काठमाडौं- टोखास्थित ग्रान्डी अस्पतालबाट करिब एक किलोमिटर दूरीमा गणेश मन्दिर छ । टोखा चण्डेश्वरी–२ ठलागमा पर्ने मन्दिरनजिक एक ठूलो भवनको भुइँतलामा क्याफे छ । दोस्रो तलामा न्हूजः पुस्तकालयको साइनबोर्ड देखिन्छ । साइनबोर्ड जति सुन्दर देखिन्छ, ठीक विपरीत छ, पुस्तकालयभित्रको माहोल । सानो कोठाका केही दराजमा उपन्यास, बालबालिका र जीवनदर्शनका करिब तीन सय पुस्तक छन् । ती सबै अव्यवस्थित देखिन्छन् ।
पुस्तकालय खुला हो या बन्द भन्नेमै द्विविधा छ । व्यवस्थापन समितिका सदस्य विकास श्रेष्ठका अनुसार कुनै समय यही पुस्तकालयमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरू खोजी–खोजी आइपुग्थे ।
०३८ सालमा नमिता–सुनीता काण्डले राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत आन्दोलनका लागि मलजल ग¥यो । पञ्चायती व्यवस्थामा राजनीतिक दलमाथि प्रतिबन्ध थियो । त्यसैले आन्दोलनलाई संगठित बनाउन त्यसको तीन वर्षपछि १ भदौ ०४१ मा टोखामा न्हूजः पुस्तकालय स्थापना भयो । तत्कालीन नेकपा मालेका नेता, कार्यकर्ता जमघट हुने थलो बन्यो, त्यो पुस्तकालय । र, त्यहीँ राजनीतिक कार्यक्रमहरू हुन थाले ।
पुस्तकालयका अध्यक्ष थिए, वामपन्थी नेता स्वर्गीय पदमरत्न तुलाधर । स्थानीय रुद्रमान श्रेष्ठ, ठूलोधर्म श्रेष्ठ र स्वर्गीय रामकृष्ण श्रेष्ठको पनि योगदान थियो, पुस्तकालय स्थापनामा । सन्तलाल श्रेष्ठको घर भाडामा लिएर पुस्तकालय खोलियो । प्रगतिशील विचारधाराका व्यक्तिहरूका घरमा भएका पुस्तक संकलन गरेर त्यसमा राखियो । विभिन्न सांस्कृतिक कार्यक्रमको बहानामा पुस्तकालयमा भूमिगत बैठक हुने गर्थे ।
पञ्चायती व्यवस्थामा राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो । सोही कारण भूमिगत आन्दोलन अगाडि बढाउन काठमाडौं टोखामा न्हूजः पुस्तकालय स्थापना भयो । र, त्यहीँ सांस्कृतिक कार्यक्रमको बहानामा भूमिगत बैठक हुन्थे ।
हाल पुस्तकालय रहेको भवन भने ०६५ सालमा बनेको हो । ‘इतिहासलाई जीवित राख्न हामीले नयाँ भवनमा पुस्तकालय सा–यौँ,’ पुस्तकालयका सदस्य विकास भन्छन् । नेपाल भाषामा ‘न्हूः’को अर्थ नौलो र ‘जः’ को अर्थ ‘किरण’ हुन्छ ।
०५२ सालमा माओवादीको सशस्त्र विद्रोह सुरु भयो । सरकारले संकटकाल घोषणा गरेपछि माओवादीविरुद्ध सेना परिचालन भयो । सेनाको कोपभाजनमा पर्ने त्रासका कारण पुस्तकालयमा रहेका कार्ल मार्क्स, लेनिन, माओत्सेतुङलगायत दार्शनिक र नेताहरूका पुस्तक नष्ट गर्नुपरेको विकास बताउँछन् । ‘सेनाले पक्राउ गर्ने डरले धेरै किताब जलाइए, कति जमिनमा गाडिए,’ उनी भन्छन्, ‘शान्ति प्रक्रिया सुरु भएपछि टोखाका युवा मिलेर पुस्तकालय पुनःस्थापना गरेका हौँ ।’