सुनसरी- सप्तकोशी नदीमा करेन्ट लगाएर अवैध ढंगले माछा मार्ने क्रम बढेको छ। त्यसको असर जलचरमा त पर्ने भयो, माछा मार्ने पुर्ख्यौली पेशा अपनाउँदै आएका परिवार पनि संकटमा परेका छन्।
आफ्नो पेशा नै संकटमा पर्दा साँझ-बिहान छाक टार्नै मुश्किल हुन थालेको स्थानीय मुनेश्वर भारदार बताउँछन्। भन्छन्, ‘करेन्ट र विषादी प्रयोग गरी माछा मार्दा हाम्रो पेशा संकट परेको छ। यसबारेमा कसले आवाज उठाइदिने?’
विज्ञहरूका अनुसार नेपालकै ठूलो नदी सप्तकोशीमा यसअघि १९४ प्रजातिका माछा पाइन्थे। अनियन्त्रित रूपमा माछा मार्ने क्रम नरोकिँदा अहिले कोशीको स्वादिलो भनेर चिनिने जलकपुर प्रजाति पाइनै छाडेको छ।
यसअघि केहीबेरमै नदीबाट जालमार्फत ७ देखि १० किलो माछा पर्थे। अहिले भने दिनभर जाल हान्दा पनि ३ देखि ५ किलो पनि पर्दैनन्। ‘यो संकट हो कि होइन आफैं अनुमान लगाउनूस्,’ भारदार भन्छन्।
स्थानीय प्रशासन र नियामक निकाय करेन्ट र विषादी हालेर नदीबाट माछा मार्ने प्रवृत्ति रोक्न उदासिन देखिन्छन्। जब कि, सरकारले नदीनाला, ताल तलैयामा करेन्ट लगाएर, विषादी र विस्फोटक पदार्थ प्रयोग गरी जलचरको शिकार गर्न प्रतिबन्ध लगाएको छ। सप्तकोशीमा भने दिनहुँ केही समूहले खुल्लमखुला करेन्ट लगाई माछा मारिरहेको देखिन्छ।
‘अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ। यसको अनुगमन कसले गर्ने हो?’ स्थानीय विजय शर्मा प्रश्न गर्छन्। ‘स्थानीय निकायले हो कि कसले? करेन्ट प्रयोग गरी माछा मारिँदा पनि स्थानीय निकाय बेखबर जस्तै छन्। कारण के हो?’
जलचर संरक्षण ऐन, २०१७ अनुसार नदीनाला, खोला, खोल्सी, ताल, तलैयामा प्रवेश गरी जलचरलाई क्षति पुर्याई, मार्न, बेचबिखन र ओसारपसार गर्न निषेध छ। तर, त्यो कानूनी निषेधको धज्जी उडाइएको छ, सप्तकोशी नदीमा। करेन्ट लगाएर मारिएका माछा स्थानीय बजारमा छ्यापछ्याप्ती पाइन्छन्।

जलचर विज्ञहरूका अनुसार नदीनाला, खोला, खोल्सी, ताल, तलैयाहरूमा विषादी, करेन्ट र विस्फोटक पदार्थ प्रयोग भयो भने त्यहाका रैथाने जलचरहरू मरेर लोप हुने अवस्थामा पुग्छन्। विषादी, करेन्ट र विस्फोटक पदार्थ प्रयोग गर्न हुँदैन-पाइँदैन।
खासगरी, चैत महिनापछि माछाको प्रजनन समय शुरु हुन्छ। सोही कारण हरेक वर्ष वैशाख, जेठ, असार, साउन र भदौमा माछा मार्न सरकारले प्रतिबन्ध लगाउनुपर्ने विज्ञहरू बताउँछन्।
‘प्रजननको समयमा माछा मार्न प्रतिबन्ध लगाउने हो भने नदीनाला, ताल तलैयामा जलचरको संख्या वृद्धि हुन्छ,’ स्थानीय डम्बर कार्की भन्छन्। तर, करेन्ट लगाउँदा झनै स्थानीय रैथाने माछाका भुराहरू मरेर प्रजाति नै लोप हुने अवस्थामा पुग्छन्।
भुरा र ठूला माछा करेन्टबाट बाँचे पनि प्रजनन क्षमतामा कमी आउने विज्ञहरू बताउँछन्।
जलचरले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनलाई अनुकूल बनाउन र प्रदूषणमुक्त गराउन महत्त्वपूर्ण भूमिका वहन गर्छन्। करेन्ट लगाएर र विषादी हालेर माछा मार्दा त्यो अनुकुलनमा पनि नकारात्मक असर पुग्छ।
सप्तकोशी नदीमा ७ वटा नदीहरू मिलेर बनेको देशकै ठूलो र प्रसिद्ध नदी हो। र, यो गंगा नदीको एक मुख्य सहायक नदी पनि हो।
सप्तकोशीमा जलकपुर, काँटी, शहर, ठेट, भुटा, पकासी, बुहारी, झिंगेलगायत रैथाने माछाहरू पाइन्छन्। ती माछा स्वादिला पनि हुन्छन्। अनियन्त्रित चोरी शिकारीका कारण ती माछा लोपोन्मुख बन्दै गएका छन्।
रैथाने प्रजातिकै ट्यांग्रे, काँडेवाम, असला, मिर्का, डढवा, कोतरी, गैची, कौवा, बुला, सिंगीलगायत प्रजातिका माछाहरू भेट्न-देख्न मुश्किल पर्न थालेको पुस्तौंदेखि कोशीमा माछा मार्दै आएका जलाहारीहरू बताउँछन्।
बराहक्षेत्र नगरपालिका १ का वडाध्यक्ष किसन थापा मगर भन्छन्, ‘कोशी नदीमा विषादी, करेन्ट लगाएर माछा मार्नु कानूनविपरीत हो। स्थानीय प्रशासनसँग अनुगमन गरेर रोक्ने छौं।’
सप्तकोशीमा माछा मार्न कोशीटप्पु वन्यजन्तु आरक्षबाट अनुमति लिनुपर्छ। आरक्ष क्षेत्रमा अर्ना, चरालगायत अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई मनोरञ्जन गराउने उद्देश्यले सप्तकोशी र सिमसार क्षेत्रमा बल्छीले मात्र माछा मार्न अनुमति दिने गरेको छ।
त्यसका लागि जनही दैनिक नेपाली नागरिकलाई ३००, सार्क मुलुकका पर्यटकलाई १ हजार ५०० र तेस्रो मुलुकका पर्यटकलाई ३ हजार रुपैयाँ लिइने गरेको छ। असार, साउ र भदौमा माछाको प्रजनन समय भएकाले मार्न नपाइने नियम आरक्षले लागू गरेको छ। तर, नियम उल्लंघन गर्दै अनियन्त्रित रूपमा माछा मार्ने ट्रेन्ड रोकिएको छैन।
यस्तै, पुस्तौंदेखि माछा मार्दै जीवीका चलाउँदै आएका आदिवासी मलाह (माझी) जातिका जलाहारीहरूलाई आरक्षले परिचय पत्र नै वितरण गरेको छ। उनीहरूले पनि परिचय पत्रका आधारमा बिहान ७ देखि साँझ ५ बजेसम्म मात्र माछा मार्न पाउँछन्।