सुनसरी- बराहक्षेत्र नगरपालिकास्थित सार्वजनिक शारीरिक व्यायामशाला तीन वर्षदेखि अलपत्र छ। भवन उदघाटन भएर पनि व्यायाशाला सञ्चालन नहुँदा स्थानीय युवा निराश छन्।
बराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा उक्त व्यायामशालाको भवन निर्माण भएको छ। १२ मंसिर ०७७ मा तत्कालीन सांसद जयकुमार राईले त्यसको उद्घाटन गरेका थिए।
सांसद राईले त्यसका लागि स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद विकास कोषवाट ३० लाख रुपैयाँ उपलब्ध गराएका थिए।
हालसम्म स्थानीय तहले चासो नदिँदा बनेको भवन नै जीर्ण बन्दै गएको स्थानीय सन्तोष खड्काले जानकारी दिए।
स्थानीय युवासँग समन्वय नगरी आफूखुशी मनपरी तरिकाले जग्गा छनोट र निर्माण समिति गठन गरी मिलोमतोमा व्यायामशाला भवन निर्माण गरिएको स्थानीय दीपक कोइरालाको आरोप छ। उपभोक्ता समिति गठन गरी राज्यको रकम दुरुपयोग भएको आशंका उनको छ। भन्छन्, ‘३० बाइ ६० को भवनमा इँटा, सिमेन्ट र ट्रस्ट जस्तापाताको छानो लगाएर बनाएको एकतले भवन बनाउन ३० लाख रुपैयाँ लाग्छ?’
भवन निर्माणमा राज्यको बजेट अनियमितता र दुरुपयोग भएको प्रष्ट हुने उनको भनाइ छ। यसबारेमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण हुनुपर्ने उनी बताउँछन्। चाँडोभन्दा चाँडो व्यायामशाला सञ्चालनमा आउनुपर्ने स्थानीय युवाको माग छ।
स्थानीय राजनीतिक दलले आ-आफ्ना कार्यकर्ताहरूलाई भागबण्डा गरी निर्माण उपभोक्ता समितिमार्फत भवन निर्माण गर्दा राज्यकोषको रकम दुरुपयोग भएको छर्लंग रहेको स्थानीय बासिन्दाको आरोप छ।
व्यायामशालाका लागि आवश्यक सामग्री जुटाएर चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउनुको साटो भवनमा चाबी लगाएर राख्नुले पनि यसमा रहस्य छिपेको उनीहरूको भनाइ छ।
स्थानीय सन्तोष श्रेष्ठ भन्छन्, ‘जिम गर्ने सामग्रीहरू छन् कि छैनन्? के कारणले ढोकामा सधैं ताल्चा लगाइरहेका हुन्? सञ्चालन नआउनुको कारण के हो? सरोकार राख्ने निकायले जवाफ दिनुपर्छ।’ स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका नेता-कार्यकर्ता यसमा सर्वथा मौन देखिनु पनि रहस्यको विषय बनेको उनको भनाइ छ।
भवन निर्माणमा भएको खर्च र भवनको वास्तविक लागत मूल्यांकन गरी सार्वजनिक गर्नुपर्ने स्थानीय युवाको माग छ। भवन निर्माण क्रममा सरकारी अनुगमन टोलीले निरीक्षण-अनुगमन गर्यो कि गरेन? लागत स्टिमेटअनुसार भौतिक संरचना बनेको छ छैन? ३० लाख रुपैयाँको खर्च विवरण (बिल भौचर) कसरी पारित भयो? रकम कसरी निकासा भयो? यी प्रश्नको जवाफ खोज्नुपर्ने स्थानीय युवाको भनाइ छ।
उक्त जिम हल देखाएर राज्यबाट रकम दोहन गरी कमाइखाने माध्यम बनाइएको उनीहरू बताउँछन्। उक्त हलमा डमबेल तथा हेभी मेसिन रहेको स्रोतको दाबी छ।
स्वस्थ रहन व्यायाम अत्यावश्यक रहेको र बढ्दो शहरीकरणसँगै बराहक्षेत्रमा पनि सार्वजनिक व्यायामशाला आवश्यक रहेको उनीहरूको ठम्याइ छ। तर, युवा, युवतीदेखि ज्येष्ठ नागरिकसम्मका लागि स्वस्थ र तन्दुरुस्त रहन आवश्यक सामग्रीहरू व्यायामशालामा उपलब्ध गराइनुपर्ने बराहक्षेत्र- १ र २ का बासिन्दाको माग छ।
बराहक्षेत्र-२ पुनर्वासका माधव थापाले आफूले भोगचलन गर्दै आएको २ कठ्ठा र अशोक कार्कीले १ कठ्ठा गरी ३ कठ्ठा ऐलानी जमिन उक्त जिम हलका लागि उपलब्ध गराएका थिए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा परिच्छेद ३ अनुसार सार्वजनिक, एलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सन्चालन र व्यवस्थापनको जिम्मा नगरपालिकाको हो। तर, उक्त सार्वजनिक जिम हलप्रति स्थानीय सरकारले चासो र चिन्ता नदिँदा बेवारिसे अवस्थामा पुग्न लागेको स्थानीय प्रेम घिमिरेले बताए।