• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

फादर फिगर र फादर


सोमबार, भदौ २५, २०८० मा प्रकाशित

अकस्मात मलाई एक प्रकारको आत्मविश्‍वास चढ्यो र घरबाट हिँड्नु अघिसम्मको दोधारको मनौवैज्ञानिक दबाब हटेजस्तो भयो। मैले आफूलाई दृढ महशुस गरें।

Advertisement

सेमेस्टर प्रणालीको अन्तिम ब्याच थियो हाम्रो। पछिल्लो वर्ष कलेज पढ्न आउनेहरूले फेरि पहिलेजस्तै इयर (वार्षिक) प्रणालीमा पढ्न थाले।

नयाँ शिक्षा योजनाअन्तर्गत अमेरिकी ढाँचामा ढालिएको नेपालको नयाँ शिक्षा प्रणालीले विश्‍वविद्यालयका कलेजहरूलाई क्याम्पस बनाइदियो र वार्षिक परीक्षा हुने पुरानो प्रणालीलाई ६ महिनामा जाँच लिने समेस्टर प्रणालीमा फेरिदिएको थियो।

उच्च शैक्षिक संस्थाको अर्थ दिने ‘कलेज’ पनि भौतिक संरचनाको परिसरको अर्थ दिने गरी ‘क्याम्पस’मा शब्दान्तरण गरिएको शैक्षिक कालखण्डको अन्त्यतिर हामी थियौं- पीसीएल (साइन्स)का विद्यार्थी। ‘इन्टरमिडिएट इन साइन्स’लाई ‘प्रोफिसिएन्सी सर्टिफिकेट लेभेल’ नाम दिइएका बेलाको कुरा हो यो।

पाकिस्तानमा निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई जनरल जिया उल हकको मार्सल रुलले सत्ताको तख्ताबाट फाँसीको तख्तेमा पुर्‍याएर झुण्ड्याइदिएको घटनाले नेपालमा भड्किएको विद्यार्थी आन्दोलन गोरखापत्र संस्थान र शाही नेपाल वायु सेवा निगमको आगजनीसम्मको उग्रतामा पुगेपछि बालिग मताधिकारको आधारमा जनताले राजनीतिक व्यवस्थाको विकल्प छान्‍न पाउने ‘जनमत संग्रह’को घोषणाले मात्र मुलुक साम्य भएको राजनीतिक स्थिति थियो।

जनमत संग्रहसम्मको राजनीतिक परिस्थिति निर्माण गर्ने विद्यार्थी ताकतका कारण हाम्रो कलेजका दिनहरू ‘हड्तालमय’ थिए। केमेस्ट्री वा फिजिक्सको क्लास भइरहेको ठाउँमा एक हुल विद्यार्थीहरू पसेर मुठ्ठी उठाउँदै ‘साथीहरू संघर्ष जारी छ’ भन्दै ‘क्लास बहिस्कार गरौं’ भन्‍नेहरूको आक्रामक भाषण चल्दै गर्दा प्रोफेसर साहेब लुसुक्क बाहिरिएपछि क्लास बन्द। कहिले कुन क्लास, कहिले कुन क्लास, कहिले क्याम्पस प्रमुखको कार्यालयमा ताल्चा, कहिले आपसमा कहिले पुलिसलाई ढुंगा हानाहान। हरेक दिन केही न केही घटनाहरू भइराख्थे तर क्लास भने हुँदैनथे।

जनमतसंग्रहको प्रभावले कलेजहरू पोलिटिकल्ली रंगीन थिए- आफ्नै शिक्षादीक्षाको लागि महत्त्वपूर्ण समयलाई बहिस्कार गर्ने जोशिलो दैनिक एडभेन्चरमा।

परिणाम के रह्यो भने ६ महिनाको सेमेस्टर कहिले ९ महिना पुग्‍ने त कहिले एक वर्ष। २ वर्षको शैक्षिक वर्ष ४ वर्षसम्म पुग्यो। बेहालै बेहाल।

२०३७ सालमा सम्पन्‍न रेफरेन्डममा सुधारिएको पञ्‍चायती व्यवस्थाले पाएको ४ लाख मतको अग्रतालाई बीपीले स्वीकार्दै शायद इभोलुसनरी पोलिटिकल डेभेलपमेन्टको नीतिमा अडिएपछि आमूल राजनीतिक परिवर्तनको रिभोलुसनरी सम्भावना करिब-करिब स्थगनजस्तै हुन पुगेको २ वर्ष भइसकेको थियो। सुधारिएको पञ्‍चायतले बालिग मताधिकारको सीमित प्रजातान्त्रिक स्ट्रेन्थमा बहुदलीय प्रजातन्त्रको समग्रता ग्रहण गर्ने कमजोर कोशिस गरिरहेको अवस्थाकै बीचको कुरा हो।

६ साउन २०३९

बीपी कोइरालाको निधनको खबर डढेलो लागेसरी फैलियो।

मुलुकभित्र तत्काल आम सञ्‍चारको माध्यम रेडियो नेपालबाहेक अरू नभएको अवस्थामा पनि त्यो खबर यति चाँडो फैलिएको थियो कि बन्द प्रकृतिको चुपचाप नेपाली समाज अकस्मात तरंगित भयो। बीपीको निधन एउटा अपेक्षित तर अनिच्छित घटना थियो, त्यतिबेलाको उदार राजनीतिमा आस्था राख्‍नेहरूका लागि। अझै उदार प्रजातान्त्रिक व्यवस्थाको सपनामा संघर्ष बाँचिरहेकाहरूका लागि त कडा हृदयाघात नै थियो त्यो समाचार।

मलाई एक्कासी त्यहाँ जाऊँजस्तो भयो। र, जानैपर्छ भन्‍ने लाग्‍न थाल्यो। र, तत्कालै दिमागमा बुवाको अनुहार बारम्बार आउन थाल्यो। उहाँले मलाई भनिरहेको जस्तो लाग्यो, ‘म धेरै धेरै टाढा छु, तँ जा, त्यहाँ जा। मेरो लागि भए पनि उनलाई एकपटक हेरिदे।’

म असमन्जसमा परें।

राष्‍ट्रिय पञ्‍चायतको अधिवेशन चलिरहेको छ। ठूल्दाइ भर्खरै दौरा सुरुवालको पोशाकमा माननीयको ब्याच ग्रे कोटमा खिपेर ग्यालरी बैठक, सिंहदरबारतर्फ लाग्‍नुभयो।

०००

‘बीपीको घाँटी खराब थियो, त्यसैले सधैं सफा सेतो मलमलको रुमाल स्कार्फजस्तो घाँटीमा बाँध्नु हुन्थ्यो।’

२०१५ सालमा दुईतिहाइ बहुमतले क्षेत्र नम्बर ८३ बाट प्रथम निर्वाचित एमपी हुनुहुन्थ्यो रे बुवा। हामी त जन्मेकै थिएनौं। (०१५ सालको प्रथम आम चुनाबबाट एमपी चुन्‍नका लागि भर नेपाल १०९ वटा निर्वाचन क्षेत्रमा बाँडिएको थियो। ०१८ सालमा मात्र जिल्ला विभाजन भयो र ०४८ पछि मात्र जिल्लाभित्रै पनि निर्वाचन क्षेत्र छुट्याइयो)। पछि बाल्यकालमा बुवाको काखमा बसेर सुनेको त्यो वाक्य घरिघरि आइरह्यो।

‘नेता त बीपी हुन, बीपी !’  राष्‍ट्रिय पञ्‍चायत सदस्य ठूल्दाइले बेला-बेलामा तुलनात्मक राजनीतिक प्रसंग चल्दा भनेको याद आयो। र, फेरि मेरो जाऊँ नजाऊँ को दोधार अल्ली कम भयो।

‘ए ! सुरेन्द्र, जे भए पनि ०१५ सालको बिँडो थामेको छस् नाति। दुःख त पाइस् नै, तर ठूलो बुवाको २००७ सालदेखिको प्रजातन्त्रको लागि योगदान हो। तँलाई आशिर्वाद छ। कसरी काठमाडौंमा धानिन्छस् ? ल अलिकति भए पनि खर्च चला।’ ठूल्दाइले हातमा थमाइदिने त्यो दुःख धान्‍ने खर्चको अर्थ थियो- तैंले कन्भिक्सन नछोड्नु।

दोधारको मनस्थितिमा एकपछि अर्को घटना स्मृतिमा आए र गए, एकपछि अर्को गर्दै। ती सबै म त्यहाँ जान हुन्छ या हुँदैन भन्‍ने कुराको असमन्जस्यताको प्रक्रियामा आइरहेका थिए र गइरहेका थिए।

‘मुलुकमा एउटा जीर्ण शरीर लिएर प्रजातन्त्र-प्रजातन्त्र भनेर बोलिराख्‍ने एउटा बुढो छ। ठूलो परिवारमा एउटा बुढो मान्छे कोठामा खोकिराख्दा पनि परिवारलाई जीवन्त बनाइदिन्छ, जाँगर भरिदिन्छ। ती छन् र प्रजातन्त्रको दियो बलिराखेको छ भाइ।’ विष्‍णु विभूले धोवीधारामा हामी फुच्चे भाइहरूसँग गफ गर्दै गर्दा भनेको कुरा अनायसै याद आयो।

ल त्यो बत्ति त निभिसकेछ। नरमाइलो लाग्यो।

थाहा नपाई-नपाई म मैतिदेवीबाट हिँडिसकेछु- त्यो निभेको बत्ति राखिएको भनिएको ठाउँ जयबागेश्‍वरीतर्फ। झुण्ड झुण्ड मान्छेहरू जयबागेश्‍वरीतिर उभिरहेका थिए। मान्छेको सानोतिनो भीड भएकै ठाउँतिरै जाँदै गर्दा ठ्याक्कै त्यहीं पुगियो, जहाँ त्यो ‘दियो’ निष्‍प्राण शरीरमा अझै पनि आशा, विश्‍वास र भरोसा बनेर मृत्यु शय्यामा लम्पसार थियो।

बालिग मताधिकारको आधारमा निर्वाचित राष्‍ट्रिय पञ्‍चायतबाट निर्वाचित सुधारिएको पञ्‍चायतका पहिलो प्रधानमन्त्री सूर्यबहादुर थापा भर्खरै जयबागेश्‍वरी पुगेर बीपीको पार्थिव शरीरमा श्रद्धाञ्‍जली चढाएर फर्केको भन्‍ने सुनेपछि भने मलाई लाग्यो कि प्रधानमन्त्री नै आएर श्रद्धाञ्‍जली दिन हुने अरूलाई किन डर त्रास ? अरूले किन नहुने ?

अकस्मात मलाई एक प्रकारको आत्मविश्‍वास चढ्यो र घरबाट हिँड्नु अघिसम्मको दोधारको मनौवैज्ञानिक दबाब हटेजस्तो भयो। मैले आफूलाई दृढ महशुस गरें।

जयबागेश्‍वरीमा बरण्डा भएको घरको भुइँतलामा झुस्स दाह्री भएको एउटा वृद्ध तर उज्यालो उज्यालो निस्प्राण अनुहार बरफको ठूलो ढिक्कामाथि उत्तरतर्फ सिरानीमा चीर निद्रामा थियो। मैले श्रद्धापूर्वक दुई हात जोडर ढोगें र मनमनै भनें, ‘मेरो बुवाको राजनीतिक आदर्शको प्रतिमूर्तिप्रति मेरो श्रद्धाञ्‍जली छ।’ र, निकै बेर हात जोडिरहें।

मलाई त्यतिबेला बुवाको प्रतिनिधित्व गरिरहेको छु भन्‍ने भावले बढी उद्देलित गरिरहेको थियो र इमोसनल बनाइरहेको थियो। कता कता त्यो शरीरको आकार र अनुहारमा मलाई आफ्नै बुवाको प्रतिरूप देखेजस्तो लाग्यो। म आत्तिएँ, झसँग भएँ र फेरि नमस्कार गरें।

बीपीको शव राखेको ठूलो ढिक्का बरफबाट विस्तारै विस्तारै पग्लिरहेको पानी प्लास्टर गरेको भुइँमा तप्प तप्प तप्प झरिरहेको थियो।

०००

जनमत संग्रहको चर्काचर्की थियो। खुलामञ्‍चमा बहुदल पक्षको ठूलो आमसभा भयो। त्रि-चन्द्र कलेज पढ्नेलाई त्यस्तो भाषण हेर्ने या सुन्‍ने सुविधा बेजोड थियो। किनकि, क्याम्पसकै छतबाट खुलामञ्‍च छर्लंगै देखिने- भाषण सुने पनि हुने सभा हेरे पनि हुने।

त्यसदिन भने म रत्‍नपार्कसम्मै गएँ। मलाई बीपीलाई स-शरीर हेर्नु थियो, देख्‍नु थियो।

‘बीपीको भाषण, शब्द, ओज, दृष्‍टिकोण,’ बुवाले भनेको स्वर र बालक मष्‍तिस्कमा प्रिन्टेड वर्णनले मलाई चुम्बकजस्तै खिचेको थियो त्यो दिन।  ‘व्यक्तित्व पनि अति सुन्दर, लवेदा सुरुवाल लगाएको त यति सुहाउने,’ बुवाका शब्दहरू थिए ती। बुवा आफैं पनि रवाफिलो व्यक्तित्वको मान्छेले भनेको सुनेको मेरो युवा उत्सुकताले त्यस दिन बुवाभन्दा राम्रो मान्छे पनि हेरुँ न त भन्‍ने चुनौती स्वीकारेको थियो।

ठूलो संख्यामा मान्छे भरिएको टुँडिखेलको खुलामञ्‍चमा उदघोषण भयो,  ‘जननायक बीपी…’ त्यस्तै त्यस्तै।

एउटा वृद्ध शरीर माइक अगाडि उभियो र भास्सिएको तर स्पष्‍ट स्वरमा बोल्न थाल्यो। दौरा सुरुवाल कोट र टोपी लगाएको त्यो पातलो अग्लो शरीरको अस्तित्व यति प्रभावशाली थियो कि हल्लाखल्ला गरिरहेको सारा भीड एकाएक ‘पिन ड्रप साइलेन्स’मा पुग्यो।

चारैतर्फ राखिएका भोपुँ माइकमा मधुरो स्वरमा तरंगित भयो, ‘प्रजातन्त्र, राष्‍ट्रियता, समाजवाद, राजा …’ यस्तै शब्द बुनिएका सूत्रहरू सुनिए। भीड हिप्नोटाइज्ड भए जसरी सुनिरहेको थियो, एउटा एउटा शब्दलाई, शायद त्यो एक एक शब्दमा सूत्र थियो र भाष्‍य थियो होला।

मलाई त्यो स्वर भास्सिएको तर पनि केही गम्भीर कुरा बुझाउन खोजिरहेको अग्लो मान्छे कता कता मेरो बुवाजस्तो लाग्यो। परिपक्वता, धैर्य र समझदारीका वाक्यहरूबाट कठिन राजनीतिक सूत्र र राष्‍ट्र र समाजको भविष्‍य बुझाउन र देखाउन खोजिरहेको। जसमा ऊग्रता, चर्कोपन र उत्ताउलोपन छैन,  छ त केवल जनताको उत्थान, भरोसा र विश्‍वास र शासन सत्ताको हतारोभन्दा पनि जनताको सर्वोच्चताको चिन्ता।

यस्तो मधुरो स्वरलाई पनि किन यसरी सुनिरहेको छ यो जनसागर ? मलाई अचम्म लाग्यो तर म आफैं पनि सुन्‍ने कोशिस गरिरहेको थिएँ र अर्थ लगाउने विफल प्रयत्‍न गरिरहेको थिएँ, के भनेको होला भनेर।

मलाई अकस्मात लाग्यो, शायद ‘फादर फिगर’ भनेको यस्तै होला।

‘पोलिटिकल पावर ग्रोज आउट अफ द ब्यारल अफ द गन’ भन्‍ने जस्ता भाषणहरूको जमाना थियो, रगत उम्लने उमेर पनि थियो। तर ती वृद्धको भाषणमा त्यो उत्तेजना इन्ड्युस गर्ने ‘एलिमेन्ट’ थिएन र त्यो ‘एलिमेन्ट’ नभएको भाषण सुन्‍ने धैर्य नभएको जमानामा पनि केही त थियो त्यहाँ, जसले गर्दा भीड एक टकले त्यो क्यान्सरले गलेको तर जित्‍न नसकेको तेजिलो अनुहारमा आँखा टिकाएर बसेको थियो, कान थापेर बसेको थियो।

मलाई लाग्यो- त्यहाँ त्यो टावरिङ फिगर उत्तेजनाको आकर्षक पहाड चढाउने र भीरमा पुर्‍याएर खसाल्ने शैलीभन्दा धेरै फरक ‘होश’को संरचनामा आधारित परिवर्तनको लागि जनताको ‘जोश’को आह्वान गरिरहेको थियो।

र, त्यो मानिसलाई स-शरीर सुनेको ठीक तीन वर्षपछि म त्यो मानिसको पार्थिव शरीरलाई नमस्कार गरिरहेको थिएँ- विना कुनै जानकारी कि त्यो मानिस हुनु वा नहुनुले के फरक पार्छ भनेर।

मलाई एकाएक फेरि विष्‍णु विभूको गफ भने याद आयो- ‘ठूलो परिवारको ज्येष्‍ठ सदस्य यौटा वृद्ध घरको कुनै कोठामा बसेर खोकिराख्दा पनि चोर भाग्छ, घरको सुरक्षा हुन्छ।’

म फर्कन चाहन्थें, अब। तर, के ले हो मलाई रोक्यो र भन्यो,  ‘तँ अब उन्को मलामी जानैपर्छ। म धेरै टाढा छु, मैले बीपीलाई भेट्न पाइनँ, तैले मेरो लागि भए पनि मलामी गइदिनु।’

त्यो शायद बुवाको टेलिप्याथी थियो मलाई।

जयबागेश्‍वरीबाट शुरु भएको उनको शव यात्रामा मान्छेहरू थपिँदै गए। घरहरूको बार्दलीबाट मानिसहरू अविर फ्याँकिरहेका थिए। अविर उनको शवमै परोस् नभए शव राखिएको ट्रकमा त परोस् भन्‍ने जसरी।

पुरानो बानेश्‍वर चोकमा हामी हिँडिरहेकाहरू पुग्दा त्यो ट्रकमा राखिएको शव पुतलीसडक पुगिसकेको थियो र हामीभन्दा पछाडि पनि चावेलतर्फबाट मान्छेहरू ओइरिरहेकै थिए। त्यतिबेलाको काठमाडौंको जनसंख्यामा त्यस्तो विधि मानिस ओइरिएको त्यसअघि मैले देखेको थिइनँ। त्यसमाथि पनि शवयात्रामा- मलामीको रूपमा।

वसन्तपुर-असन हुँदै कमलपोखरी-गौशालाबाट आर्यघाटतर्फ लागेको त्यो शवयात्राको लर्को साउनको अँध्यारो बादलले ढाकेको साँझमा आर्यघाट पुग्दा अन्धकार भइसकेको थियो। लाखौं मानिसको भीड आर्यघाट वरपर अधीर भएर उभिरहेको थियो। घरि-घरि भीडको धकेलाधकेलले मान्छेको पहिरो जान्थ्यो र सम्हालिन्थ्यो। हरेकलाई बीपीको शवको नजिक एकपटक पुग्‍नु  थियो।

प्रजातन्त्रको चिरागलाई दागबत्तिको आगोले विस्तारै छोप्दै गयो। पूरै चिता आगो र धुँवाको कोलाजमा छोपियो।

म पनि विस्तारै विस्तारै भीडबाट धकेलिँदै बाहिरिएँ र ७-८ घण्टाको उनको अन्तिम यात्राको साक्षी बनेर फर्किएँ।

मैले लगाएको माथिसम्म आउने हिलवाला छालाको बुट हिलैहिलो भएको थियो र त्यतिबेलाको चलनचल्तीको स्किन टाइट सर्ट पसिनाले निथ्रुक्कै भिजेको थियो। म थकित थिएँ तर त्यो ‘मान्छेको महायात्रा’मा सामेल भएकामा गौरव पनि महशुस गरिरहेको थिएँ।

राति १० बजे मैतिदेवी घरमा पुग्दा ठूल्दाइ राष्‍ट्रिय पञ्‍चायत सदस्यको औपचारिक पोशाकमै मलाई पर्खिराख्‍नुभएको रहेछ।

‘किन ढिला? गयौ कि क्या हो?’ उहाँले मेरो पसिनाले भिजेको सर्टतिर हेरेर भन्‍नुभयो।

‘हो’ मैले विस्तारै भनें।

‘समात्ला पुलिसले पछि,’ उहाँले भन्‍नुभयो।

‘प्रधानमन्त्री पनि त गएका थिए नि,’ मैले डिफेन्स क्रिएट गरें।

‘ठीकै गर्‍यौ। मलाइ जान मिलेन, भएन पनि। तिमी गयौ, ठूलो काम गर्‍यौ। परिवारको त कोही न कोही जानैपर्थ्यो। ठूलो बुवालाई सबै वृत्तान्त चिठ्ठीमा लेखेर पठाउनु। उहाँलाई नबताएर यो कुरा पूरा हुँदैन।’ अर्को पुनर्गठनमा मन्त्री बन्‍ने तयारीमा ठूल्दाइले गम्भीर स्वरमा मलाई भन्‍नुभयो।

‘हस्!’ मैले टाउको हल्लाएँ।

फिजिक्स प्राक्टिकल बुकको पानामा मैले त्यस रात नै चिठ्ठी लेखें बुवालाई १० पेजको। एक एक विवरणसहित। र, राति २ बजे मात्रै सुतें।

भोलिपल्ट रजिस्ट्री गरेर चिठ्ठी हुलाकबाट पठाएँ।

बुवाले त मलाई भन्‍नु भएन तर त्यो चिठ्ठी पढ्दै गर्दा बुवाको आँखाबाट भेल बगेजसरी आँसु बगिरहेको थियो रे- पछि परिवारका सदस्यहरूले बताएका थिए मलाई।

त्यतिबेला, हाम्रो आईएस्सीको बल्ल चौथो समेस्टर चलिरहेको थियो।

सोमबार, भदौ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.