• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

थ: बहिलको प्रेमपत्र


आइतबार, साउन २४, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

थ: बहिल (ठमेल) बाट सुरू भयो सम्पदा लडाइँ लेखन। यसका पनि कारण छन्।

लेख्न थालेको डेढ दशक नाघेछ। २०५९ सालमा सुरू भएको हो मेरो लेखन यात्रा- कहिले अखबारी, कहिले पुस्तक। अखबारी लेखन मेरो पेसा हो।

पत्रकारिता सुरू गरेपछि म लेख्नकै लागि दूरदराजका ग्रामीण क्षेत्रमा पुगें। च्यापिएकाहरूको आवाज उठाएँ, पीडितहरूको पीडा बोलें।

माओवादी सशस्त्र विद्रोहले देश आक्रान्त थियो त्यति बेला। जनता दुई बन्दुकको च्यापमा पेलिएका थिए। मैले जनताको पीडा देखें, भोगाइ लेखें। त्यसैले त्यो बेलाको लेखन ‘द्वन्द्व’ बन्यो। द्वन्द्वले पारेका राम्रा, नराम्रा दुवै आयाम समेटिएको पुस्तक आयो- एम्बुसमा ६ वर्ष।

६ वर्ष दूरदराजमा सङ्घर्ष गरेपछि मेरो कार्यक्षेत्र राजधानी पर्‍यो। ललितपुर बिट बनाएर लेख्ता रमाइरहेकै थिएँ। ‘तिम्रो भाषा राम्रो रैछ’ भनेर मलाई डेस्कमा राखियो। ‘नयाँ अनुभव हुन्छ !’ मैले सहर्ष स्वीकारें। केही वर्ष कान्तिपुर डेस्कमा बसेपछि मेरो क्षेत्र ‘कोपिला’ तोकियो। बिस्तारै बालबालिकाको बीचमा पुगेर अध्ययनमा गहिरिँदै गएँ। त्यही अध्ययनले पुस्तकको रूप लियो- कर्म : सिकाइमा गहिरिएको खाडल। पुस्तकले राम्रै चर्चा बटुल्यो।

‘कोपिला’ बाट फेरि फर्किएँ रिपोर्टिङमा। ‘सबै बिट प्याक छन्। कुन बिटमा लेख्ने?’ त्यति बेलाका प्रधान सम्पादक सुधीर शर्मालाई ‘राजनीति र अपराधबाहेक अरू जुनसुकै बिटमा लेख्ने’ बताउँदै महानगर बिट छिरें। लाग्यो- यहीँभित्र कुनै बिट बनाउँछु।

सम्पदाले भरिएको राजधानी सहर। कला, संस्कृति र सभ्यताको धनी ठाउँ। महानगरबाटै छिरेर ‘सम्पदा बिट’ मा कलम चलाउन थालेपछि मेरो क्षेत्र अझ विस्तार भयो। अनेकौं विषय छन् यसमा, लेख्न भ्याइ नभ्याइ। अब मेरो मुख्य उद्देश्य नै ‘संरक्षणका लागि लेख्ने’ बन्यो।

सम्पदा राष्ट्रको चिनारी हो। सम्पदा विगतको अभिलेख, वर्तमानको यथार्थ र भविष्यको सन्मार्ग पनि हो। सम्पदा सभ्यताको सूचक हो । तत्कालीन मूल्य मान्यता र जीवन पद्धति देखाउने ऐना हो सम्पदा। समुन्नतिका प्रतीक हाम्रा सम्पदा राष्ट्रिय परिचयका संवाहक हुन्, जसले विभिन्न कालखण्डका वैभव देखाउँछन्। विविध समय र परिस्थितिका अनेक व्याख्या गर्छन्। यस अर्थमा सम्पदा भावनात्मक एकता सिर्जना गर्ने जीवित इतिहास हुन्। यिनले सामूहिक आस्था, विश्वास र मूल्य मान्यता निर्माण गर्छन्। विगतको समृद्धि देखाउने सम्पदा भविष्यको समृद्धिका आधार पनि हुन्- पुर्खाका देन, विगतका यथार्थ तस्बिर, सभ्य समाजका अभिलेख। सम्पदा जीवित इतिहास हुन्। इतिहासले सभ्यता र संस्कृतिको पहिचान दिन्छ, गौरव बोक्छ। छोटकरीमा राष्ट्र चिनाउँछन् सम्पदाले तर उपेक्षित छन् हाम्रा सम्पदा। यिनको संरक्षण भए मात्र ‘सभ्यताको पहिचान’, ‘पुर्खाको नासो’, ‘समाजको गौरव’ भनेर गर्व गरिरहन पाइन्छ ।

सम्पदा जोगाए हाम्रो समृद्धिको आधार बन्छ। समृद्धि पर्यटनको माध्यमबाट हुन सक्छ। सम्पदा जोगिए स्वदेशी-विदेशी पर्यटक आउँछन् । प्राकृतिक-सांस्कृतिक विविधता, सामाजिक रहनसहन, वास्तुकला आदिका दृष्टिकोणबाट नेपाल विश्वसामु चिनिएको छ। यही विविधताले गर्दा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाले नेपाललाई घुम्नै पर्ने मुलुकको सूचीमा समेत राख्ने गरेका छन्। सन् २०१५ मा बेलायतको ट्राभल्स म्यागजिनले नेपाललाई घुम्नै पर्ने देशको सूचीमा राखेको थियो। त्यही वर्ष विश्वका पर्यटकले रूचाएका सहरको सूचीमा नेपाल तेस्रो नम्बरमा परेको थियो।

‘काठमाडौं सम्पदै सम्पदाले भरिएको सहर’ भनेर संयुक्त राष्ट्र सङ्घीय निकाय ‘युनेस्को’ ले पनि स्वीकारेको छ। काठमाडौं उपत्यकाका सात सांस्कृतिक र उपत्यकाबाहिर एक सांस्कृतिक एवं दुई प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। त्यति मात्र होइन, युनेस्कोले म्याप अफ वल्र्ड हेरिटेजमा राखेका नौमध्ये एउटा तस्बिर भक्तपुर दरबार क्षेत्रको छ।

यस्ता महत्त्वपूर्ण सम्पदा २०७२ सालको शक्तिशाली भुइँचालोले क्षतिग्रस्त बनायो। भुइँचालोले क्षति पुर्‍याउनुअघि पनि मानवीय गतिविधिकै कारण हाम्रा सम्पदा खतरामा पर्दै आएका थिए। युनेस्कोले कोही बेला खतराको सूचीमा राख्यो भने कोही बेला सूचीमा राख्ने चेतावनी दियो। विश्व सम्पदा सूचीमा राख्ता हाम्रा सम्पदाका जे गुण थिए, जे लक्षण देखिन्थे, त्यसमा बिस्तारै ह्रास आउँदै गयो भने युनेस्कोले खतराको सूचीमा राख्छ। खतराको सूचीमा राखेर केही समय सच्चिने समय दिन्छ। त्यो समयमा पनि प्रगति भएन भने सूचीबाटै हटाइदिन्छ- ‘न रहे बाँस, न बजे बाँसुरी।’

भुइँचालोले क्षति पुर्‍याएपछि पुन:निर्माणका क्रममा धेरै ठाउँमा लापरबाही भए। बलियो बनाउने नाममा तिनका मौलिकता मासिने गरी जीर्णोद्धार र पुनर्निर्माण भए। वास्तुशिल्प नै अन्धाधुन्ध ठेक्कामा दिइयो। ‘ठेकेदारलाई नदिन’ युनेस्कोले चेतावनी दिइरह्यो तर पुरातत्त्व विभाग टेरेन, महानगरले मतलबै राखेन। त्यही भएर हामीले खबरदारी गरिरहनुपर्‍यो।

सम्पदा जोगाउन लेखेर खबरदारी गर्ने यात्रा मैले रानीपोखरीबाट तय गरेको थिएँ। रानीपोखरीमा पुरातात्त्विक मापदण्ड विपरीत काम हुँदै थिए। चुना, सुर्की जस्ता परम्परागत सामग्रीतिर मतलबै राखिएन, आधुनिक सामग्री प्रयोग गरेर निर्माण प्रारम्भ भइहाल्यो। संरक्षणको सिद्धान्तअनुसार नभएकैले मैले खबरदारी लेखन गर्नुपर्‍यो।

भौतिक सम्पदामा सांस्कृतिक र ऐतिहासिक सौन्दर्य झल्कन्छन्। यिनमा तत्कालीन ज्ञान, सिप र अनुभव समाहित भएका छन्। त्यही भएर ‘पुराना मौलिकता जोगाउनुपर्छ’ भनेर विश्वभर पहल भएको छ। संरक्षणका अनेक सिद्धान्त प्रतिपादन भएका छन्। सम्पदालाई विश्वसनीय, भरपर्दो बनाउन र संरक्षण कार्यलाई एकरूपता दिन विभिन्न समयमा अन्तर्राष्ट्रिय अधिकारपत्र जारी भएका छन्। तिनीहरूले सम्पदा संरक्षणसम्बन्धी विभिन्न ऐन कानुन, सिद्धान्त र एकरूपताका नियम निर्धारण गरेका छन्। ती अधिकारपत्रलाई विश्वसनीय र भरपर्दो बनाउन युनेस्को, विश्व सम्पदा केन्द्र, इकोमस जस्ता अन्तर्राष्ट्रिय संस्था क्रियाशील छन्। तिनीहरू विभिन्न समयमा पारित संरक्षणका दर्शन र सिद्धान्त आफ्ना सदस्य राष्ट्रलाई कार्यान्वयन गर्न सुझाव दिँदै आएका छन्।

तत्कालीन वास्तुकला अध्ययनका विविध विषय मात्र होइनन् सम्पदा, देश र जनइतिहासका सक्कली प्रमाण हुन्। राष्ट्रियताका प्रतीक हुन्। यस्ता सम्पदाको स्थायित्वका लागि गरिन्छ जीर्णोद्धार। तर, हाम्रा प्रयास कस्ता छन्? स्थायित्व दिने खालका छन् कि छैनन्? अहिलेको सन्दर्भमा भन्ने हो भने ‘छैनन्’। जीर्णोद्धारको नाममा मौलिकता र पहिचान मासिँदै छ हाम्रा सम्पदाको। अघिल्ला पुस्ताले गरेका कामलाई चिरस्थायी गर्ने प्रक्रिया हो जीर्णोद्धार। चिरस्थायी भनेको ‘जस्तो थियो त्यस्तै राख्ने’। ‘सीप, प्रविधि र निर्माण सामग्री जस्तो थियो, त्यस्तै हस्तान्तरण गर्नु’ हो संरक्षण। तर, यहाँ लुकीलुकी आधुनिक निर्माण सामग्री मिसाइयो। छलीछली सम्पदाका मूल्य मान्यता विपरीत गइयो। त्यही भएर हामी लड्नुपर्‍यो।

के हो जीर्णोद्धारको मूल्य?

सम्पदामा ऐतिहासिकता हुन्छ, पुरातात्त्विकता र प्राचीनता हुन्छन्। सौन्दर्यपूर्ण र साङ्केतिक हुन्छन् सम्पदा। वास्तुकलाका वैज्ञानिक र

प्राविधिक मूल्य हुन्छन्। तिनैलाई ‘सम्पदाको सांस्कृतिक मूल्य’ भनिन्छ। सम्पदाको अर्को मूल्य हो संवेदनशीलता। त्यसमा निहित परिचय, आश्चर्य, निरन्तरता, अलौकिकता र साङ्केतिकता आदि मूल्य मान्यताका संवेदनशीलता हुन्।

तेस्रो मूल्य हो दार्शनिकता। तार्किक, परम्परागत चिन्तन, धार्मिक संवेदनशीलता, वेष्टित धार्मिक व्यापकता जस्ता पक्ष दार्शनिक मूल्य हुन्। प्रयोग वा उपयोगको आधार सम्पदाको चौथो मूल्य हो। यसमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक अनेक पक्ष छन्। जीर्णोद्धार भनेकै सम्पदाभित्र लुकेका मूल्य एवं मान्यताहरूको संरक्षण र संवद्र्धन गर्नु हो। हामीले ती मूल्य मान्यताको सम्मान गर्नुपर्छ।

समय परिवर्तनशील छ। सम्पदाका मूल्य मान्यतामा पनि समयसँगै परिवर्तन हुन सक्छ। यसरी परिवर्तन हुँदा तिनका मूल्य मान्यतामा आँच आउन पनि सक्छ। त्यो अवस्थाप्रति सधैं सजग हुनुपर्छ हामीले। जीर्णोद्धारको सिद्धान्त र प्रक्रियाको कार्यान्वयन साह्रै होसियारीपूर्वक हुनुपर्छ सम्पदामा। ‘कार्यान्वयन’ गर्दा कतै कतै मूल्य मान्यतामा हस्तक्षेप नगरी नहुने अवस्था आउन पनि सक्छ। त्यस्तो अवस्थामा पनि न्यूनतम मात्रै हस्तक्षेप गर्नुपर्छ। प्रत्येक जीर्णोद्धार प्रक्रियाले सम्पदाको महत्त्वलाई सूक्ष्म रूपमा अध्ययन गरेको हुनुपर्छ।

जीर्णोद्धार गर्ने छुट्टै प्रक्रिया हुन्छन्। ती प्रक्रिया पूरा गर्न जीर्णोद्धार कार्यविधि तयार गर्नुपर्छ। सबैभन्दा पहिला लगत सङ्कलन गर्नुपर्छ। सम्पदाको अवस्थिति, भौगोलिक क्षेत्र, प्रयोग सामग्री, प्राचीनता, जीर्णोद्धारको इतिहास, क्षय हुने कारण जस्ता विवरण समेटेर प्रारम्भिक लगत तयार गरिन्छ। पहिलाको लगतअनुसार छ कि छैन? जीर्णोद्धार गरेपछि यसलाई परीक्षण गरिन्छ।

दोस्रो कार्यविधि हो प्रारम्भिक निरीक्षण। जीर्णोद्धार गरिने भाग वा सम्पदाको सम्पूर्ण भौतिक अवस्था, आवश्यक पर्ने सामग्रीको पूर्ण विवरण, क्षति पुगेका र पुग्न सक्ने सामग्रीको भौतिक अवस्था अध्ययन गरिन्छ। अनि मात्र संरक्षण वा जीर्णोद्धारको योजना बनाउनुपर्छ । तेस्रो कार्यविधि हो अभिलेख। अभिलेखले जीर्णोद्धारलाई सहज बनाउँछ। सम्पदा संरक्षणमा प्रमुख आधार नै मानिन्छ अभिलेखीकरण। अभिलेखका आधार भने यथार्थ विवरण, ड्रइङ, फोटोग्राफी आदि हुन्।

चौथो कार्यविधि हो जीर्णोद्धार प्रक्रियामा अपनाउनुपर्ने सतर्कता। सुरक्षा व्यवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन, जीर्णोद्धारका क्रममा हुने क्षतिको मानवीय वा संरचनागत मूल्याङ्कन र व्यवस्थापन, मौसमसम्बन्धी अध्ययन र आवश्यक सुरक्षा व्यवस्था, सुरक्षा गनुपर्ने कलात्मक एवं पुरातात्त्विक महत्त्वका सामग्रीको भण्डारण आदि धेरै पक्ष छन् यसभित्र।

यिनै अन्तर्राष्ट्रिय प्रक्रिया, कार्यविधि र मूल्य मान्यताअनुसार हाम्रा सम्पदा जीर्णोद्धार भए कि भएनन्? ‘वाचडग’ को काम गर्नु थियो मलाई। सो क्रममा सम्पदासम्बन्धी थुप्रै अनुसन्धान गर्ने मौका मिल्यो। त्यही मौकाको सदुपयोगबाट तयार भयो यो पुस्तक।

जीर्णोद्धारको नाममा स्थापित मूल्य मान्यता कुल्चिइयो धेरै ठाउँमा। त्यही भएर खबरदारी गर्नुपर्‍यो। कति ठाउँमा परम्परागत (प्राचीन) निर्माण सामग्री प्रयोग गरियो तर गलत तरिकाले। समुदायले बनाएको ठमेलको एउटा चैत्यमा प्राचीन निर्माण सामग्रीको मात्रा मिलाएर राम्रोसँग बनिरहेको सूचना पाएँ। त्यही सूचनाको आधारमा गएको थिएँ ठमेल।

ठमेल राजधानीको मुटुको रूपमा विकसित भएको छ पछिल्लो समय। खास गरी पर्यटकीय केन्द्रको रूपमा यसले आफ्नो अन्तर्राष्ट्रिय परिचय नै बनाएको छ। परापूर्वदेखि बौद्ध धर्मको केन्द्र पनि हो ठमेल। यसको उदाहरण हो विक्रमशील महाविहार।

विक्रमशील महाविहारमा सुनले लेखिएको प्रज्ञापारमिता छ। त्यसलाई आधार मान्ने हो भने उक्त विहार काठमाडौं उपत्यकाकै पुरानोमध्येमा पर्छ। प्रज्ञापारमिता र ठमेलको साइनो पुरानो छ। त्यही भएर यसबारे जानकारी लिन महाविहारका सदस्य-सचिव रहेन्द्रप्रसाद प्रधानकहाँ पुगें। प्रधानका अनुसार स्वर्ण अक्षरको प्रज्ञापारमिता स्वयम्भूको धर्मधातु महाविहारमा बसेर लेखिएको हो।

‘ग्रन्थका अन्तिम पानामा यी कुरा लेखिएका छन्,’ प्रधानले सुनाए- ‘सुरूका तीन पाना मञ्जुश्रीले कान्छी औंलाले लेखेको भनाइ छ । ग्रन्थ लेखीसक्ने कामचाहिँ मञ्जुश्रीका चेला श्रीमनले गरेका थिए।’

श्रीमन भारतको नालान्दा महाविहारका आचार्य हुन्। पढ्दापढ्दै उनी त्यहीँ पढाउन थाले। पछि त्यहीँका कुलपति भए। नालान्दा १३ औं शताब्दीमा मुस्लिम शासक खिल्जेको आक्रमणबाट नष्ट भयो। त्यहाँका महत्त्वपूर्ण ग्रन्थ र अभिलेखहरू सबै जले। ‘६ महिनासम्म धुवाँ आइरहेको थियो भन्ने इतिहासमा पढ्न पाइन्छ,’ प्रधानले सुनाए।

बुद्ध संवत् ३४४ मार्ग शुक्ल प्रतिपदाबाट प्रज्ञापारमिता लेख्न सुरू भएको बताउँछन् प्रधान। बुद्ध संवत् विक्रम संवत्भन्दा ४८७ वर्ष पुरानो छ । २५६२ पुग्यो बुद्ध संवत् अहिले। त्यसैले यो ग्रन्थ २२१६ वर्षअघि लेखिएको हो। विक्रमशील महाविहार त्योभन्दा पुरानो भएको दाबी गर्छन् प्रधान। महाविहारको स्थापना महामञ्जुश्रीले गरेको जनविश्वास छ। काठमाडौं उपत्यकाको उत्पत्ति नागदहबाट भएको मानिन्छ। यहाँ सबैभन्दा पहिला आएका विपश्वी बुद्ध नागदहको उत्तर-पश्चिमको नागार्जुनमा बसेका थिए। चैत पूर्णिमामा नागदहमा कमलको बिज रोपेर बुद्ध फर्किए तर उनले आफ्ना एक शिष्यलाई चाहिँ यहीँ छोडेका थिए।

प्रा.डा. श्रीरामप्रसाद उपाध्यायका अनुसार विपश्वी बुद्धले रोपेको बिउबाट ६ महिनापछि कमलको फूल फुल्यो। त्यही दिन स्वयम्भूको ज्योति कमलमा देखियो। ज्योतिको दर्शन गर्न बुद्ध धर्मावलम्बीहरू आउन थाले। ज्योतिको दर्शन गर्न शिखि बुद्ध, विश्वम्भु बुद्ध आएको उल्लेख गरेका छन् उपाध्यायले नेपालको प्राचीन र मध्यकालीन इतिहासमा।

त्रेता युगमा चीनबाट आएका मञ्जुश्रीले ज्योतिको दर्शन गरी आफ्नो खड्ग प्रहार गरे पोखरीको डिलमा। चोभारको कटुवाल भन्ने ठाउँबाट नागदहको पानी निकालेर उपत्यकालाई बस्न योग्य बनाए। स्वयम्भूदेखि गुह्येश्वरीसम्म नगर बन्यो। धर्माकर नाम गरेका एक क्षत्रियलाई राजा बनाएर मञ्जुश्री भने चीन फर्किए।

प्रधानका अनुसार मञ्जुश्रीले सुरूमा यही महाविहार बनाए। विहारको पुरानो नाम थँ: वहि हो। नेवारी भाषामा थँ: को अर्थ ‘थकाली’ हुन्छ। ‘ज्येष्ठ विहार भएकाले यसलाई थँ: बहि भनियो,’ प्रधान भन्छन्- ‘यही ‘थँ: बहि’ बाट अपभ्रंश भएर ठमेल भएको हो। पहिले यो नगरलाई सिंहकल्प भनिन्थ्यो।’

प्रज्ञापारमिता यो विहारमा कसरी आइपुग्यो? यसबारेको किवदन्ती बेग्लै छ। मञ्जुश्रीले चोभारको डाँडो काटेर नागदहको पानी बाहिर पठाउँदा पानीसँगै यहाँका सबै नाग पनि जाने भए। मञ्जुश्रीले नागलाई ‘नजान’ आग्रह गरी यहीँमुनि नागलोक बनाएर राखे। दक्षिणकालीको टौदहमा कर्कट नागको दरबार बनाइयो। नागलोकलाई शिक्षित बनाउन राजा र राजकुमार नालान्दा महाविहार गए। उनीहरूको आग्रहअनुसार भिक्षु श्रीमन नागलोक आएर यहाँका सबैलाई शिक्षित बनाए । त्यसबाट खुसी भएका नागराजले साटवटा टाउको भएको नाग उपहार दिए।

‘उहाँले यही महाविहारका देवता सिंहसार्थबाहु गन्धुरी भगवान्लाई दिनुभयो,’ प्रधान भन्छन्- ‘गन्धुरी भगवान् मान्छेबाट देवता भएका हुन्। उनकै विहार भएकाले अहिले पनि प्रतिमा बनाएर राखेका छौं।’ पुरानो भएर पनि यो महाविहारको प्रामाणित ऐतिहासिक तथ्य प्राप्त नभएको बताउँछन् अनुसन्धाता भागवतनरसिंह प्रधान- ‘भौतिक अवशेषले यो प्राचीन धरोहर हो भन्ने प्रमाणित गर्छ। लिच्छविकालीन अवशेष यस विहारवरिपरि छन् तर प्रामाणिक अभिलेखको अभाव छ।’

ठमेलका यस्ता ऐतिहासिक तथ्य अध्ययन गर्न म पटक पटक जान थालें। त्यही क्रममा ‘समुदायले प्राचीन निर्माण सामग्री प्रयोग गरेर चैत्य निर्माण गरिरहेको’ सूचना सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले दिएका थिए।

२०७४ माघ २४।

चैत्यको विषयमा मैले धेरै पटक लेखेको थिएँ। लेखेकै भरमा सहयोग पनि जुट्यो। तर, चैत्य निर्माण अन्तिम चरणमा पुगेपछि समस्या आइलाग्यो। त्यही समस्याबारे जानकारी लिन फेरि ठमेल गएँ। ठमेल पर्यटन उपसमितिको कार्यालयमा जम्मा भएका थिए स्थानीयवासी। जमघटलाई औपचारिक रूप दिए चैत्य निर्माण सहयोग समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले। आपसी परिचय भयो। परिचयपछि सुरू भयो आफ्ना भावना राख्ने क्रम।

‘सबैले लेखेर ल्याएका छौं। मुखैले भन्दा पनि हुन्थ्यो,’ सञ्जीवले सुनाए, ‘तै पनि लेखेरै व्यक्त गर्ने योजना बनायौं। कृपया सुनिदिनुहोला। साँच्चै भन्दै आज तपाईंलाई नै भावना सुनाउन मन छ। किनभने हाम्रा कुरा तपाईंले जति अरूले सुनेका छैनन्, लेखेका छैनन्। सुनाउन अन्त कहाँ जाऔं? कसलाई सुनाऊँ? सुनायो भने मन हल्का होला भनेर पनि यो उपाय अपानाएका हौं।’

सबैका हातमा कागज थिए- कसैसँग सिङ्गो पाना, कसैसँग साना टुक्रा वा चिर्कटा। छेउबाट पढ्न सुरू भयो। पालो आयो रमेशलाल प्रधानको। उनी कागजको चिर्कटो पढ्न थाले-

‘अशोक चैत्य परिसरभित्र रहेको इनार स्थानीयवासीका लागि २०२२-०२३ सालसम्म पानीको मुख्य स्रोत थियो। २०२४ सालमा चैत्यको पश्चिमपट्टि इनार जाने बाटो र इनारको आधा भागसमेत मिचेर घर निर्माण गरेको स्पष्ट देखिन्छ। त्यसको पुष्टि नापी विभागले पनि गरिसकेको छ।’

प्रधानकै छेउमा थिए सूर्यप्रसाद जोशी, ठमेल पर्यटन उपसमितिका अध्यक्ष। खेलाडी पनि रहेछन् जोशी। उनले आफ्नो छोटो परिचय दिए र डेढ पानामा लेखिएका आफ्ना भावना पढेर सुनाए- ‘पर्यटकीय स्थल ठमेलको मुटुमा रहेको ज्याठा ठमेल मार्गको अशोक गल्लीस्थित अशोक चैत्य अत्यन्त जीर्ण अवस्थामा थियो। कुनै पनि बेला ढल्न सक्ने सो चैत्यको पर्खाल भूकम्पले ढाल्यो। यहाँ लागु पदार्थ सेवन गर्ने जम्मा हुन्थे, फोहोर फाल्ने ठाउँ भएको थियो यो ।

युवायुवती यौनजन्य क्रियाकलाप गर्ने थलोको रूपमा समेत विकसित हुँदै गएको थियो। त्यस्तो अवस्थामाको चैत्य परिसर स्थानीयवासीको सक्रियतामा पुनर्निर्माण भयो। वरिपरि पर्खाल लाइयो, माने राखियो। यी सबैको निर्माण परम्परागत नेपाली शैलीमा भयो । यसको निर्माणले ठमेलमा एउटा पर्यटकीय स्थल थपिएको थियो।

यस्तो सामाजिक कामको कसैले विरोध गर्ने, भत्काउन खोज्ने कार्य अत्यन्त गलत छ। यसमा सबैले साथ दिई यस्तो पुरातात्त्विक ठाउँको संरक्षण गर्नु जरूरी छ। मठमन्दिर, इनार, पाटीपौवा आदिको संरक्षणमा महानगरपालिका र पुरातत्त्व विभागको मुख्य दायित्व हुनुपर्छ। अशोक चैत्यको जीर्णोद्धार पुरातत्त्व विभागको पूर्वस्वीकृति र काठमाडौं महानगरपालिकाको सहयोगमा भइरहेकोमा हाल आएर कुनै व्यक्तिद्वारा बाधाअड्चन पुर्‍याउने काम भएकोतर्फ ध्यान आकर्षण गराउँछु। जीर्णोद्धार कार्य सम्पन्न गराउन यहाँबाट सहयोगको अपेक्षा गर्छु।’

पालो आयो सूर्यप्रसाद जोशीको- ‘२०३७-०३८ तिर अशोक चैत्यको उत्तरपट्टिको बाटो खोल्दा चैत्य परिसर संरक्षणका लागि पर्खाल लगाइएको थियो। काठका दुइटा ढोका राखिए। उक्त ढोका मैले नै उपलब्ध गराएको थिएँ। पश्चिमपट्टिको इनार जाने बाटो चैत्य परिसरमै कायम रहने गरी सबैको सहमतिमा पर्खाल र ढोका लगाई उक्त बाटो बन्द गरिएको थियो।’

अब बोल्ने पालो चन्द्रकला कोइरालाको। च्यातेर सानो टुक्रा बनाइएको कागजमा लेखिएका शब्द पढ्न थालिन उनी- ‘सार्वजनिक इनार आधा मिची व्यक्तिले घर बनाएको नापी कार्यालयको प्रतिवेदनमा उल्लेख छ। सो घर निर्माण गर्दा उक्त इनार जाने बाटोसमेत मिचिएको हुँदा काठमाडौं महानगरपालिका र सम्बन्धित निकायले मिचिएको सार्वजनिक जग्गा चैत्य परिसरमा मिलान गर्न अनुरोध गर्छु।’

सञ्जीवले पनि कागजकै टुक्रामा लेखेर ल्याएका रहेछन्। उनीसँग यसअघि यही विषयमा धेरै कुराकानी भइसकेको थियो। कागजको टुक्रामा कोरिएका भावना पढेर सुनाए उनले पनि-

‘आदरणीय दामोदर न्यौपानेज्यू,

विगत ४-५ वर्षको प्रयासपछि २०७३ सालमा हामी ज्याठा टोलका स्थानीयवासी र व्यवसायीहरूको जनसहभागिता एवं पुरातत्त्व विभागको सहमति र काठमाडौं महानगरपालिकाको सहयोगमा गरिएको ज्याठा अशोक गल्लीस्थित लिच्छविकालीन अशोक चैत्य भग्नावेष स्थितिबाट पुनर्निर्माण एवं संरक्षण गरियो। यस जनसहभागिताबाट गरिएको पुरातात्त्विक चैत्यको पुनर्निर्माण एवं संरक्षण कार्यबारे कान्तिपुर राष्ट्रिय दैनिकमा लेख्नुभयो। तपाईंको लेखले हामीलाई ठूलो हौसला मिल्यो। चैत्य पुनर्निर्माण गर्न सहयोग जुट्यो। यो चैत्य मात्र होइन, भुइँचालोले भत्काएका अन्य सयौं सम्पदाका विषयमा तपाईंले आवाज उठाउनुभयो। तपाईंको लेखले जनसहभागिताको महत्त्व कति रहेछ भनेर आममान्छेलाई जानकारी मिल्यो। तपाईंकै लेखका कारण हाम्रो चैत्य पुनर्निर्माणमा धेरै सहयोगी हात जुटे। यसका लागि धेरै धेरै धन्यवाद तपाईंलाई !

तपाईंको लेखबाट उत्साहित भएर हामी पुनर्निर्माणमा जुटिरह्यौं। पुनर्निर्माण अन्तिम चरणमा पुगेको थियो। सकिनै लागेको बेला चैत्यको पश्चिमतिरका सँधियारबाट काठमाडौं महानगरपालिकामा एउटा मुद्दा दायर गरियो, जुन विषयमा तपाईं पनि जानकार हुनुहुन्छ। उक्त सँधियारले वि.सं. २०२४ मा आफ्नो घर बनाउँदा चैत्य परिसरको इनार र केही सार्वजनिक बाटो मिचेका रहेछन्। पुरानो नक्सा हेर्दा त्यो थाहा पाइन्छ। २०५६ सालदेखि चैत्य परिसरको रूपमा रहेको ठाउँबाट इनार जाने बाटोलाई व्यक्तिगत बाटो बनाउन चैत्य संरक्षणको दौरान सबै स्थानीय एवं पुरातत्त्व विभागको सहमतिमा बनाइएको पाटी भत्काउन खोजियो। यसमा उनीहरूले प्रहरी प्रशासन लाएर हाम्रो सार्वजनिक चैत्य संरक्षण गर्ने अभियानमा समस्या खडा गरे। मुद्दा लगाए। ठूलो धनराशि खर्च गरे। वकिल राखेर अनेक तर्कवितर्क गर्न लगाए। हामीले वकिल लगाएनौं। सार्वजनिक कामका लागि खर्च गर्ने हाम्रो त्यति धेरै आर्थिक स्रोत पनि थिएन। अभियानमा ठूलो धक्का लागेको बेला तपाईंको साथले संरक्षण अभियानमा ठूलो सहयोग पायौं। सहयोगले हामीलाई ऊर्जा दियो। आशा छ, यो लडाइँमा अन्तसम्म साथ दिनुहुनेछ।

हाम्रो देशमा पर्यटनको ठूलो सम्भावना छ। यहाँ हिमाल, डाँडाकाँडा, तालतलैया, छाँगाछहरा आदि अनेक प्राकृतिक सम्पदा छन्। पर्यटकलाई आकर्षित गर्न काठमाडौं उपत्यकाका पुरातात्त्विक मठमन्दिर, चैत्य, पोखरी, दरबारहरू आदि मानवनिर्मित सम्पदाले उच्च महत्त्व राख्छन्। लिच्छविकालीन, मल्लकालीन, शाहकालीन र राणाकालीन पुरातात्त्विक धरोहरको पर्यटकीय हिसाबले पनि ठूलो महत्त्व छ। तर, नियमित मर्मतसम्भारको कमी र अहिले आएर महाभूकम्पले धेरै सम्पदा भत्किए। धेरैजसो अझै भग्नावशेषका अवस्थामा छन्। अहिले आएर केही सम्पदा पुनर्निर्माण भइकेका छन् तर सही तरिकाले भएका छैनन्। पुरातात्त्विक मापदण्ड विपरीत भइरहेका छन् । सम्पदाको मूल्य मान्यता विपरीत भइरहेका छन्। यसका विरूद्ध पनि तपाईं सशक्त रूपमा उभिनुभयो। निडर भएर कलम चलाउनुभयो । तपाईंले रानीपोखरी, बागदरबार, काष्ठमण्डप, पशुपति, बौद्धनाथ लगायत धरोहरहरूको बारेमा लेख लेखी सम्बन्धित निकायलाई सचेत गराउनुभयो।

पुरातात्त्विक निर्माणबारे आमजनतालाई जानकारी दिनुभयो। यसमा अन्तरआत्मादेखि खुसी व्यक्त गर्छु। तपाईंलाई हार्दिक धन्यवाद दिन्छु। अन्तमा, हाम्रा पुरातात्त्विक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षणमा यहाँले पुर्‍याउनुभएको योगदानको हामी ठमेलवासी उच्च कदर गर्छौं। सम्पदा संरक्षणमा यहाँको यो प्रयास निरन्तर रहिरहोस्। आशा छ, हाम्रो लडाइँमा यहाँले अन्त्यसम्म नै साथ दिनुहुनेछ।’

धेरै थिए जम्मा भएका। सबैले पढ्दा अबेला हुने भयो। मैले सबैसँग एकएक गर्दै कागज लिएँ। हतारमै थिएँ तापनि ‘अब यी सबै भावना पुस्तकमा समेट्छु’ भनेर सोचिसकेको थिएँ। जसरी पनि पुरातत्त्वको महत्त्व आमनागरिकलाई बुझाउनु छ मलाई। महत्त्व बुझाउने मात्रै होइन, यसलाई जोगाउनका लागि हुटहुटी जगाउने बनाउनु छ। पुरातत्त्वको चासो मानव समाजसँग हुन्छ भनेर महसुस गराउनु छ।

पुरातत्त्वले विगतमा मानवले छाडेर गएको अवेशषको खोज गर्छ, अन्वेषण गर्छ। परीक्षण र मूल्याङ्कनपश्चात् तत्कालीन मानव संस्कृति पत्ता लगाउने काम गर्छ। पुरातत्त्व विगतसँग सम्बन्धित छ। विगतमा मानवको बसोबास पत्ता लाउने, तिनीहरूको सही अन्वेषण गर्ने, आवश्यकताअनुसार उत्खनन गर्ने जस्ता काम पुरातत्त्वको हो। प्राप्त सामग्रीको अध्ययन, व्याख्या र विश्लेषण गरी मानव संस्कृति पत्ता लाउने प्रक्रिया आमपाठकलाई जानकारी दिनुछ मलाई।

अशोक चैत्यमा पुरातात्त्विक अध्ययन भए। अध्ययनबाट केही तथ्य पनि पत्ता लागे। पुरातत्त्वविद्ले दिएको सुझाव र नक्साबमोजिम जीर्णोद्धार प्रक्रिया अघि बढ्यो। कुनै पनि सम्पदाका निर्माता त्यही समुदायका पूर्वज हुन्। पूर्वजको नासो जोगाउने दायित्व पनि समुदायकै हो। जहाँ समुदायले पुरातत्त्वको महत्त्व बुझेको छ, त्यहाँ संरक्षण भएका छन्। जहाँ संरक्षणको महत्त्व बुझाइएको छैन, त्यहाँका सम्पदा नाशिएका छन्। ठमेलमा समुदायले चासो दियो, अनि लिच्छविकालीन चैत्य जोगाउन समुदाय उठ्यो। तर, समुदायले चासो दिएको ठाउँमा सरकारी निकायकै कारण अप्ठ्यारो बेहोर्नुपर्‍यो। त्यही अप्ठ्यारोले उब्जाएका आआफ्ना भावना मलाई लेखेर दिएका थिए ठमेलवासीले। मैले पनि स्थानीयवासीका भावना पोखिएका ठमेलका चिठीबाटै पुस्तकको घुम्टो उघार्ने निधो गरें।

(लेखक तथा पत्रकार न्यौपानेको पुस्तक सम्पदा लडाइँबाट)

आइतबार, साउन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.