काठमाडौं- कोभिड-१९ महामारी फैलिएसँगै विश्वभर औषधिको आवश्यकता बढेको छ। सामान्य रोगमा पनि सावधानी अपनाउनुपर्ने भएपछि सुरक्षित हुनका लागि औषधि सेवन अनिवार्य भएको छ। भ्याक्सिन उपलब्ध नहुँदाको पहिलो लहरमा मास्क, सेनिटाइजरसँगै केही औषधिको पनि अभाव भएको थियो।
कोरोना संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले ११ चैत ०७६ बाट लकडाउनको घोषणा गरेको थियो। अत्यावश्यकबाहेक अन्य सेवा ठप्प गरिए। औषधिको आपूर्ति पनि बढाइयो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ११ चैत ०७६ देखि २८ साउन ०७७ सम्मको अवधिमा नेपालमा दुई अर्ब ८२ करोड ५५ लाख ८० हजार रुपैयाँबराबरको औषधिका कच्चापदार्थ आयात गरिएको थियो। सो अवधिमा तयारी औषधि भने आठ अर्ब ६१ करोड ५८ लाख ६ हजार रुपैयाँबराबरको आयात भयो।
महामारीसँगै औषधिको आवश्यकता, माग र आपूर्ति बढ्नु स्वाभाविक हो। तर, महामारीको बहानामा फर्जी कागजात बनाई मागभन्दा बढी औषधि निर्यात भइरहेको घटना सार्वजनिक भएको छ।
औषधि कम्पनीका बजार प्रतिनिधि (एमआर)हरूले आफूलाई दिइएको टार्गेट पूरा गर्न कागजात तोडमोड गर्ने गरेको पाइएको हो। अमेरिकी फर्मास्युटिकल कम्पनी एबोटका एमआरले उक्त कम्पनीले उत्पादन गरेको एक औषधि मागभन्दा दोब्बर मगाएका हुन्, जुन गर्भपतन वा गर्भ नबस्ने समस्या हुँदा सेवन गरिने औषधि हो।
सिनर्जी ओभरसिजले वितरण गर्ने एबोटको उक्त औषधिमा यस्तो फर्जी काम भएको हो। पोखरास्थित प्रनिशा फर्माले एक बक्सा औषधि मगाउँदा सिनर्जीले दुई बक्सा पठाएको थियो। मागभन्दा बढी आएको गुनासो गर्न प्रनिशाले सम्पर्क गर्दा सिनर्जीले दुई बक्सा नै मगाएको चिठी देखाएको थियो।
प्रनिशा फर्माले एक बक्सा मगाएको लेटरहेडसहितको माग फारम एमआरले फर्जी गरी दुईवटा बनाएका थिए। टार्गेट बढेपछि एमआरहरूले जथाभावी मागफारममा खेलबाड गर्ने गरेका छन्। नेपालमा एबोटका वितरक फर्माकेम वीरगञ्ज र सिनर्जी ओभरसिज हुन्।
आफूले मगाएको भन्दा बढी औषधि आउनु नौलो कुरा नभएको पनि केही औषधि व्यापारीहरू बताउँछन्। कुनै औषधि मगाएपछि कति आउँछ भनेर औषधि आएपछि मात्र थाहा हुने उनीहरूको भनाइ छ। फर्माकेमबाट औषधि मगाउँदा कम्पनीको सेल्स टिमले उनीहरूको टार्गेटअनुसार मनखुशी औषधि पठाएर बिलिङ गर्ने गरेको उनीहरूले बताए।
यस विषयमा प्रतिक्रिया माग्दा प्रनिशा फर्माले भने सिनर्जीसँग औषधि मगाउन छाडिसकेको बताएको छ। पहिले सिनर्जीबाट औषधि मगाउने गरेको भए पनि केही समययता सिनर्जीसँग कारोबार नभएको प्रनिशा फर्माका पोष्टराज ढकालले बताए।
सिनर्जी र फर्माकेमका प्रतिनिधिसँग सम्पर्क गर्दा उनीहरूले भने आफूहरूलाई आधिकारिक लेटरहेडमार्फत् जति औषधि मगाइएको छ, त्यति मात्र पठाउने गरेको बताए। लेटरहेडमै केही छेडखानी भएको बारेमा भने आफूहरूलाई जानकारी नहुने उनीहरूको भनाइ छ।
एबोटको इतिहास हेर्दा फर्जी काम नगर्ला भन्न सकिन्न। यसअघि पनि एबोटले औषधिको व्यापार बढाउन अवैध कार्य गरेको पुष्टी हुँदा ठूलो जरिवाना तिर्नुका साथै कारवाहीमा पनि परेको थियो। सन् २०१२ मा एबोटले अवैध ढंगबाट ‘डेपकोट’ नामक औषधिको बिक्री बढाउने धन्दा गरेको भन्दै अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले एक अर्ब ५० करोड अमेरिकी डलर अर्थात् एक खर्ब ७८ अर्ब ८५ करोड नेपाली रुपैयाँभन्दा बढी। यो कुनै पनि औषधि कम्पनीले तिरेको दोस्रो बढी जरिवाना हो।
त्यसैले, औषधिको बिक्री बढाउन अवैध कार्य गर्दै अमेरिकामा कीर्तिमानी जरिवाना तिरेको एबोटले तुलनात्मक रूपमा कमजोर अनुगमन र नियमन भएको नेपालमा पनि अवैध ढंगबाट व्यापार गरेको छैन भन्न सकिन्न। औषधि व्यवस्था विभागलगायत अन्य सरोकारवालाहरूले अनुगमन गरे मात्र यकिन विवरण आउनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गर्ने आपूर्तिको तथ्यांकले पनि नेपालमा औषधिको आपूर्ति बढिरहेको संकेत गर्छ। औषधिको कच्चा पदार्थको आयातमा भने कोरोना भाइरसको प्रकोप बढेसँगै मास्क, सेनिटाइजरलगायत स्वास्थ्यजन्य वस्तुसँगै औषधिको उत्पादनमा आत्मनिर्भरता बढाउन बढी मात्रामा आयात गरिएको हो।
गत वर्ष वैशाखदेखि जेठसम्ममा एक अर्ब २० करोड ८८ लाख ६० हजार रुपैयाँको औषधिको कच्चा पदार्थ आयात गरिएको थियो भने यस वर्ष वैशाख १६ देखि जेठसम्ममा एक अर्ब ८२ करोड ८६ लाख हाराहारीको कच्चा पदार्थ आयात भएको छ।
तयारी औषधिको आयात भने गत वर्षभन्दा दोब्बर वृद्धि भएको छ। वैशाख ०७७ देखि जेठसम्म दुई महिनाको अवधिमा तीन अर्ब ८८ करोड २८ लाख ७७ हजार रुपैयाँको तयारी औषधि आपूर्ति भएको थियो।
तर, १६ वैशाख ०७८ देखि जेठ अन्तिमसम्म डेढ महिनाको अवधिमा भने पाँच अर्ब ५४ करोड ४१ लाख रुपैयाँभन्दा बढीको तयारी औषधि आएको छ। गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर तयारी औषधि आयात भएको मन्त्रालयको तथ्यांकले देखाएको छ।
महामारीको बहानामा औषधि कम्पनीहरूले नेपाललाई औषधिको ‘डम्पिङ साइट’ बनाउने खतरा छ। उत्पादक कम्पनीले दिएको टार्गेट पूरा गर्न वितरक र एमआरहरूले व्यापारीलाई मारमा पारिरहेका छन्।
स्वास्थ्य संकटको समयमा औषधि तथा स्वास्थ्य सामग्री आयातकर्ता तथा वितरकहरूको अनुगमन भइरहेको छैन। तर, एकै समयमा गत वर्षभन्दा यो वर्ष झण्डै दोब्बर तयारी औषधि आयात हुनुले सबैलाई शंकाको घेरामा पारेको छ। र, जुन कम्पनीमाथि यो आरोप लागेको छ, त्यसको इतिहासले झन् यो शंकालाई थप बल प्रदान गरेको छ।
एक वर्षकै समयमा नेपालमा औषधिको माग दोब्बर बढेको हो त? कि अनुगमन नभएको फाइदा उठाउँदै टार्गेट पूरा गर्नका लागि व्यापारीहरूलाई मारमा पारिएको हो? यो त अनुगमन भएपछि मात्र थाहा होला!