काठमाडौं – ७७ वर्षीया हिममाया श्रेष्ठ कीर्तिपुर बाहिरीगाउँकी बासिन्दा हुन् ।
उनको बिहानी कुचो लगाएर रातो माटोले दैलो लिपपोतमा बित्छ । उनकी बुहारीले त्यसमा सघाउँछिन् । सिमेन्टेड सेतो घरमा पनि दैनिक रातो माटोले दैलो पोत्न उनले माइतीबाटै सिकेकी हुन् । बिहान दैलो लिपपोत गर्दा शुभ हुने उनको विश्वास छ ।
बाहिरीगाउँका अन्य महिलाले पनि त्यसरी नै बिहानीपख दैलो पोत्छन् । ठूलो गेटबाट भित्र पसेपछि सुरु हुन्छ, कीर्तिपुरको मुख्य बजार । गेटबाट पस्नासाथ लस्करै तीन–चारतले घर छन् । मूलबजारका अधिकांश घर ढलानबाट बनेका छन् । फाट्टफुट्ट पाइने पुराना माटाका घर र ढलानका घरबीच एउटै समानता छ– रातो माटोले पोतिएका मूलढोका ।
स्थानीय बासिन्दाले थानकोटतिरबाट रातो माटो ल्याउने गर्छन्, जसको मूल्य प्रतिटिन एक सय ५० रुपैयाँसम्म पर्छ । स्थानीय सन्त महर्जनका अनुसार घरका महिला सदस्य बिरामी परे या महिनावारी भएमा पुरुषले नै दैलो पोत्छन् । आधुनिकताका बाबजुद परम्परागत संस्कार छाड्न नसकिएको उनी बताउँछन् । रातो माटो अभाव भएमा पानीले भए पनि दैलो पुछ्ने गरिएको उनको भनाइ छ ।
कीर्तिपुरमा जन्मेकी २८ वर्षीया टिना श्रेष्ठले कर्मघर भक्तपुरलाई बनाएकी छिन् । कमलविनायकस्थित कर्मघरमा पनि उनले कीर्तिपुरको संस्कार छाड्न सकेकी छैनन् । बिहान एकफेर कसिंगर बढारेपछि मूलढोका रातो माटोले पोत्छिन् । ‘घरलाई सफासुग्घर राख्ने तरिका पनि हो, यो,’ उनी भन्छिन् । संस्कृतिविद् बज्रमणि बज्राचार्यको भनाइमा दैलो पोत्नुको अर्थ घरलाई चोख्याउनु हो ।
‘रातो रङ नेपाली परम्परामा शुद्धताको प्रतीक हो,’ उनी भन्छन्, ‘यही कारण रातो माटोमा गाईको गोबर मिसाएर दैलो पोत्ने चलन थियो, पहिले ।’ उनका अनुसार नेवार र खस–आर्य परिवारमा रातो माटो र गाईको गोबरबाट दलान र ढोका पोत्ने चलन थियो । सहरमा सिमेन्टेड घर निर्माण हुन थालेपछि अहिले आधुनिक किचेनले भान्सा पोत्ने चलन पनि विस्थापित गरिसकेको छ ।
दैलो पोत्ने चलन पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँगै उपत्यकामा प्रवेश गरेको संस्कृतिविद् बज्राचार्य बताउँछन् । ‘त्यसअघि उपत्यकाका नेवार समुदायमाझ आँगनमा देवताको प्रतीकका रूपमा पिखालाखु स्थापना गर्ने चलन थियो र त्यसलाई प्राथमिकताका साथ पोत्ने गरिन्थ्यो,’ उनी भन्छन् । मूलढोकाको सीधा अघिल्तिर स्थापना गरिने गोलाकार ढुंगाको देवतालाई ‘पिखालाखु’ भनिन्छ ।