दामोदर न्यौपाने

‘पत्रकारिताको शक्ति’ बारे विश्व प्रसिद्ध शासक नेपोलियन बोनापार्टको भनाइ सम्झने गरिन्छ। विश्व विजय गर्ने सपना बोकेका फ्रान्सका शासक बोनापार्टले भनेका थिए- ‘संसारमा दुइटा शक्ति छन्। एउटा कलम, अर्को तरबार। अन्तिममा तरबारमाथि कलमको विजय हुन्छ।’
कलमको शक्ति बुद्धिको प्रवाह हो, विवेकपूर्ण ज्ञानको लहर। कलमको शक्ति दुई रूपमा प्रवाह हुन्छ- पत्रकारिता लेखन र साहित्य लेखन।
साहित्यभन्दा पत्रकारिता लेखनले अझ प्रभावकारी तरिकाले प्रवाह गर्न सक्छ ज्ञान, बुद्धि र विवेक। तर, गरिरहेको छ त? यो पेचिलो प्रश्न हो।
पत्रकारिताले समाजमा घटेका घटना प्रकाशित गर्छ; प्रसारण गर्छ। त्यति मात्र होइन, त्यसभित्र लुकेका रहस्य पनि बाहिर ल्याउँछ। ती रहस्य पढेर पाठकमा सूचना, ज्ञान, विवेक र बुद्धि प्रवाह हुन्छ। यो प्रवाहले एक प्रकारको जनमत सिर्जना गर्छ।
पत्रकारले घटनाको सूचना दिएर मात्र हुँदैन। त्यसपछाडि लुकेका रहस्य बाहिर ल्याएर समाजलाई निश्चित दिशा दिने सोच हुनुपर्छ। त्यो दिशाले समाज विकासमा प्रोत्साहन गर्नुपर्छ। समाज विकसित गराउने सोच भनेको राष्ट्र विकसित गराउने विचार हो। राष्ट्र विकसित गराउने विचार भनेको देशभक्तिलाई प्रोत्साहन गर्ने चिन्तन हो। यसले सिंगो देशलाई सबल बनाउँछ।
यस्तो वातावरण सिर्जना गर्न पत्रकारिताका गुण थाहा पाउनुपर्छ। सत्य र तथ्यको प्रकाशन गर्नु पत्रकारिताको पहिलो गुण हो। समाज, प्रकृति, जीवजगत वा जुनसुकै स्थानमा हुने घटना, मानवीय व्यवहार, मानव समाजमा भएका यथार्थ उजागर गर्नु पत्रकारिताको पहिलो काम हो। यस्ता विषय सत्य, तथ्यमा आधारित हुनुपर्छ। अनि मात्र जनताले विश्वास गर्छन्। जनताको विश्वास जितिएन भने त्यस्तो भुत्ते लेखनको कुनै अर्थ हुँदैन।
पत्रकारिताको दोस्रो गुण हो प्रभाव पार्ने क्षमता। प्रकाशन वा प्रसारण भएका सामग्री सत्यमा आधिरत भएनन् भने जनताले पत्याउँदैनन्।
जनपत्यार नभएपछि त्यसको प्रभाव शून्य हुन्छ, कहिलेकाहीँ त ऋणात्मक पनि। निरन्तर सत्य, तथ्यमा आधारित खोजमूलक पत्रकारिता गरियो भने त्यसलाई अदालतले पनि प्रमाणका रूपमा ग्रहण गर्छ। अदालतले ग्रहण गर्नु भनेको सामाजिक न्यायप्रतिको मार्गदर्शन हो। यसले सामाजिक धारणा बुझ्न मद्दत गर्छ।
कुरीति वा कुप्रथा नियन्त्रण गर्न पनि सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्न सक्छ। हाम्रो समाज बोक्सी, छाउपडी, धामीझाँक्रीजस्ता अनेक प्रथा र परम्पराले जकडिएको छ। त्यस विरूद्ध जनमत सिर्जना गर्न पत्रकारिता सशक्त माध्यम हो। युगअनुसार नयाँ सोच ल्याउने र समाजलाई नयाँ परिपाटीमा ढाल्ने क्षमता हुन्छ सञ्चार जगतमा।
सामाजिकीकरणको पनि सशक्त माध्यम हो सञ्चार जगत। सञ्चार माध्यमबाट ज्ञानविज्ञानका सामग्री प्रकाशन, प्रसारण हुन्छन्। कला, साहित्य, संस्कृतिका विविध पक्षको जानकारी प्रवाह गरिन्छन्। पत्रिकामा लेखिने भाषा पाठकले अनुसरण गर्छन्। टेलिभिजन, रेडियोमा बोलिने भाषाले पाठकमा प्रत्यक्ष प्रभाव पर्छ। एकै पटक लाखौंलाख पाठक, दर्शकलाई पढाइरहेका हुन्छन् सञ्चार माध्यमले। नयाँ शब्द र उन्नत ज्ञान सिकाइरहेका हुन्छन्, उच्चारण कला र अभिव्यक्तिको शैलीसहित।
आपराधिक प्रवृत्ति निरूत्साहित गर्ने गुण पनि हुन्छ पत्रकारितामा। समाजमा अपराध हुन्छन्। अपराध हुन्छ भनेरै अपराध रोक्ने कानून बनेका हुन्छन्। कानून कार्यान्वयन गर्न संयन्त्र बनेका हुन्छन्। कस्तो अपराध गर्दा कस्तो सजाय हुन्छ? त्यसको खोजी गरेर लेख्ने गरियो भने अपराध नगर्न सचेत हुन्छ मान्छे। समाजलाई सजग गराउने यस्तो शक्ति हुन्छ पत्रकारितामा।
समाज अगि बढ्न शान्ति मुख्य सर्त हो। समाजमा शान्ति कायम गराउन सरकारलाई झकझक्याउन सक्छ पत्रकारिताले। मानव अधिकार र लोकतन्त्रको रक्षक पनि हो पत्रकारिता। २०६२-६३ सालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताले खेलेको भूमिका स्मरणीय छ। त्यति बेला कान्तिपुरलाई आठौं दलको संज्ञा नै दिइएको थियो। पत्रकार महासङ्घ आन्दोलनको अग्रमोर्चामा रह्यो।
वाक् स्वतन्त्रता लोकतन्त्रको प्राण हो। अन्तरात्माबाट उठेका आवाज अभिव्यक्त गर्न पाउनुपर्छ मान्छेले। हृदयको आवाज अभिव्यक्त गर्न पाउनु अधिकार हो भन्ने मान्यता प्रेस जगतको हुन्छ। त्यही भएर प्रेस जगतलाई देशको चौथो अङ्ग भनिएको। देशमा प्रजातन्त्र छ कि छैन भनेर मूल्याङ्कन गर्न स्वतन्त्र र निर्भीक पत्रकारिता छ कि छैन भनेर हेर्ने गरिन्छ।
राज्यको सहयोगी पनि हो पत्रकारिता। भ्रष्टाचारको विषय सार्वजनिक गरिदियो भने सुशासन कायम गर्न सहयोग पुग्छ। कालाबजारी, तस्करी, हत्या, बलात्कार जस्ता अपराध विरूद्धका सूचना बाहिर आउँछन्। यसले कस्तो असर गरेको छ? त्यसबारे विवेचना गर्छ पत्रकारिताले। यी समस्या समाधान गर्न नयाँ कानून आवश्यक छ वा भएकै कानूनको प्रभावकारी कार्यान्वयनबाट नियन्त्रण गर्न सकिन्छ?
यस्ता विषय उठाइदिएर पत्रकारिताले कानून बनाउन वा भएका कानून कार्यान्वयन गर्न प्रोत्साहित गर्छ। कला, संस्कृति, सम्पदा संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ पत्रकारिताले। सञ्चार जगतले सम्पदाका अनेक क्षेत्रमा लेखिएका लेख, रचना, अन्तरवार्तामार्फत जनविश्वास, धर्म, कला, साहित्य, संस्कृति र परम्परा जोगाउने, परिष्कार गर्ने दिशामा समाजलाई पथप्रदर्शन गर्ने शक्ति राख्छ।
पत्रकारले सङ्कलन गर्ने विभिन्न विषयका तथ्याङ्क, विकास निर्माणको अवस्था आदिले देशको समग्र विकासमा उच्च भूमिका खेल्छ। समाज विकासका पनि उत्प्रेरक हुन् सञ्चार माध्यम।
देशप्रति हरेक नागरिकको जिम्मेवारी छ। हरेक नागरिकले देशप्रति जवाफदेही हुनुपर्छ। देशप्रति आफ्नो कर्तव्य बोध गराएर देशभक्तिको आधार खडा गर्छ पत्रकारिताले, नागरिक अधिकारमा जागरुक गराउँछ। त्यसैले देशभक्तिमा समर्पित नागरिक शिक्षाको अभियान चलाइरहन्छन् सञ्चार माध्यमहरू।
यस्तो गहिराइ छ पत्रकारिताको। यति धेरै गुण छन् सञ्चार जगतका। यस्तो गुणस्तरीय क्षेत्रमाथि बेला बेला टीकाटिप्पणी पनि भइरहन्छ। सबैभन्दा धेरै हुने टिप्पणी हो- ‘पत्रकार भ्रष्ट भए। सम्पादकीय नेतृत्वले कोहीलाई काखा र कोहीलाई पाखा पारे। योग्य र इमानदार पछि पारिए।’ यस्ता अनेक गुनासा सुनिन्छन् सञ्चार क्षेत्रमा। भ्रष्टाचारी, तस्कर, कालाबजारी गर्ने अपराधीसँग उपहार लिने पत्रकार पनि धेरै भए बजारमा। उपहार लिएर तिनका गैरकानूनी, असामाजिक र अमानवीय गतिविधि ढाकछोप गरी समाचार लेख्ने प्रवृत्ति पनि बढ्यो। यसले पत्रकारितलाई बदनाम गराएको छ।
आफ्नो काम परिरहने क्षेत्र शिक्षा, स्वास्थ्य, समाजसेवामा नकारात्मकता पैmलाएर लेखिदिन्छु भनी धम्की दिने, अरुलाई भयभीत बनाएर फाइदा लिन सजिलो हुने तरिकाले पत्रकारिताको दुरूपयोग गर्ने प्रवृत्ति बढ्दो छ। पत्रकारहरू अहम् देखाउँछन्, दम्भ प्रदर्शन गर्छन्। हुनेखानेलाई ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति छ तिनमा।
राम्रो काम गर्ने नभएका होइनन् समाजमा तर सकारात्मक सोच भएकालाई प्रोत्साहन गरिँदैन, समाचार बनाइँदैन। समाचार बनाउनै परे केही लाभ लिएर बनाउने प्रवृत्ति मौलाएको छ। यस्तै प्रवृत्तिले हो पत्रकारितलाई बदनाम बनाएको।
तोडमोड गरेर सामाचार बनाउने प्रवृत्ति मौलाउनु अर्को समस्या हो। झुक्किने किसिमको शीर्षक राख्ने प्रवृत्ति झन् चर्को समस्या हो। शीर्षक एउटा हुन्छ तर पेटबोलीमा अर्कै। यस्ता समाचारले आमपाठकमा विश्वास घट्छ।
पत्रकार दलका कार्यकर्ता हुनु पत्रकारिताका लागि अर्को चुनौती हो। आफ्नो दलले गरेको सबै ठिक, अर्कोले गरेका सबै गलत भन्ने प्रवृत्ति मौलाएका छन्। पत्रकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले त शपथै खुवाए। यस्तो प्रवृत्तिले पत्रकारिताको नुर गिरेको छ, व्यावसायिकतामा धक्का लागेको छ।
उल्लिखित प्रवृत्तिले साह्रै दिग्दार बनाउँछन् मलाई। कति ठाउँमा त पत्रकार हुँ भनेर परिचय नै दिन्नँ। दुइटा परिचय बनेका छन् अहिले। पत्रकारिता अपहेलित हुने ठाउँमा आफूलाई ‘लेखक’ भन्न पाएको छु। पत्रकारितामा उठाउन नपाएका विषय पुस्तकमा उठाएको छु।
मैले पत्रकार महासङ्घको स्थापना दिवसमा हुने औपचारिक कार्यक्रममा नगई आफ्नै तरिकाले विशेष वर्गमा गएर मनाउँछु भन्नुको कारण पत्रकारिता बदनाम हुँदै गएकोमा पोखिएको दिग्दारी हो।
‘पत्रकारिता सतही भयो, विषयको गहिराइमा पुग्नै छाडे पत्रकारहरू भन्ने आरोप छ।’ दोस्रो पुस्तक कर्म विमोचनका अवसरमा नेपाल पत्रकार महासङ्घका तत्कालीन अध्यक्ष महेन्द्र विष्टले मेरो हौसला बढाइदिएका थिए- ‘पत्रकार विषयको गहिराइमा पुग्दैनन्, सतही हुन्छन् भन्ने आरोपको यो पुस्तकले खण्डन गरिदिएको छ।’
सत्य खोज्न तथ्य बुझ्नुपर्छ। तथ्य बुझ्न गहिराइमा। विषयको गहिराइमा त्यत्तिकै पुगिँदैन, धेरै मेहनत गर्नुपर्छ। व्यावसायिक क्षमता चाहिन्छ, शैक्षिक योग्यता हुनुपर्छ। समसायिक विषयमा तालिम लिइरहनुपर्छ। कर्तव्यनिष्ठ हुनुपर्छ, उत्तिकै जुझारू पनि। लोभी, भ्रष्ट र निकम्मापनले विषयको गहिराइमा पुग्ने क्षमता राख्तैन। उल्टै पत्रकारिताकै बदनाम गराइदिन्छन् त्यस्ता पत्रकारले।

धैर्य चाहिन्छ। गम्भीरता हुनुपर्छ। धीरता र गम्भीरता नभएको व्यक्ति विषयको गहिराइमा पुग्नै सक्दैन। मेरो निष्ठा पत्रकारिताप्रति हो। समाज परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासकै आधारमा म विषय उठाउने गर्छु। म पत्रकारिताका लागि सूचना सङ्कलन गर्छु; अध्ययन गर्छु, अनि लेख्छु। सबै विषय पत्रकारितामा अटाउँदैनन्। कहीँ ठाउँका कारण अटाउँदैनन्, कतै डेस्कको प्राथामिकतामा नपरेर अटाउँदैनन्, कहिलेकाहीँ सम्पादकको प्राथमिकतामा नपरेर अटाउँदैनन्। पत्रकारितामा अटाउन नसक्ने विषय नै म पुस्तकमा उठाउँछु।
मैले पत्रकारितामा उठाउन नसकेको विषय हो बालश्रम। पत्रकारितमा बिटै नपरेर उठाउन नसकेको बालश्रम लिपिबद्ध गर्न चाहेको हुँ पुस्तकमा। बिटै परे पनि बालबालिका, अझ सीमान्तकृत बालबालिकाका कथा सञ्चार माध्यमका लागि उपयुक्त हुन्थे कि हुँदैनथे? म असमञ्जसमा छु। किनभने कुनै पनि पत्रिकाको नेतृत्वमा छैन म। नेतृत्वमा हुने हो भने सीमान्तकृत वर्ग मेरो प्राथमिकतामा पर्थे पर्थे। यो मेरो घोषणा हो।
बालश्रम अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको छ। नेपालको संविधानले निषेध गरेको छ। बालबालिकासम्बन्धी ऐन, नियमहरूले निषेध गरेको छ। तर, सर्वत्र निषेधित बालश्रम व्यवहारमा भने हटेको छैन। सडकबाट हटायो, होटेलमा भेटिन्छ। होटेलबाट हटायो, कारखानामा देखिन्छ। कारखानाबाट हटायो, घरमा देखिन्छ।
देश दौडाहा
कर्म सार्वजनिक भएपछि पाठकसँग अन्तरक्रिया गर्न देश दौडाहामा निस्किएँ। त्यो दौडाहा पनि बाल श्रमिकमै केन्द्रित थियो। विभिन्न कोणबाट कुराकानी गरिरहें। कहीँ बाल श्रमिक भेटें। कहिले बालश्रम हटाउन खटिरहेका अभियन्ता भेटें। कोही बेला आफैं श्रमिक भएका तर अहिले विभिन्न क्षेत्रमा सम्मानजनक काम गरिरहेका व्यक्ति भेटें।
धेरै समस्या हाम्रै वरिपरि छन् तर हामीले देखेका छैनौं। कतिचाहिँ देखेर पनि वास्ता गरेका रहेनछौं। सबैभन्दा धेरै श्रमिक मैले काठमाडौंमै भेटें। हाम्रा बस्तीवरिपरिकै झ्याउलीमा भेटें। टोल टोलमा भेटें, गल्ली गल्लीमा भेटें। तिनीहरूलाई भेट्तै, बुझ्दै जाँदा लाग्यो- यिनीहरू दास जीवन जिउन बाध्य छन्। मालिकहरू बाल श्रमिकलाई दासको व्यवहार गरिरहेछन्।
त्यही झ्याउली घुम्ने क्रममा विशेष दिन मनाउने यात्रा भक्तपुर च्यामसिङतिर बढाएको थिएँ। बिहानैदेखि आकाश धुम्म थियो कति बेला पानी झर्ला जस्तो। सानोठिमीबाट हिँड्यौं प्रिय मञ्जु र म।
गट्ठाघर नपुग्दै पानी दर्किन थाल्यो, रेन कोटले पनि नधान्ने गरी। भिज्दै जगातीको भक्तपुर इँटा कारखानातिर सोझियौं। दास जीवन बिताइरहेका बाल श्रमिकका कथाव्यथा बुझ्ने यात्रा यही भट्टावरिपरिका झ्याउलीबाट सुरू भएको थियो। मञ्जुलाई घर फर्काएर म झ्याउलीभित्र छिरें।
(पत्रकार तथा लेखक न्यौपानेको हालै बजारमा आएको पुस्तक ‘दास प्रथाको नयाँ रूप’बाट)