भैरहवा– महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्धार हो सिद्धार्थनगर नगरपालिका। सिद्धार्थनगर प्रवेश गर्नेवित्तिकै यहाँको हरीयाली र सडकका डिभाइडरमा राखिएका बुद्धका मुर्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशको अनुभुति गराउँछ।

सिद्धार्थनगर नगरपालिका गौतम बुद्धको जन्मस्थल प्रवेश द्धारको रुपमा परिचित भइरहेता पनि बाह्य पर्यटकलाइ लुम्बिनी पुगेर मात्रै गौतमबुद्धको जन्मस्थल पुगे जस्तो लाग्ने गर्छ। यही कुरालाई मध्यनजर गर्दै नगरपालिकाद्धारा नगरलाई बुद्धमय बनाउनका लागि नगर भित्रका विभिन्न ठाँउका डिभाइडरमा करिब ७२ लाखको लागतमा १९ ओटा बुद्धका मुर्ती राखिएको छ।
जसमध्ये ४६ लाख नगरपालिकाको र बाँकी बुद्धमुर्ती संरक्षण उपभोक्ता समितिको सहयाेगमा राखिएको सिद्धार्थनगर नगरपालिकाका सुचना अधिकारी देव ज्ञवालीले जानकारी दिए।

सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सबैभन्दा पहिला स्थानिय स्तरबाट सुरु गरीएको थियो। २०७३ सालमा भैरहवा मर्निङवाक गुप्रको अगुवाइमा विश्व शान्तिको केन्द्र लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाइ सिद्धार्थनगर आउदा बुद्धनगरीको झल्को दिने गरी नगरलाई बुद्धमय बनाउने अभियान सुरु भएको थियो। विगतका दिनहरुमा यस नगरपालिकामा बुद्ध चिनारीका प्रतिकहरु न्युन मात्रामा देख्न पाइन्थ्यो तर अहिले नगरभित्र राखिएका ठुलादेखि साना बुद्ध प्रतिमाहरुले नगरलाई बुद्धमय बनाएको छ।
भैरहवाको सफा र फराकिलो ६ लेन सडक अझ सडकका डिभाइडरमा राखिएका मुर्ती आहा यो देख्दा कस्को मन लोभिँदैन होला? भैरहवालाई शान्ति भुमी र सुन्दर नगरी बनाउनुको साथै सिद्धार्थनगर बुद्धनगरी भएकोले यहाँ प्रवेश गर्ने वाह्य पर्यटकहरुले समेत यहाँबाट बुद्धको ज्ञान, उपदेश र शान्तिको सन्देश लिएर जाउन् भन्ने सिद्धार्थनगर नगरपालिकाको उदेश्य हो।
भारतबाट बेलहीया नाका हुँदै लुम्बिनी आउने विदेशी पर्यटकलाई बुद्धभूमि प्रवेश गरेको आभास दिलाउने भन्दै सिद्धार्थनगर नगरपालिकाले डण्डामा आकर्षक प्रवेशद्वार निर्माण गरिरहेको छ भने बुद्धचोक अगाडि यसअघि नै लुम्बिनी गेट निर्माण भईसकेको छ।

अहिले सडक डिभाईडरमा राखिएका बुद्धमूर्तिले बर्षेनी लुम्बिनीमा आउने बौद्ध अनुयायीमार्फत लुम्बिनीबाट शान्तिको सन्देश दिन खोजिएको नगरप्रमुख इस्तियाक अहम्मद खाँ बताँउछन्। ‘मेरो कार्यकाल अघि सुरु भएको यो अभियानलाइ मैले नगरलाइ हरीयाली बनाएर थप टेपा पुर्याउछु।’ उनी भन्छन्।
स्थानिय चुनाब भन्दा पहिले यस नगर बुद्धका भौतिक चिनारी कमै थिए। सिद्धार्थनगरमा ५ बर्ष अघि सम्म भैरहवाको बुद्धचोक बुद्धमुर्ती र देवकोटा चोकमा बुद्धको अर्धकदको सालिक र लुम्बिनी रोडमा बैद्धिक सनातन धर्म सेवा समितिले निर्माण गरेको लुम्बिनीद्धार मात्र थिए। अन्यत्र जिल्ला र बाहिरी मुलुकबाट आउने पर्यटक लुम्बिनी पुगेपछि मात्र बुद्धबारे जानकारी पाउँथे र कलात्मक बुद्धमुर्ती देख्ने गर्थे।
अहिले भने अवस्था फेरीएको छ। सिद्धार्थनगरमा प्रवेश गर्ने वित्तिकै नगरभित्र राखिएका मुर्तीले लुम्बिनी पुगेझैँ अनुभुती दिलाउछ। २०७४ सालको स्थानिय तहको निर्वाचन पश्चात नगरपालिकाले नगरभित्रका घरहरुमा बुद्ध कलर लगाउन आह्वान गर्यो। कती घरहरुमा लगाइए पनि। २०७५ साल असार देखि डण्डाखोला छेउमा बुद्धचिनारी सहितको पर्यटकीय गेट सिद्धार्थनगरले करोडौँको लगानीमा बनाएको छ। स्थलमार्ग भएर सबैभन्दा बढि पर्यटक आउने सिमा नाका बेलैयादेखि केहि भित्र रहेको डण्डापुल नजिकै पर्यटकीयद्धार निमार्ण भएको हो।
बुद्ध जन्मस्थलको नजिकै रहेकाले पनि सिद्धार्थनगर शान्तिभुमी र पर्यटकीय नगर हो। विगतमा यहाँ खासै पर्यटक लक्षित गतिबिधी हुन सकेनन्। सहज अवस्थामा बेलैया नाका हुदै लाखौँ विदेशी पर्यटक नेपाल भित्रिन्छन्। नाकाबाट आउने पर्यटकले पहिलो पाइला यस नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै स्राेत नहुँदा बुद्धभुमी आएको समेत थाहा हुँदैनथ्याे भने अहिले पर्याप्त रुपमा बुद्धचिनारीका प्रतिकहरु देख्दा पर्यटकले सहज रुपमा बुद्धभुमी प्रवेश गरेको महसुस गर्न सक्छन्।
सिद्धार्थनगरमा बस्ने स्थानियले आफ्नो नगरको परिचय दिदा म बुद्ध नगरी सिद्धार्थनगरमा बस्छु भन्न गौरवका साथ भन्न सकिने सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताए। ‘विगतमा सडकको अवस्था हेर्दा साँघुरो र पानी जम्ने गर्दा यात्रामा कठिन भएकोमा अहिले फराकिलो सडकले गर्दा गौरव गर्न लायक छ’ उनले भने।
स्थानीय बर्षा जिसीले केही वर्ष अघिसम्म बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती, साँघुरा सडक, त्यसमाथि सामान्य वर्षातमा पनि डुवान हुने समस्या रहेपनि अहिले त्यस्तो समस्या नरहेको बताउँछिन्। नगरको आन्तरिक स्रोत बलियो नहुँदा नगरपालिकाले चाहेर पनि नगरबासीको यथेष्ट समस्याहरु समाधान गर्न सकिरहेको थिएन।
तर अहिले नगरभित्र सञ्चालित आयोजनाहरुले नगरको मुहारै फेरिएको छ। फराकिला सडकले दुर्घटनाको जाेखिमसमेत घटाउँदै लगेको छ। व्यवसायीलाई व्यवसाय संचालनमा समेत निकै सहज भएको जिसीले बताइन्।
सिद्धार्थनगरका पर्यटकीय क्षेत्र
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा पर्यटन प्रबर्द्धन गर्न पर्यटकीय स्वागत गेट निर्माण गरिएको छ। सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहीया भारतीय सिमानाकासँग जोडिएको छ।
बेलहीया नाका स्थलमार्गबाट धेरै पर्यटक आउने नेपालकै प्रमुख नाका हाे। स्थलमार्ग हुँदै नेपाल भित्रने पर्यटकको लागि नेपाल प्रवेश गरेर एक किलोमिटर अगाडि बढेपछि यो गेटले स्वागत गर्दछ। नगरपालिका भित्र अर्को महत्वपूर्ण स्वागत गेट छ, त्यो हो लुम्बिनी गेट।
बेलहीयाबाट पाँच किलोमिटर उत्तरतिर आइसकेपछि लुम्बिनी गेट देख्न सकिन्छ। त्यो गेटले लुम्बिनी तर्फ जानेहरुलाई स्वागत गर्छ। नरपालिका भित्र रहेका यी दुईवटा गेट महत्वपूर्ण रहेका छन्। नरपालिका भित्र दर्खसवा पार्क अहिले सबैको मन लोभ्याउने गरी निर्माण भइसकेको छ। यहाँ आउने जो-कोहीले सेल्फी र टिकटक नबनाइ फर्किदैनन्।
वृद्ध देखि बालबालिकाहरुका लागि समेत यो पार्कले मनोरञ्जन प्रदान गर्न सक्छ। बालउद्यान सहित निर्माण भएको यो पार्क नगरको गौरवको पार्क मानिन्छ।
पार्ककै कुरा गर्दा २०७४ सालमा सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष थानेश्वर पौडेलको निकै ठूलो योगदान छ। ‘यो पार्क नदी छेउमा रहेकोले स्थानीयको गौचरण र फोहोर फाल्ने ठाउँ थियो, कडा चुनौतिको सामना गर्दै मैले निर्माणको काम अगाडि बढाएको हो।’ उनी भन्छन्।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं. ३ मा अर्को पार्क छ बुद्ध पार्क। नगरपालिकाको बिच सहरमा भएको पार्क डाइनोसर, जिराफ लगायतका जनावरको मुर्ति र विभिन्न रंगका फूलले नगरकै सौदर्यता बढाएको छ।
बिहानमा मर्निङ्वाक गर्नेदेखि साँझको समयमा घुमफिर गर्नेहरु यो पार्कमा पुगेर आनन्द लिइरहेका हुन्छन्। सिद्धार्थनगरमा बेलहीया देखि अञ्चलपुर सम्मको फराकिलो ६ लेन सडक, त्यहाँ फूलेका फूलहरु र बीच बिचमा राखिएका बुद्धका मुर्तिहरु यहाँको मुख्य आकर्षक हो।
सिक्सलेन सडकको बीच भागमा रहेका बुद्ध मुर्तिले पर्यटकहरुलाई आकर्षण गर्नुका साथै नेपाल प्रवेश गरेँ भन्ने सम्मको अनुभूति गराउँछ। नगरको मुख्य चोक चोकमा पनि बुद्धका मुर्ति छन। देवकोटा चोक भनेर नामाकरण गरिएको भएतापनि यस चोकमा पनि बुद्धको मुर्ति छ। चोकमा सबै भन्दा तल महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुर्ति छ भने माथि तिर बुद्धको मुर्ति रहेको छ।
बुद्धचोक जहाँ बुद्धकै मुर्ति राखेर नामाकरण गरिएको छ। बुद्धचोकबाट पश्चिमतिर लुम्बिनी गेट र लुम्बिनी प्रवेशद्वार छ भने उत्तर तर्फ बुटवल जाने सडक छ।
बुद्धचोकबाट पाँच किलोमिटर दक्षिणमा भारत पर्छ।