै कुरा थियो। विकास सन् १९६८ मा जन्मेका हुन्।

काठमाडौंको मुटुमै सञ्‍चालित दुवै होटल आफैंमा ऐतिहासिक थिए। त्यसमाथि विकासका हजुरबुवा नेपाली कांग्रेससँग निकट थिए। ०२६ सालभन्दा अगाडि कांग्रेस नेता कृष्‍णप्रसाद भट्टराई (किसुनजी) हरेक साँझ सोही होटलमा पुगेका हुन्थे। त्यहीं प्रतिबन्धित नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूसँग भेटघाट गर्थे, किसुनजीले। न्युरोड पुग्‍ने, सन्देश गृहमा अखबार किन्‍ने, पान किन्‍ने र होटल कोन्टीमा पुगेर नेता-कार्यकर्ताहरूसँग चिया पिउँदै भलाकुसारी गर्ने उनको दिनचर्या थियो।

किसुनजी त्यस होटलमा आउने गर्नाले रौनियार परिवारले दुःख पनि पायो। विकासका काका कमल रौनियार, जसले जर्मनीमा इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएका थिए, कांग्रेससँग निकट भएको भन्दै सन् १९७२ मा पञ्‍चहरूले त्रिभुवन विमानस्थलबाट उड्नै दिएनन्। उनलाई घरै फर्काइयो। र, उनले एक वर्षपछि मात्र जर्मनी जान पाए। उनी त्रिचन्द्र कलेजका गोल्डमेडलिस्ट थिए।

पञ्‍चहरूले रौनियार परिवारलाई दुःख दिने शृंखला त्यतिमै सीमित थिएन। उनीहरूले नेपाल-भारत सीमाको रक्सौलमा धर्मकाँटा पनि चलाउँथे। त्यसलाई पञ्‍चहरूले राष्‍ट्रियकरण गरिदिए। वीरगञ्‍जको श्रीपुरमा उनीहरूको मल कारखाना थियो। त्यो कारखाना पञ्‍चहरूले बन्द गराइदिए। बालाजु औद्योगिक क्षेत्रमा साबुन फ्याक्ट्री खोलेका थिए। त्यो पनि राष्‍ट्रियकरण गरिदिए। कांग्रेस निकटस्थ भएको र पार्टी चलाउन चन्दा दिने गरेको आरोप पञ्‍चहरूले रौनियार परिवारमाथि लगाउँथे। खासगरी, पञ्‍चायती व्यवस्थाका हर्ताकर्ता सूर्यबहादुर थापाको निशानामा परेको थियो, यो परिवार।

पछि विकास बुवाले भोटाहिटीमा पसल खोले, सुलभ स्टोर। त्यतिबेला नेसनल ट्रेडिङ खुलेकै थिएन। काठमाडौंमा त्यसको काम सुलभ स्टोरले नै गर्थ्यो। चीन र तेस्रो मुलुकबाट आउने सामानको व्यापार गर्थ्यो, सुलभ स्टोरले। नेसनल ट्रेडिङ स्थापनाअघि ‘डिप्लोमेटिक सप्लायर’ थियो, सुलभ स्टोर। काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगहरूले अर्डर गरेका सामान मगाउने र सम्बन्धित नियोगमा पुर्‍याइदिने काम गर्थ्यो, सुलभ स्टोरले। विदेशका महँगा मदिरा काठमाडौंका विदेशी नियोगहरूमा सुलभ स्टोरले नै उपलब्ध गराउँथ्यो।

नेसनल ट्रेडिङ स्थापनापछि पनि त्यहाँबाट होलसेलमा सामान ल्याएर सुलभ स्टोरले बिक्री गर्थ्यो। पछि नेसनल ट्रेडिङले नै विदेशी मदिरा ल्याएर कूटनीतिक नियोगहरूलाई उपलब्ध गराउन थालेपछि सुलभ स्टोरले त्यो काम छाड्यो।

२०३८ सालतिर होटलहरू बन्द भएपछि विकासका एकजना काकाले दाना उद्योग पनि खोले। त्यो बालाजुस्थित औद्योगिक क्षेत्रमा थियो। र, कुखुरका दाना उत्पादन गर्थ्यो। शुरुमा राम्रै थियो, पछि आर्थिक अभावका कारण त्यो पनि बन्द भयो। त्यसपछि कुलेखानीमा बाँध र जलविद्युत आयोजना निर्माण हुने भयो। यो ०३३-०३४ सालतिरको कुरा हो। रौनियार परिवार त्यसमा सप्लायर बन्यो। जापानको हाजामी कम्पनीमार्फत त्यसका लागि आवश्यक सामान मगाउन थाल्यो। कोलकाता बस्‍ने हजुरबुवाको साथीले ट्रान्सपोर्टको काम गर्थे। उनीसँगको साझेदारीमा रौनियार परिवारले कुलेखानी आयोजनाका लागि सामान सप्लाइ गरे। जापानबाट कोलकातासम्म पानीजहाजमा सामान आउँथे, त्यहाँबाट कुलेखानीसम्म पुर्‍याइन्थ्यो। सिमेन्ट, रड र विभिन्‍न उपकरण जापानबाटै ल्याइएको हो, कुलेखानीका लागि।

त्यसपछि इन्टरस्टेट मल्टी मोडल ट्रान्सपोर्ट खोल्यो, रौनियार परिवारले। मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा पनि सप्लायर थियो, यो परिवार। कालीगण्डकी जलविद्युत आयोजनामा पनि यो परिवार नै सप्लायर थियो। पञ्‍चायत कालमै अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको प्रक्रिया शुरु भएको थियो। पछि ०५१ सालमा तत्कालीन सत्तारुढ एमालेले यो परियोजना रद्द गराइदियो। रौनियार परिवार पञ्‍चायत कालमै यो परियोजनामा आबद्ध थियो। अरुण तेस्रोको सर्वेमा रौनियार परिवार संलग्‍न थियो। इटालियन सर्भेयर कम्पनी ‘कोजी फोर’ले रौनियार परिवारको सहयोगमा यो आयोजनाको सर्वे गरेको थियो। विकास त्यतिबेलै फोटो पत्रकारितामा जमिसकेका थिए। र, उनका काकाले त्यतिबेलै संखुवासभाको नुम लगेर परियोजनास्थलको फोटो खिच्‍न लगाएका थिए। त्यतिबेला उनी कान्तिपुर पब्लिकेसन्समा आबद्ध भइसकेका थिए।

अरुण तेस्रोमा रौनियार परिवारको ठूलै लगानी भइसकेको थियो। किनकि, आयोजना निर्माणस्थल पुग्‍न पनि हेलिकोप्टर चार्टर नै गर्नुपर्थ्यो। सर्वेका क्रममा इटालियन कम्पनी र रौनियार परिवारको संयुक्त रूपमा खर्च भएको थियो।

त्यति मात्र होइन, सुनसरीको चतराबाट नदीको किनारै किनार अरुण तेस्रो निर्माणस्थलसम्म पैदल यात्रा पनि गरेका थिए, उनीहरूले। कारण थियो, सप्तकोशी र अरुण नदी हुँदै निर्माणस्थलसम्म सामान ढुवानी गर्न सकिने सम्भाव्यता अध्ययन। नदीमा रहेका ढुंगा फुटाएर मोटरबोट या फेरीमार्फत सामान लैजान सकिन्छ कि भनेर उक्त अध्ययन गरिएको थियो। किनकि, आयोजना निर्माण स्थलसम्म सामान ढुवानी गर्न धनकुटाको हिलेभन्दा माथि सडक खनिएकै थिएन। हेलिकोप्टरबाट ढुवानी महँगो पर्थ्यो। नदीबाट ढुवानी सस्तो पनि पर्ने। नदीमार्फत ढुवानीमा रौनियार परिवारले यसअघि नै काम पनि गरेको थियो। विकासका एकजना काकाले कोलकाताबाट पटना नजिकसम्म डुंगामा गंगा नदीको उत्तरी किनारसम्म कपडा ढुवानी गरी नेपाल भित्र्याउँथे कुनै समयमा। महेन्द्रु घाट र पहलेजु घाटमा ती सामान उतारेर ट्रकमार्फत नेपाल ल्याइन्थ्यो।

संयोगवस, केही दिनअघि विकासले मदन पुरस्कार पुस्तकालयमा संग्रहित त्यतिबेलाको एउटा विज्ञापन फेला पारे। इन्टरस्टेट ट्रान्सपोर्टले नदीबाट पनि सामान ढुवानी गर्ने पोस्टर थियो त्यो। पुस्तकालय पुगेका एकजना अध्येताले त्यो पोस्टर भेटेर तस्बिर खिची पठाउँदा विकास नोस्टाल्जिक बन्‍न पुगेका थिए।

अहिले विकासले बाबु-बाजेको त्यही पुरानो विरासत थामिरहेका छन्, इन्टरस्टेट ट्रान्सपोर्टको। यो कम्पनी ०३३ सालतिर स्थापना भएको हो। खासगरी, कुलेखानी परियोजनाको सेरोफेरोमा यो कम्पनी रौनियार परिवारले खडा गरेको थियो।

अमेरिकाको पढाइ छाडेर फोटो पत्रकारिता

विकासले कक्षा-६ सम्म कीर्तिपुरस्थित लेबोरेटोरी स्कुलमा पढे। त्यसपछि जावलाखेलस्थित सेन्टजेभियर्स स्कुलबाट एसएलसी उत्तीर्ण गरे, जहाँ उनी कक्षा-७ मा भर्ना भएका थिए। कीर्तिपुरसम्म उनी स्कुलकै बसमा जान्थे। जावलाखेल पढ्न थालेपछि केही समय सेन्टमेरिज स्कुलको बसमा गए। कक्षा-८ मा पुगेपछि भने साइकल किनेर त्यसैमा आउजाउ गर्न थाले। किनकि, त्यतिबेला अहिलेसम्म अस्तव्यस्त ट्राफिक कहाँ ! ‘सडक खुलै हुन्थ्यो, साइकलमा आउजाउ गर्न कुनै व्यवधान झेल्नु पर्दैनथ्यो,’ विकास भन्छन्। त्यतिबेला कालीमाटीनजिक सरेको थियो, विकासको परिवार। किनकि, उनका बुवाले त्यहाँ जमिन खरिद गरेका थिए। त्यहाँसम्म सेन्टमेरिजको बस चल्थ्यो। र, विकाससहितका ४ जना विद्यार्थीलाई सोही बसले पुल्चोकसम्म छाडिदिन्थ्यो। त्यहाँबाट पैदल जावलाखेल।

कक्षा-८ देखि शुरु भएको उनको साइकल यात्रा पछि नेपाल ल क्याम्पसमा स्‍नातक गरुन्जेल कायम रह्यो। त्यतिन्जेल उनले साइकलमै काठमाडौंका सडक नापे। उनले अमेरिकाको युनिभर्सिटी क्यालिफोर्निया लसएन्जलस (यूसीएलए) मा स्‍नातकोत्तर अध्ययनका लागि आवेदन दिए। र, छात्रवृत्तिमा छनोट पनि भए। तर, त्यत्ति नै बेला कान्तिपुर पब्लिकेसन्स खुल्यो। र, सोही पब्लिकेसन्समा आबद्ध हुने उद्देश्यले अमेरिकाको पढाइ त्यागिदिए। ‘अमेरिका जान एल-स्याट उत्तीर्ण हुनु र कान्तिपुर पब्लिकेसन्समा जागिर पाउनु एकै समयमा भयो,’ विकास भन्छन्, ‘मास्टर्स पछि गरौंला, अहिलेलाई जागिर खाऊँ भन्‍ने सोच भयो। र, जागिरतिर लागें।’

उनलाई पढ्न अमेरिका नगएकामा अहिले विस्मात लाग्दैन। किनकि, आईएल सक्दाबित्तिकै अभिवक्ताको लाइसेन्स लिइसकेका थिए। बीएल गरेपछि अधिवक्ताको लाइसेन्स पनि लिएका थिए। र, फोटो पत्रकारिताले उनलाई प्रतिष्‍ठा दिलायो।

स्कुलमै फोटोग्राफी क्लब

फोटो पत्रकारितामा कसरी आकर्षित भए उनी ? त्यसको पनि रोचक कथा छ। स्कुलमै उनीहरूले फोटोग्राफी क्लब खोलेका थिए। फोटो खिच्‍न र प्रिन्ट गर्न त्यतिबेलै सिकिसकेका थिए। त्यतिबेलाका साथीहरू उनीबाहेक कसैले पत्रकारिता गरेनन् तर अहिले पनि फोटोग्राफीका सौखिन छन्, कतिपय। आलोक तुलाधर, मनोज मानन्धरहरू उनका सहपाठी थिए। कोही अमेरिका पुगेका छन्, त्यहाँ उनीहरूले फोटोग्राफीलाई सोख बनाएका छन्। व्यावसायिक रूपमा फोटोग्राफीलाई विकासले मात्र अँगाले। एसएलसी सकेपछि गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) स्थापना भयो। ठमेलमा छ अहिले त्यो संस्थाको कार्यालय। जीएएले बास्केट बल, हाँजिरी जवाफ प्रतियोगिताहरू गर्थ्यो। उनी जीएएमा सक्रिय थिए। विभिन्‍न प्रतियोगिता गर्ने क्रममा उनले फोटो खिच्थे। र, ती फोटोसहित म्यागेजिन निकाल्न थाले। ‘गोदावरियन’ त्यो म्यागेजिनको नाम थियो।

त्यही बेला जेभेरियन (सेन्ट जेभियर्सका विद्यार्थीहरू)ले मिलेर मासिक पत्रिका निकाल्थे, ‘स्पार्क’। यो ०४३-४४ सालको कुरा हो। विकासले कानून पढिरहेको भएर उनलाई त्यो पत्रिकाको कानूनी सल्लाहकार बनाइदिए, साथीहरूले। पत्रिका दर्तालगायत कानूनी पाटो उनले नै हेर्थे। क्यामेरा पनि विकाससँगै थियो। र, पत्रिकाका लागि तस्बिरको अभाव हुने कुरै भएन।

काकाले दिए क्यामेरा

त्यो उमेरमै कसरी क्यामेरा आयो उनको हातमा ? जर्मनीमा पढिरहेका काकाले दशैंमा घर आउँदा क्यामेरा लिएर आएका थिए। ‘मिनोल्टा एसआरटी १०१’ क्यामेरा थियो त्यो। त्यो बेला खुबै लोकप्रिय प्रोफेसनल क्यामेरा थियो त्यो। विकासले आफूलाई क्यामेरा छाडेर जान आग्रह गरे। काकाले उनको आग्रह सहजै स्वीकारे। र, छाडेर गए। त्यो क्यामेराले काठमाडौंका जात्रा, पर्व र उत्सवका फोटोहरू खिच्थे, विकासले। त्यतिबेला उनका लागि फोटोग्राफी सोख मात्र थियो। पछि त्यही क्यामेराले उनलाई व्यावसायिक फोटो पत्रकार बनायो। त्यही क्यामेराबाट ‘स्पार्क’ र ‘गोदावरियन’का लागि तस्बिर खिच्थे।

त्यसपछि वसन्त चौधरीले ‘इन्डिपेन्डेन्ट’ पत्रिका प्रकाशन गर्न थाले। त्यसमा मनोरञ्‍जन जोशी सम्पादक थिए। जनार्दन शर्मा पनि त्यसमा आबद्ध थिए। उनीहरूले विकाससँगै तस्बिरहरू माग्थे। प्रतितस्बिर शुरुमा ६० र पछि १०० रुपैयाँ दिन्थे।

हिमालको प्रतिष्‍ठा

त्यसपछि कनकमणि दीक्षितले ‘हिमाल’ त्रैमासिक निकाल्न थाले। दीक्षित संयुक्त राष्‍ट्र संघमा काम गर्थे, त्यतिबेला। कुन्दा दीक्षित कोलम्बोमा थिए। उनीहरूकी बहिनी रुपा जोशीलाई विकास फोटोग्राफीमा अभ्यस्त भइसकेको जानकारी थियो। उनले नै चुरोट तानिरहेको तस्बिर खिचिदिन आग्रह गरिन्। चुरोट र स्वास्थ्यसम्बन्धी आलेखका लागि त्यस्तो तस्बिर आवश्यक परेछ। त्यो आलेख रुपाले नै लेखेकी थिइन् र त्यसमा तस्बिर विकासको थियो। हिमालको पहिलो अंकमै विकासको बाइलाइन छापिएको थियो। त्यसपछि ‘हिमाल’मा पनि नियमित कन्ट्रिब्युटर बने उनी। स्टिम म्याकरी र स्टिम बुब्रुस्कीजस्ता प्रख्यात अमेरिकी पत्रकारले तस्बिर खिच्थे, ‘हिमाल’मा। उनीहरूसँगै विकासको पनि तस्बिर छापिनु प्रतिष्‍ठाकै विषय थियो।

हालकी प्रख्यात लेखक-उपन्यासकार मञ्‍जुश्री थापा पनि ‘हिमाल’मा आबद्ध भइन्। उनले अमेरिकामा फोटोग्राफी नै पढेर आएकी थिइन्। उनले होटलमा काम गर्ने बाल श्रमिकको फोटो खिच्‍न जान आफूलाई अलि असहज हुन सक्ने भएकाले विकासलाई पनि सँगै जान आग्रह गरिन्। उनीहरूले ‘हिमाल’का लागि जोइन्ट बाइलाइनमा तस्बिरहरू छापे। संयोग कस्तो भने मञ्‍जुश्रीको सन् २००१ मा प्रकाशित पहिलो पुस्तक ‘मुस्ताङ भोट इन फ्र्याग्मेन्ट्स’, जुन स्वर्गीय रामहरि जोशीले लोकार्पण गरेका थिए, को तस्बिर विकासले नै खिचेका थिए। लेखनमा लागेपछि उनले फोटोग्राफी छाडिन्।

०४६-४७ सालको जनआन्दोलनको पहिलो तस्बिर

त्यही क्रममा ०४६ सालको आन्दोलनका तस्बिरहरू पनि विकासले खिच्‍न भ्याए। उनले ६ फागुन ०४६ को तस्बिर पनि उनले खिच्‍ने अवसर पाए। ७ फागुनमा दशरथ रंगशालामा प्रजातन्त्र दिवस मनाउने समारोहमा राजा वीरेन्द्र उपस्थित हुन्थे। त्यो समारोहमा सहभागी हुन दौरा सुरुवाल अनिवार्य लगाउनुपर्ने उर्दी जारी गरिएको थियो। प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलनको तयारीमा रहेका दलहरूले दौरा सुरुवालमा सजिएर जानेहरूमाथि आक्रमण गर्ने योजना बनाएका थिए। सोही क्रममा ६ फागुनमा न्युरोडमा प्रजातन्त्र पक्षधर दलका कार्यकर्ता र पञ्‍चायती व्यवस्थाका समर्थकहरूबीच मुठभेड भएको थियो। त्यो मुठभेडको तस्बिर विकासले खिचेका थिए।

त्यहीं उनले भेटेका हुन्, फोटो पत्रकारहरू गोपाल चित्रकार, मीन बज्राचार्यसँग। विकास र मीनले एकअर्कालाई पर्खालमा चढ्न मद्दत गरेर ती तस्बिर खिचेका थिए। त्यतिबेला चन्द्रशेखर कार्की पनि जनमञ्‍चका लागि फोटो पत्रकारिता गर्थे। मीन बज्राचार्य भने गणेशमान सिंहका लागि तस्बिरहरू खिच्थे। गोपाल चित्रकार गोरखापत्रका फोटो पत्रकार थिए। उनले ७ फागुनको तस्बिर पनि खिच्‍न पाए।

आन्दोलन छाडेर कोशीटप्पु

जनआन्दोलनकै क्रममा अमेरिकाको सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीका केही विद्यार्थी वाइल्ड लाइफ अध्ययन गर्न नेपाल आए। उनीहरू कोशीटप्पु वन्यजन्तु आरक्ष जानेवाला थिए। उनीहरूको दोभासेको काम विकासले पाए। दैनिक १० डलर दिइने भयो। एक महिनाको काम थियो त्यो। ३०० डलरको काम पाएका थिए, विकासले। सेन्ट जेभियर्सको उत्पादन भएकाले उनी अंग्रेजीमा पोख्त हुने नै भए। फादर वाट्रिन, फादर डन्ली उनका गुरु थिए।

र, जनआन्दोलनका तस्बिर खिच्‍न छाडेर उनी कोशीटप्पुतिर लागे। उनीहरू बसमा चितवन हुँदै कोशीटप्पु पुगे। त्यहाँ उनले अमेरिकी विद्याथीको टोलीसँग करिब २१ दिन बिताए। आन्दोलन चर्किंदै गएपछि उनीहरूका ग्रुप लिडरले नेपाल बसिरहनु ठीक छैन भनेर स्वदेश फर्किने निर्णय गरे। प्रोग्राम छोट्याएर उनीहरू काठमाडौं फर्किए। पैसा भने उनले महिनाभरकै पाए।

काठमाडौंमा आन्दोलन उत्कर्षमा पुगिसकेको थियो। उनी १८ चैततिर काठमाडौं फर्किए। अनि निर्णायक मोडमा पुग्दै गरेको आन्दोलनका तस्बिर खिच्‍न भ्याए। २४ चैतमा ठूलो प्रदर्शन भयो। दरबारमार्गमा राजा महेन्द्रको शालिक तोडफोड गर्ने क्रममा प्रहरीले गोली चलायो। कर्फ्यू लागेकाले गौशालास्थित काकाको घरमा रहेका विकास त्यहीं अड्किए। २६ चैतको विजय जुलुसको तस्बिर भने खिच्‍न पाए। किनकि, राजा वीरेन्द्रले पञ्‍चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःस्थापना भएको घोषणा गरिसकेका थिए।

काठमाडौंको आन्दोलन, मुम्बईमा प्रकाशन

संयोगवश, त्यही राति रात्रि बसमा उनलाई वीरगञ्‍ज हुँदै मुम्बईतिर लाग्‍नुपर्ने भयो। उनकी फुपूको विवाह भारतीय नेभीका सिनियर कमान्डरसँग भएको थियो। फुपूको परिवारलाई पारिवारिक कामको सिलसिलामा गाउँतिर जानुपर्ने भएछ। र, विकासलाई मुम्बईको घरमा रहेका फुपूका छोरी (बहिनी)हरूलाई केही दिन रेखदेख गरिदिनुपर्ने दायित्व आयो। उनी वीरगञ्‍ज हुँदै मुम्बई पुगे। र, त्यहाँको कोलावास्थित अपार्टमेन्टमा बहिनीहरूको रेखदेख गर्दै केही दिन बसे। रक्सौलबाट रेलमा कोलकाता र त्यहाँबाट विमानमा मुम्बई पुगे। त्यो उनको पहिलो मुम्बई यात्रा थियो।

क्यामेरा साथमा नहुने कुरा भएन। र, काठमाडौंमा जनआन्दोलनमा खिचिएका तस्बिरहरू रहेको रिल पनि साथमै थियो। मुम्बई पुगेर त्यो रिल धुलाए। ती तस्बिरहरू बोकेर उनी टाइम्स अफ इन्डियाको मुम्बई संस्करणको अफिस खोज्दै हिँडे। त्यहाँ पुगेर नेपालको आन्दोलनका ताजा तस्बिरहरू दिए। टाइम्स अफ इन्डियामा विजय जुलुसको तस्बिर छापियो। त्यसवापत उनले ५०० भारतीय रुपैयाँ पाए। त्यही पैसाले उनले मुम्बई घुम्न पाए। विजय जुलुसको तस्बिरले उनलाई पकेट मनी दिलायो। लोकल बसको भाडा १ रुपैयाँ मात्र थियो, त्यतिबेलाको मुम्बईमा।

मुम्बइको नयाँ सी लिंक ब्रिज

सहजै स्वीकारेनन् कान्तिपुरको अफर

स्वदेश फर्केर पनि उनले ‘हिमाल’ र ‘इन्डिपेन्डेन्ट’मा काम जारी राखे। पछि कान्तिपुर दैनिक प्रकाशन हुने भयो। त्यसका सम्पादक योगेश उपाध्यायले बोलाएर कान्तिपुरमा काम गर्न अफर गरे। तर, उनले तत्कालै ‘ओके’ भनेनन्। किनकि, त्यतिबेला कान्तिपुर भारतीय गुप्तचर एजेन्सी ‘रिसर्च एन्ड एनालाइसिस विङ (र)’ले चलाएको पत्रिका भनेर प्रचारबाजी भएको थियो। ‘र’ले चलाएको पत्रिकामा कहाँ जाने भनेर उनको ‘ब्रेन वास’ भएको थियो। सम्पादकको आग्रह नमानेपछि कान्तिपुरका प्रकाशक श्याम गोयन्काले विकासलाई चिया पिउन बोलाए। उनले पत्रिका प्रकाशनका लागि आवश्यक स्रोत व्यावसायिक रहेको र कुनै गुप्तचर एजेन्सीले नचलाएको प्रष्‍ट पारेपछि मात्र उनी कान्तिपुरमा काम गर्न सहमत भए।

त्यसपछि त के थियो र ! कान्तिपुरको पहिलो अंकमा विकासले नै खिचेको जनआन्दोलनको तस्बिर फ्रन्ट पेजमा प्रकाशन भयो। विकासको करिअरले त्यही खुड्किलोबाट उचाइ पायो। पछि कान्तिपुरको २५औं वर्षगाँठमा उनको त्यो तस्बिरले राम्रो चर्चा कमाएको थियो। ७ फागुनमा निस्केको जनआन्दोलनको तस्बिर थियो त्यो।

६ फागुनमा उनले मासिक ५ हजार ५०० रुपैयाँ तलब पाउने गरी कान्तिपुर पब्लिकेसन्समा नियुक्ति पाएका थिए। त्यतिबेला त्यो धेरै ठूलो रकम थियो।

पत्रकारहरू तीर्थ कोइराला, कसमस विश्‍वकर्मा, सोहन श्रेष्‍ठ, जीवेन्द्र सिंखडा, तारानाथ दाहाल, फोटो पत्रकार चन्द्रशेखर कार्कीलगायत त्यतिबेलाका अब्बल पत्रकारहरूसँग काम गर्न थाले उनले। पछि किशोर नेपाल पनि चिफ रिपोर्टरका रूपमा कान्तिपुरमा गए। र, फोटो पत्रकार गोपाल चित्रकार पनि भित्रिए। पत्रकार केदार ओझा पनि फोटो पत्रकारका रूपमा कान्तिपुरमा प्रवेश गरे। पछि मात्र उनी क्राइम रिपोर्टिङतिर लागेका हुन्। कान्तिपुरमा काम गर्दा पनि उनले अफिसको क्यामेरा प्रयोग गरेनन्, आफ्नै क्यामेराबाट फोटो खिचिरहे। त्यसवापत क्यामेराको भाडा दिन्छु भनेका थिए, गोयन्काले। तर, तलबमा जोडेर भाडा दिएनन्।

केही वर्षपछि गोयन्काले कान्तिपुर छाडे। र, हेमराज ज्ञवाली र कैलाश सिरोहियाले कान्तिपुर पब्लिकेसन्स खरिद गरे। बीचमा विकासले पनि कान्तिपुर छाडे। त्यतिबेला ‘श्री सगरमाथा’ र ‘एभरेस्ट हेराल्ड’ दैनिक प्रकाशन हुन थालेका थिए। उनी त्यतै लागे। कान्तिपुर छाड्ने क्रममा आफूलाई गोयन्काले गरेको वाचा कैलाश सिरोहियालाई सम्झाए। र, सिरोहियाले एकमुष्‍ट उनलाई २५ हजार रुपैयाँ दिए।

संयोग कस्तो भने उनी बेलायतमा फोटो प्रदर्शनीका लागि छनोट भएका थिए। सिरोहियाले दिएको त्यही रकमले उनले बेलायत जान प्लेन टिकट खरिद गरे। र, सन् १९९६ मा बेलायत गएर उनले फोटो प्रदर्शनी गरे।

म्यानचेस्टर, योर्क र क्याम्ब्रिज गरी तीनवटा शहरमा उनले फोटो प्रदर्शनी गरे। त्यहाँ नेपाल महोत्सव आयोजना भएको थियो। र, त्यसमा विकासका नेपाल चिनाउने तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो। काठमाडौंका जात्रा, मुस्ताङ यात्रालगायत तस्बिर त्यतिबेला प्रदर्शनी गरेका थिए उनले।

उनका तस्बिरहरू बिक्री पनि भए। त्यसवापत करिब ३०० पाउन्ड आम्दानी भयो। त्यही आम्दानीले उनको बेलायत घुमफिर सहज बनाइदियो। त्यो कमाइ उनले बेलायतमै खर्च गरे। फ्रान्स पुग्‍ने प्रयासमा थिए। तर, फ्रान्सले उनलाई काठमाडौंबाटै लिनुपर्ने भन्दै भिसा दिएन। ‘त्यसो भए तिम्रो देशमा गर्ने खर्च बेलायतमै गर्छु’ भन्दै उनी बेलायतकै घुमघाममा रत्तिए। उनले झण्डै साढे ८ महिना बेलायतमै बिताए। जर्मनीमा पढिरहेका उनका काका विवाहपछि बेलायत सरेका थिए। र, म्यानचेस्टरमा बस्थे। यसरी उनको पहिलो एकल फोटो प्रदर्शनी बेलायतमा भयो।

फर्केर आएपछि उनले एभरेस्ट हेराल्ड छाडे। श्री सगरमाथामा तीर्थ कोइराला र एभरेस्ट हेराल्डमा विजयकान्त कर्ण सम्पादक थिए। अजयभद्र खनाललगायत सिनियर पत्रकारहरूले काम गर्थे, त्यहाँ। विजयकान्त कर्णले छाडेर हिरण्यलाल श्रेष्‍ठलाई एभरेस्ट हेराल्डको सम्पादक बनाइएपछि वाम गन्ध आयो। र, उनले जागिर छाड्ने निर्णय गरे।

त्यसपछि कान्तिपुर फर्किए। तर, तलबी नभई स्ट्रिंगरका रूपमा। छापिएका तस्बिरहरू वापत उनले पारिश्रमिक पाउँथे। हरेक महिना उनी कान्तिपुर र काठमाडौं पोस्टमा प्रकाशित तस्बिरहरूको बिल लिएर जान्थे। र, पारिश्रमिक पाउँथे। तर, उनलाई केही समयमै मासिक तलब दिन थालियो। र, निरन्तर २३ वर्ष उक्त पब्लिकेसन्सको स्टार फोटो पत्रकार रहे। त्यसक्रममा अन्तिम ४ वर्ष उनी फोटो सम्पादक पनि बने। उनले फोटो सम्पादकबाट राजीनामा गरे। तर, उनको राजीनामा स्वीकृत गर्न एक वर्ष लगाइयो। कारण थियो उनी अर्को पत्रिकामा जाने डर। तर, विकासले पत्रकारिता छाडेर व्यापार, व्यवसाय पुर्ख्यौली उद्यम सम्हाल्ने निर्णय गरेका थिए। त्यसका लागि कन्भिन्स गर्न वर्षदिन लाग्यो, उनलाई कान्तिपुरमा।

कान्तिपुरमा फोटो सम्पादक बन्‍नुको पनि रोचक कथा छ। त्यतिबेलाका फोटो पत्रकार गोपाल चित्रकारले छाडे। उनीपछिका चन्द्रशेखर कार्की नागरिक दैनिकको फोटो सम्पादक बने। त्यसपछि पालो विकासकै थियो। कान्तिपुरका अध्यक्ष सिरोहियाले बानेश्‍वरको होटल एभरेस्टमा विकासलाई बोलाए। र, कान्तिपुरका सम्पादक सुधीर शर्मालाई साक्षी राख्दै विकास फोटो सम्पादक नियुक्त भएको घोषणा गरे।

कान्तिपुरमा सम्पादकहरू योगेश उपाध्याय, युवराज घिमिरे र नारायण वाग्लेसँग काम गरे। नारायण वाग्ले, रघु मैनाली र कसमस विश्‍वकर्मासँग ०५० सालमा वागमतीमा आएको बाढीमा सर्लाहीका गाउँ-गाउँ पुगेर रिपोर्टिङको गरेको उनको मानसपटलमा ताजै छ, अहिले पनि। काठमाडौं पोस्टमा प्रतीक प्रधान सम्पादक थिए। कान्तिपुरमा गुणराज लुइँटेल समाचार सम्पादक थिए। लुइँटेललाई भने विकासले ‘युग संवाद’मै काम गर्दा चिनेका थिए। ‘युग संवाद’मा पनि गुणराजले विकाससँग तस्बिरहरू माग्थे। कान्तिपुरमा काम थाल्नुअघि देशान्तर, दृष्‍टि, जनआस्थालगायत पत्रिकामा पनि उनले तस्बिर माग्दा विकासले दिने गरेका थिए। त्यसरी नै ‘युग संवाद’मा पनि गुणराजले मागेका तस्बिरहरू दिन्थे। अलि फ्लेक्जिबल नेचरकै हुन् विकास। साथीभाइले मागेपछि दिन्‍नँ भन्‍नै नसक्ने ! पैसा दिए पनि नदिए पनि कन्ट्रिब्युट गरिदिने।

कान्तिपुरमा फोटो पत्रकारिता गोरखापत्रको भन्दा फरक थियो। गोरखापत्रले औपचारिक कार्यक्रमका तस्बिरहरू मात्र प्रकाशन गर्थ्यो। ती पनि दरबारबाट ‘अप्रुभ’ गराउनुपर्ने बाध्यता थियो। बोरिङ टाइपका प्रोटोकल फोटो छापिन्थ्यो, गोरखापत्रमा। चन्द्रशेखर कार्की र विकासको ध्यान भने फरक प्रकृतिका फोटोमा हुन्थ्यो।

उदाहरणका लागि थापाथलीको ब्लुबर्ड होटलमा एउटा कार्यक्रम थियो। प्रमुख अतिथि थिए, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। प्रधानमन्त्री कोइराला कार्यक्रम स्थलमा आउनुअघि कुकुरहरू ल्याएर प्रहरीले सुँघायो। उनीहरूले त्यो तस्बिर खिचे। सोधखोज गर्दा ‘गिरिजाबाबुलाई थ्रेट बढेकाले बम छ कि भनेर कुकुरलाई सुँघाइएको’ जवाफ पाए। गोरखापत्रले उनी औपचारिक कार्यक्रममा सहभागी भएको तस्बिर छाप्यो, कान्तिपुरमा कुकुरले सुरक्षा जाँच गरिरहेको तस्बिरलाई फ्रन्ट पेजमा स्थान दियो।

यस्तै, गोरखापत्रले तत्कालीन अधिराजकुमार निराजनले स्विमिङ कम्पिटिसनमा सहभागी भएको तस्बिर प्रकाशन गरेन, जुन राजेन्द्र चित्रकारले खिचेका थिए। त्यो थाहा पाएपछि विकासले भोलिपल्ट निराजनले स्विमिङ कम्पिटिसनमा भाग लिँदै गरेको तस्बिर खिचे, जसलाई कान्तिपुरले फ्रन्ट पेजमा स्थान दियो। अनि ब्लुबर्ड मलमा सपिङ गरेर निस्किँदै गरेका युवराज दीपेन्द्रको तस्बिर छाप्यो कान्तिपुरले, जुन गोरखापत्रले स्थान दिँदैनथ्यो। ‘हामी फरक खालका फोटो खिच्थ्यौं र छापिन्थ्यो पनि। त्यसैले चर्चित पनि हुन्थे त्यस्ता तस्बिर,’ विकास भन्छन्।

राष्ट्रपति डा. रामवरण यादवसँग विकास

दरबार हत्याकाण्डमा डरैडर

दरबार हत्याकाण्डको सूचना राति १२ बजेतिर पाए। विकास, नरेन्द्र श्रेष्‍ठ, देवेन्द्रमान सिंह बिहान ४ बजे नै भोटेबहाल पुगे। शवहरू छाउनी लगेको थाहा पाए। हिँड्दै हिँड्दै छाउनी पुगे। छाउनीको एउटा गुम्बामा बसेर छाउनी अस्पताल बाहिरको गतिविधि खिचे। त्यसपछि राजसभा स्थायी समितिको बैठक बस्दैछ भन्‍ने थाहा पाए। कान्तिपुर अफिस फर्किए। कान्तिपुरमा भोलिपल्ट विशेषांक निकाल्ने निर्णय भयो। राजाका पुराना तस्बिरहरू दिए। राजसभाको बैठकले दीपेन्द्रलाई राजा घोषित गर्‍यो। र, ज्ञानेन्द्रलाई राज्य सहायक बनायो। राजारानीको शव यात्रा हुने भएपछि फेरि छाउनी पुगे। त्यतिबेला उनीहरूलाई अस्पतालभित्र छिर्न दिइयो। र, राजारानीसहित दिवंगत राजपरिवारको शवको तस्बिर खिच्‍न दिइयो।

शवयात्राका क्रममा शोभाभगवतीमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि घातक हमला भयो। विकास भने सीधै दरबारको गेट अगाडि पुगे। र, नारायणहिटी दरबारलाई पृष्‍ठभूमिमा राखेर शवयात्राको तस्बिर खिचे। र, त्यही फोटो छापियो पनि।

ब्ल्याक एन्ड ह्वाइट तस्बिर खिचुन्जेल अफिसकै डार्क रुममा फोटो धुलाउने सुविधा थियो। पछि रंगीन फोटो त्रिपुरेश्‍वरको कलर ल्याबमा धुलाउँथे। त्यो कलर ल्याबले राति १ बजे पनि फोटो धुलाइदिन्थ्यो। र, त्यसवापत मासिक एकमुष्‍ठ रकम पाउँथ्यो। एक दिन त्यही कलर ल्याबमा फोटो धुलाउन जाने क्रममा युवराज दीपेन्द्रले सपिङ गरेर बाहिरिँदै गरेको तस्बिर खिच्‍न पाएका थिए।

सन् २०१३ सम्म उनले यसरी नै फोटो पत्रकारिता गरिरहे। र, सक्रिय पत्रकारिताबाट बिट मार्दै पुर्ख्यौली व्यापार, व्यवसायमा फर्किए। जोगवनी र रक्सौलमा नयाँ काम आएका थिए। उनले त्यसैमा हात हाल्ने निर्णय लिए। त्यसपछि उनको फोटोग्राफी सोख मात्र बाँकी रह्यो। जहाँ पुगे पनि फोटोग्राफी छाडेका छैनन्, क्यामेरा हातमै हुन्छ।

केही समय प्रोजेक्ट डिले भयो। सोही कारण बीचमा छोराको नाममा ‘सबस्त इन्टरटेनमेन्ट’ खोले। त्यसले पहिलो फिल्म ‘मेघा’ बनायो। त्यसमा नम्रता श्रेष्‍ठ, सिद्धार्थ कोइराला, रेमनदास श्रेष्‍ठलगायतले अभिनय गरेका थिए। त्यो फिल्म लन्डनमा सम्पन्‍न एसियन फिल्म फेस्टिभलमा छानियो। व्यापार त्यति राम्रो गरेन, लगानीको आधा मात्र उठ्यो। दोस्रो फिल्म करिस्मा मानन्धरले बनाइन्, ‘फागु’। त्यसको निर्देशन विकासकी पत्नी सम्झना उप्रेतीले गरेकी थिइन्। त्यो फिल्मले भने राम्रो व्यापार गर्‍यो। ‘हामीलाई गर्व छ ‘मेघा’सँग, कमाइ भने ‘फागु’ले गर्‍यो,’ विकास भन्छन्, ‘फागुमा हाम्रो लगानी थियो।’

नेपाल भ्रमणमा आएकी बेलायतकी तत्कालीन राजकुमारी डायना बालबालिकासँग

प्रहरी अनुसन्धानबाट ‘अप्रुभ्ड’ विवाह

सम्झनासँग विवाहको अर्कै रोचक कहानी छ। उनी इमेज च्यानलमा काम गर्थिन्। हिन्दी गीत टपटेन कार्यक्रम चलाउँथिन्। त्यतिबेला इमेजको आफ्नै टीभी थिएन, नेपाल टेलिभिजनसँग समय किनेको थियो। विकासकी बहिनी तथा अभिनेत्री सनी रौनियार पनि इमेजमा काम गर्थिन्। विवाहको प्रस्ताव सनीले ल्याएकी थिइन्। विकासको परिवारमा त्यसअघि नै अन्तर जातीय विवाह भइसकेका थिए। सम्झनाको परिवारमा भने पहिलो अन्तर जातीय विवाह भएकाले अलि गाह्रो भएको थियो। सम्झनाका मामा कृष्‍णप्यारा खरेल प्रहरी निरीक्षक थिए। उनले विकासको परिवारबारे अध्ययन गरेका थिए। अर्थात्, प्रहरी अनुसन्धानबाटै उनीहरूको विवाह फिक्स भयो। सबै कुरा मिलेपछि उनीहरू ०५५ सालमा विवाह बन्धनमा बाँधिए। सम्झनालाई सिनेमामा इन्ट्रेस्ट थियो। ‘सबस्त इन्टरटेनमेन्ट’ र दुईवटा फिल्म त्यसैका उपज हुन्।

कोराना लकडाउनमा व्यापार केही सुस्तायो। त्यसपछि व्यापारले विस्तारै गति समात्दै छ। वीरगञ्‍जमा सुक्खा बन्दरगाहमार्फत काम गर्छन्। जोगवनी र रक्सौलमा निर्माण भएका एकीकृत जाँच चौकीमा उनको कम्पनीले काम गर्छ। खासमा, ब्रिटिस कालको ‘बामर लरी’ भन्‍ने कम्पनीले ती जाँच चौकी सञ्‍चालनको काम पायो। र, विकासको कम्पनीलाई सब-कन्ट्र्याक्ट दियो। म्यानेजेरियल काम सबै विकासको कम्पनीको थियो।

लकडाउनको समयलाई उनले आफूले खिचेका पुराना तस्बिरहरूलाई सुरक्षित गर्ने काम गरे। फुर्सदको सदुपयोग फेरि पनि फोटोसँग खेल्नमै बिताए।

सन् २००० मै विकासको पुस्ता डिजिटल युगमा प्रवेश गरिसकेको थियो। शुरुमा क्यानन पावरसटबाट उनले डिजिटल यात्रा थाले। त्यसपछि निकोन कुलपिक्समा गए। त्यसपछि डी सिरिजको प्रोफेसनल क्यामेरा बोक्न थाले। ‘फोटोग्राफीमा डिजिटल युग शुरु हुनासाथ हामीले त्यसलाई आत्मसात गरिहाल्यौं,’ उनी भन्छन्। बीचमा उनी क्यामेराविहीन भए। कारण- कान्तिपुर छाड्दा अफिसको क्यामेरा जिम्मा लगाए। आफूले क्यामेरा किनेका थिएनन्।

१२ वैशाख ०७२ को भूकम्पपछि बेलायतका राजकुमार ह्यारी नेपाल आए। विकासले नै काठमाडौंमा उनका गतिविधि क्यामेरामा कैद गर्ने जिम्मा पाए। उनले कान्तिपुर छाडिसकेका थिए। कुनै दैनिक पत्रिकामा काम नगर्ने फोटो पत्रकार खोजिएको थियो। त्यसैले उनले ह्यारीको फोटो खिच्‍ने काम पनि पाए। र, चार दिन प्रिन्स ह्यारीसँग बिताए।

भक्तपुरको इमर्जेन्सी सेन्टरमा प्रिन्स ह्यारी

पत्रकार धेरै, तस्बिरमा कथा शून्य

विकासको पुस्ताले गरेको फोटो पत्रकारिता र अहिलेको फोटो पत्रकारितामा कति अन्तर छ त ? विकास भन्छन्, ‘अहिले फोटो खिच्‍ने मान्छे धेरै भए, महँगा डिजिटल क्यामेरा हातमा बोक्ने पनि धेरै भए। तर, राम्रा तस्बिरहरू खिच्‍ने कोही भएनन्। क्यामेरा यति महँगो किनें भनेर गफ लगाउने धेरै भए। तर, तस्बिरको गफ हुँदैन। त्यसैले उल्लेखनीय तस्बिरहरूमा कमी आएको छ। क्यामेरा र फोटो पत्रकार बढेका छन्, उल्लेखनीय तस्बिर घटेका छन्।’

त्यसको कारण के त ? विकास भन्छन्, ‘पहिलो- फोटो पत्रकारहरूमा धैर्य कम देखिन्छ। आजकालका फोटो पत्रकार साथीहरूका तस्बिरमा मलाई बोरिङ लाग्छ। अल्छी भए फोटो पत्रकार। पैसा हेर्छन्, मिहिनेत गर्दैनन्, रुटिन फोटो खिच्छन्। परम्परागत फोटोतिर लागे। कथा बोल्ने फोटो खिच्दैनन्। प्राविधिक रूपले भयंकर उत्कृष्‍ट फोटो पत्रकार छन् तर, कन्टेनमा कथा नै हुँदैन।’

सबै तस्बिरहरू : विकास रौनियार

शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.