• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आमाबुबाको बिहेको ऋण तिर्न ……


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

झ्याउलीभित्र अनेक कथा छन्। त्यही खोतल्न छिरेको छु म। एउटा नाटक हेर्न जाँदा थाहा पाएका कथाले मलाई झ्याउलीतिर डोर्‍याएको थियो खासमा।

काठमाडौं बत्तीसपुतलीको शिल्पी थिएटरमा १२ जना बाल श्रमिकसँग भेट भएको थियो- २०७३ भदौ २९ गते। इँटा भट्टामै काम गर्ने तिनीहरु आफ्नै जीवन कहानीमा आधारित नाटक देखाउन जम्मा भएका थिए। त्यही हेर्न गएको बेला सामान्य जानकारी लिएको थिएँ सबैको। अनेकका अनेक कथा थिए। सबैका कथा मन छुने। तीमध्ये एक बालकको कथाले मेरो मन-मस्तिष्क नै हल्लाएको थियो।

बिहे गर्दा ९ हजार रूपैयाँ ऋण लागेको थियो बुबालाई। त्यही ऋण तिर्न बुबाले जीवनभर श्रम गरे। अझै गरिरहेछन्। बुबा मात्र होइन, छोराछोरीसमेत श्रम गरिरहेका थिए।

कहानी हो रामेछापका बालक सागर मानन्धरको, जो बुबा र आमाको बिहेको ऋण तिर्न श्रमिक जीवन बिताइरहेका थिए। मलाई उनको कहानी सुन्नु थियो। उनी जन्मे, हुर्केको परिवेश अनि अहिले काम गर्ने परिवेश बुझ्नु थियो। पारिवारिक अवस्था बुझ्नु थियो। त्यही भएर उनी बसेकै झ्याउलीमा छिरेको थिएँ।

चतुरबहादुर मानन्धर र सानुमायाका चार छोराछोरीमध्ये जेठा सागरलाई मैले शिल्पीमै भेटेको थिएँ पहिलो पल्ट।

नवौं कक्षामा पढ्ने सागर जगातीको भट्टामा काम गर्थे। बिहान भट्टामा काम गर्थे, दिउँसो स्कुल जान्थे। चौथो कक्षामा पढ्ने भाइ पनि साथमै थिए। सिपाडोलको गणेश माविमा पढ्थे उनीहरु।

गणेश मावि आउनुअघि भाइलाई गाउँकै कृष्णपुरी उच्च माविमा शिशु कक्षामा भर्ना गरिएको थियो। ४ वर्षका थिए त्यति बेला। परिवार सबै यता, भाइ मात्र उता। समस्या भएपछि शिशु कक्षा पढ्दै गर्दा भाइ पनि यतै आए। युकेजीमा भर्ना गरिदिए चतुरले कान्छो छोरालाई।

यता भर्ना भएको ६ महिना पनि भएको थिएन, चतुर फेरि गाउँ गए। गाउँकै स्कुलमा युकेजीमै भर्ना भए सागरका भाइ। त्यही एक वर्षको पढाइ मात्र आधा यता, आधा उता भयो भाइको। त्यसयता यहीँ पढे। ६ महिना भट्टाको झ्याउलीमा बस्यो, ६ महिनाचाहिँ कोठा खोजेर। ‘भाइको पढाइ राम्रो छ’, सागरले सुनाए- ‘पहिला, दोस्रा हुन्छ।’

दुवै छोरीलाई चाहिँ पढाएनन् चतुरले। पाँचौं कक्षा पास गरेपछि विवाह गराइदिए जेठी रेजिनाको। गाउँकै पञ्चायत प्राविमा पूरा गरेकी थिइन् उनले पाँचौं कक्षा। त्यहाँभन्दा माथिल्लो कक्षा पढ्न अन्तै जानुपर्ने भएकाले रेजिनाले स्कुल जान अप्ठ्यारो मानिन्। ‘नपढाएर छोरा र छोरीमा विभेद गर्नुभयो बुबाले ?’ सागरलाई सोधें।

‘त्यस्तो त होइन’, उनको भनाइ थियो- ‘दिदीले ठुलै भएपछि पढ्नुभएको थियो। बुबा यता, दिदी उता। सानैमा पढाइमा ध्यान भएन।

५ कक्षा सक्ता १४ वर्ष भैसक्नुभएको थियो। अरु साथी साना थिए, दिदीले अप्ठ्यारो मान्नुभयो।’

रामेछाप खनियापानीको सरकारी स्कुल थियो रेजिनाले पढेको।

कामको खोजीमा गाउँका सबैजसो मानिस सहर जान्थे। प्रायः उनीहरु इँटा भट्टामै जान्थे। भट्टामा जाँदा अधिकांशले छोरालाई उतै लैजाने, छोरीलाई चाहिँ गाउँमै राख्ने गर्थे। त्यही भएर गाउँका स्कुलमा पनि छोरीको बाहुल्य हुन्थ्यो।

सानी छोरी रीतालाई पनि गाउँमै पढाए चतुरले कृष्णपुरी माविमा। त्यहीँबाट आठौं कक्षा उत्तीर्ण गरेपछि उनको पढाइमा पूर्णविराम लाग्यो।

पढाइमा बाधक स्वास्थ्य
पढ्दापढ्दै पेट दुख्ने समस्या भयो रीताको। उपचारको प्रबन्ध मिलाए चतुरले सहर ल्याएर। भक्तपुर जगातीको हारती फर्मामा स्वाथ्य परीक्षण गराए। रिपोर्टले देखायो- पेटमा केही छैन। फर्माको रिपोर्टले केही छैन नदेखाए पनि समस्या घटेन।

सानैदेखि पेट दुख्यो भन्थिन्, काठमाडौं आएर पनि भनिरहिन्। यहाँ आएर घटेन, झन् बढ्यो। ३ महिनापछि फेरि जँचाए। हारतीले मध्यपुर अस्पताल रेफर गर्‍यो। मध्यपुर लगे, यसले पनि अलमल्याइदियो।

‘पन्ध्र दिनमा अप्रेसन गर्न बोलायो’, सागरले सुनाए- ‘अप्रेसन गर्न बिहान बोलाएको थियो। लगियो, भर्ना पनि गरियो। सलाइन पानी दिइयो।’

फेरि भिडियो एक्स-रे गर्‍यो। भिडियो एक्स-रे रिपोर्टले पनि भन्यो- ‘केही छैन।’

अप्रेसन गर्न ठिक्क पारेर गरिएको थियो भिडियो एक्स-रे। एक्स-रेले नै केही छैन भनेपछि अप्रेसन गर्ने कुरै भएन। तर, दुख्न भने अझै छाडेन।

हुन त उपचार भएको भए पो दुख्न छाडोस्। १५ दिन खेर फालेपछि अरु अस्पताल चहार्ने सिलसिला सुरू भयो। ठिमीको कोरियन अस्पताल लगे। कोरियनले पत्थरीको शङ्का गर्‍यो। पत्थरी छ कि भनेर फेरि भिडियो एक्स-रे गरियो। त्यहाँको रिपोर्टले पनि भन्यो- ‘केही छैन।’

अब पाठेघरमा केही भएको छ कि भनेर चेकजाँच भयो। यहाँचाहिँ समस्या देखियो- पाठेघरमा पानी जमेको छ।

उपचार कहाँ गर्ने ? सर्वसुलभ र राम्रो उपचार गराउने अस्पतालको ख्याति पाएको धुलिखेल अस्पताल पुर्‍याएर चतुरले।

कोरियन अस्पतालमा नदेखिएको पत्थरी धुलिखेल अस्पतालले देखाइदियो फेरि। धुलिखेलमा पत्थरी पत्ता लगाएपछि फेरि मध्यपुरमै ल्याउने निधो गरे। यहाँ भए छुट पनि दिन्छ भनेर सुनाइदियो कसैले।

अपरेसन खर्च पहिल्यै जुटाएका थिए। अपरेसन गर्न डिपोजिटसमेत राखिसेपछि ‘पत्थरी देखिएन’ भनेको थियो अस्पतालले पहिला।

पहिले ४०-४५ हजार लाग्छ भनेको थियो, भर्ना गर्दा २८ हजार डिपोजिट लिएको थियो। चतुरले खर्च जुटाए। अप्रेसन सफल भयो।

एक जनाको उपचारमा यस्तो सास्ती। हाम्रा स्वास्थ्य संस्था कस्ता छन् भन्ने गतिलो उदाहरण हो चतुरले छोरीको उपचार गर्दा बेहोर्नुपरेको सास्ती।

अपरेसन सकिएसँगै पढाइ पनि सकिएको थियो कान्छी छोरी रीताको। केही वर्ष त्यत्तिकै दिन कटाइन्।

बाइबल स्कुल यात्रा
उपचार गरेको तीन वर्षपछि बाइबल स्कुल भर्ना गरिदिए चतुरले कान्छी छोरीलाई। महिनाको ३ सय तिरेर क्राउन इन्टरनेसल बाइबल कलेजमा पढिरहेकी थिइन्। परिवारै क्रिस्चियन रहेछ सागरको। परिवार प्रार्थना गर्ने कोटेश्वरस्थित एभेन्जर चर्चले नै खोलेको रहेछ बाइबल स्कुल।

‘त्यहाँ के पढाइ हुन्छ ?’

‘क्रिस्चियन धर्मसम्बन्धी पढाइ हुन्छ’, सागरले दोहोर्‍याए- ‘बाइबलसम्बन्धी सबै पढाइ हुन्छ।’

‘बाइबल स्कुल पढेर के बन्ने योजना छ दिदीको ?’

‘धर्म प्रचारक बन्ने हो’ जबाफ दिए- ‘पास्टर बन्ने, फादर बन्ने। हिन्दुको पण्डित, बौद्धमार्गीको लामा भने जस्तै क्रिस्चियनको पास्टर बन्ने हो।’

हिन्दुले वेद पढाउँछन्। चण्डी, रुद्री, कौमुदी पढाउँछन्। बौद्धमार्गीले त्रिपिटक पढाउँछन्। मुस्लिमले कुरान पढाउँछन्। क्रिस्चियनले बाइबल।

घरमै बसेर पढ्ने सुविधा पनि रहेछ बाइबल स्कुलको। उनी स्कुलै गइन्। स्कुलकै छात्रवासमा बस्थिन्। खाने, बस्ने सबै खर्च चतुरले नै बेहोरेरहेका थिए।

‘इच्छा हो आफ्नो। जसरी पढे पनि हुन्छ’, सागरले सुनाए।

धेरै छन् यस्ता बाइबल स्कुल नेपालमा। कोही स्कुलमा बिहान पढाइ हुन्छ, कोहीमा बेलुका। कोहीमा शनिबार मात्र।

विज्ञानका कोर्स नै सकिँदैनन्

दिदीका कथा रोकेर अब सागरतिर।

मैले दोस्रो पटक भेटेको अर्को वर्ष २०७४ सालमा एसईई दिए सागरले गणेश मावि सिपाडोलबाट। एसईई सकेर बसेको केही दिनमा फेरि भेट्न गएको थिएँ झ्याउलीमै। ‘कस्तो भयो एसईई ?’

‘ठिकै भयो’, सुनाए- ‘साइन्सचाहिँ अलि बिग्रिएको छ। जति घोक्ता पनि सकिएन।’
‘यो घोक्ने विषय हो र ?’

‘होइन’, सागरले सुनाए- ‘तैपनि बुँदा बुँदा घोक्न सकियो भने पास गर्न सजिलो हुन्थ्यो। केही त घोक्नै पर्छ। सूत्र घोक्नै पर्छ, नघोकी हुँदैन।’

‘एसएलसी र एसईईमा के फरक रहेछ ?’

‘उस्तै हो। पोहोर एसएलसी दिनेले पनि उस्तै रछ भनेका छन्’, सागरको जबाफ थियो- पहिला अङ्कमा रिजल्ट हुन्थ्यो। अहिले ग्रेडमा हुन्छ। खासै फरक देख्तिनँ म त।’

म फेरि उनको विज्ञानको पढाइतिरै फर्किएँ। धेरैजसो सरकारी स्कुलमा विज्ञान कठिन विषय हुने गर्छ विद्यार्थीलाई। साइन्स प्राक्टिकल गर्नुपर्ने विषय हो। तर, अधिकांश स्कुलमा साइन्स ल्याबै छैनन्।

‘तयारी गर्नै पाइएन राम्रोसँग’, सुनाए।

‘साइन्स ल्याब कस्तो थियो स्कुलमा ?’

‘केमेस्ट्रीको प्राक्टिकलै भएन’, भने- ‘सामानै थिएनन् ल्याबमा। अब कस्तो रहेछ ल्याब, आपैm अनुमान गर्नुस् न !’

सामुदायिक स्कुलको समस्या हो यो। अधिकांश सामुदायिकमा स्कुलमा विज्ञानको कोर्स नै नसकिने समस्या छ। गणेश माविको हालत पनि उस्तै रहेछ। भौतिक विज्ञानका केही सामग्री रहेछन्। त्यसबाहेक न रसायन विज्ञानका थिए, न त जीव विज्ञानकै।

‘प्राक्टिकल गराएको भए सूत्र थाहा हुन्थ्यो। रासायनिक प्रतिक्रिया थाहा हुन्थ्यो’, सागरको गुनासो थियो- ‘रसायन विधि थाहा हुन्थ्यो, रासायनिक प्रतिक्रिया गर्ने तरिका थाहा हुन्थ्यो। त्यही विधि थाहा नभएर साइन्स बिग्रियो।’

विज्ञान विषयको महङ्खव थाहा रहेछ सागरलाई।

दिन प्रतिदिन हुने क्रियाकलाप थाहा पाइन्छ विज्ञान बुझ्यो भने। मौसम थाहा पाइन्छ। भूगोल थाहा पाइन्छ। भान्छामा प्रयोग हुने आगो, ग्याँसदेखि ऊर्जा संरक्षणसम्म थाहा पाइन्छ। मानव शरीर थाहा पाइन्छ, तापक्रम थाहा पाइन्छ। रक्त सञ्चार प्रणालीदेखि वंशाणु, क्रोमोजोमसम्म थाहा हुन्छ। गुरूत्वाकषर्णदेखि वायुमण्डलसम्म विज्ञानका देन हुन्। मान्छेको शरीरबाहिरको फोटो खिच्ने क्यामेरादेखि भित्री भाग खिच्ने एक्स-रेसम्म विज्ञानका वरदान हुन्।

‘यस्ता विषयमा चासो राखिएन भने त अगि बढ्नै सकिँदैन’, सागरले सुनाए।

प्रयोगशालाको मात्र समस्या होइन स्कुलमा, पढाउने शिक्षकमै समस्या थियो सागरको बुझाइमा।

‘विज्ञान शिक्षक बेवास्ता गर्नुहुन्थ्यो। नोट लेखाउन पनि अल्छी गर्नुहुन्थ्यो’, सागरले सुनाए- ‘कक्षा नियन्त्रण गर्न सक्नु हुन्नथ्यो। पढाउँदा हल्ला हुन्थ्यो।’

शिक्षकले विज्ञानमा रूचि नै नजगाइदिएको गुनासो थियो सागरको- ‘भएका ल्याब पनि प्रयोगमा ल्याउनु भएन। साइन्सको महत्व छ तर अहिले सोच्छु, सरले रूचि नै नजगाइदिएकाले यसको वास्ता गरिएन।’

सार्वजनिक विद्यालयमध्येमा राम्रोमै गनिएको स्कुल हो गणेश मावि। स्कुलमा विद्यार्थी सङ्ख्या पनि धेरै थियो- झन्डै ३००।

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्तै गएको समयमा यहाँको विद्यार्थी सङ्ख्या राम्रो हो। स्रोत केन्द्र पनि थियो यो स्कुल- यस क्षेत्रका १९ विद्यालयको। ती विद्यालयबिच संयुक्त परीक्षा प्रणाली सञ्चालित थियो।

राम्रो स्कुलकै बग्रेल्ती समस्या
‘हुन त पब्लिकले पनि राम्रो मान्छन् यो स्कुललाई’, सागरले स्कुलको राम्रै बखान गरे- ‘राम्रो मानिएको स्कुलकै अनगन्ती समस्या, असङ्ख्य गुनासा। कप्युटर कक्षासमेत राम्रो हुँदैन। सरकारले ६, ७ र ८ कक्षामा कम्युटर शिक्षा अनिवार्य गरेकाले यहाँ कम्युटर कक्षाको व्यवस्था थियो, कम्प्युटर पनि थिए तर नेटवर्क थिएन। इन्टरनेट जोडिएको थिएन। इन्टरनेटबिनाको कम्युटर के काम ?’ फेरि थपे- ‘नेटवर्कबिनाको कम्युटर कामै छैन।’

गणेश माविमा ६ कक्षादेखि पढ्न थालेका थिए सागरले। त्योभन्दा पहिले थुप्रै विद्यालय चहारिसेका थिए। ती विद्यालयमा पढिसक्ता उनका जीवनमा अनेक कथा, उपकथा सिर्जना भइसकेका थिए।

बालश्रम मुक्त भट्टामै श्रम
झौखेलको माता भट्टामा काम गर्थे सागरका बुबाआमा। सागर जन्मनुभन्दा १० वर्षअगिदेखि नै यहाँ पाखुरा बजार्न सुरू गरिसकेका थिए चतुरले। त्यहीँ काम गर्थे, त्यहीँ बस्थे। त्यो त्यही भट्टा थियो, जसले पछि ‘बालश्रम मुक्त भट्टा’ को परिचय पनि बनायो बाहिर।

भित्री कथा भने फरक थियो। बालश्रम मुक्त भएपछि बालबालिका अभिभावकसँग त्यही बस्थे। श्रम पनि गर्थे तर श्रम गर्र्दैनन् भनेर प्रचार गरियो। श्रम गर्न नपरेपछि स्कुल जान पाउँछन् भन्ने मान्यताले बालश्रम मुक्त भनिएको थियो।

‘बालश्रम मुक्त भनिए पनि श्रम नगरी सुख थिएन’, सागरले सम्झिए- ‘स्कुल पनि जाने, श्रम पनि गर्ने।’

पहिलो चरणमा चारवटा भट्टा बालश्रम मुक्त भएका थिए। मैले श्रमिकका कथा सुन्दासुन्दै यो सङ्ख्या बढेर ८ पुग्यो। कागजमा बालश्रम मुक्त भएका आठैवटा भट्टा भक्तपुरका मात्र थिए।

उपत्यकाका इँटा भट्टामध्ये सबैभन्दा धेरै भक्तपुरमै थिए- ६३ वटा। जिल्लालाई नै बालश्रम शोषण मुक्त जिल्ला घोषणा गर्ने अभियानै

चलेका थिए। सेभ द चिल्ड्रेन फन्ड, बाल विकास समाज लगायत सङ्घ-संस्थाले बालश्रम शोषण मुक्त जिल्ला बनाउन अभियान चलाएका थिए।

‘बालश्रम मुक्त भट्टा’ मा बस्तै पढाइ सुरू गरेका थिए सागरले। बर्खामा डेरा लिएर बस्ने, हिउँदमा भट्टाकै छेउमा झ्याउली बनाएर। त्यही बेला ज्ञानविजय आधारतभूत स्कुलमा भर्ना भए। भक्तपुर नपुखुको त्यो स्कुलसम्म हिँडेरै पुग्थे सागर। साथी हुन्थे, भट्टाकै अन्य बालबालिका।

‘किन हिँडेको ? गाडी चल्दैनथे ?’

‘गाडी चल्दैनथे’, जबाफ दिए- ‘अहिले त त्यति गाडी चल्दैनन्। पहिलाको के कुरा।’
आधा घण्टा लाग्थ्यो स्कुल पुग्न। स्कुल भएको ठाउँमा चाहिँ गाडी बाक्लै चल्थे। भट्टाकै ट्रक पनि चल्थे। बाक्लो गाडी आउजाउ गर्ने हुँदा बाटो काट्नै मुस्किल हुन्थ्यो।

नर्सरीमा भर्ना भएका सागरले २ कक्षासम्म त्यहीँ पढे।

यही उमेरसम्म आइपुग्दा सागरले अनगन्ती अनुभूति सँगालिसकेका थिए- कोही तिता, कोही मिठा। मिठाभन्दा तिताकै चाङ अग्लो थियो।

मन्दिरको गजुर टाउकोमा बज्रिएपछि
जीवनभर बिर्सनै नसक्ने एउटा अनुभूति। घाउ निको भए पनि चोट जिउँका तिउँ छ अझै। चोटले घाउ सम्झाइरहन्छ।

स्कुलबाहिर गजुर भएको मन्दिर थियो। सागर मन्दिरछेउमै बसिरहेका बेला एउटा साथीले भर्‍याङबाट उक्लिएर गजुर हल्लाइदिएछ। जीर्ण मन्दिरको गजुर पनि उस्तै जीर्ण भइसकेको रहेछ; खस्यो हल्लाएपछि। आफ्नै सुरमा रहेका सागरको टाउकोमै बज्रियो। ‘टाउको फुटि गो नि !’ सागरले खत देखाउँदै सुनाए।

टाउको फुटेपछि अस्पताल नलगी सुखै थिएन तर चतुरसँग बचत भए पो। अब कसरी गर्ने उपचार ? ठुलै समस्या आइलाग्यो।

पैसा माग्न कहाँ जाने ? समस्या भयो। घरबेटी गुहार्न गए चतुर। घरबेटीले पनि पत्याएनन्। बरू अस्पतालाई छक्याउने जुक्ति सिकाए- ‘इँटा भट्टामा इँटा खसेर लागेछ। यसको कोही छैन। उपचार गराइदिनुपर्‍यो’ भन्नुस्। त्यही जुक्तिअनुसार चतुरले सागरको परिचय लुकाए।

भक्तपुर अस्पताल लगियो। टाउकोमा १३ टाँका लगाएर घरै पठाइदिने भयो अस्पतालले। घरभेटीको जुक्तिले काम गर्‍यो- अस्पतालले पैसा लिएन।

‘कहाँ लैजानु हुन्छ ?’ उपचार सकिएपछि डाक्टरले सोधे।

‘आफ्नै घर लैजानुपर्ला’, चतुरले जवाफ दिए।

१२ दिनपछि टाँका खोल्न फेरि लगियो।

छोराको उपचारका लागि त खर्च लागेन, आनन्दै भयो तर त्यही वर्ष अर्को विपत् आइलाग्यो- चतुरका बुबा बिते।

हजुरबा बितेपछि सागर पनि गाउँ जानुपर्‍यो। गाउँ जाँदा पढाइ छुट्यो।

‘एक वर्ष पढाइमा घाटा लाग्यो’, सागरले सम्झिए।

त्यति बेला ६ कक्षा उत्तीर्ण गरेका थिए। ७ कक्षामा स्कुल गएको ४-५ दिन मात्र भएको थियो।

पक्षाघातले थला
गाउँमा पढ्दै गर्दा फेरि आफ्नै शरीरमा अर्को समस्या देखियो सागरको- पक्षाघातको सिकार। कम्मरभन्दा मुनि चल्नै छाड्यो। चिन्ता पढाइकै। भर्खर सुरू भएको थियो कक्षा, पढाइ छुट्यो।

काभ्रेको शिर मेमेरियल अस्पताल पुर्‍याए चतुरले। त्यहाँ भर्नै गरेर उपचार गर्नुपर्‍यो। केही समयको उपचारपछि हिँड्न सक्ने भए, पूरै निकोचाहिँ भएको थिएन।

अब गाउँमा पढ्न नसक्ने भए शारीरिक कारणले। फेरि भक्तपुरै फर्किए। गणेश माविमा भर्ना भए।

७ कक्षामा गएका थिए गाउँमा। यहाँ पनि ७ मै भर्ना हुन चाहन्थे। तर, पढ्न सक्तैन भनेर ६ कक्षामा भर्र्ना लियो स्कुलले।

तल्लो कक्षामै झारिदिए पनि सागरलाई पढ्न सजिलो भएन।

‘गाउँमा घुमेर, हल्लेर हिँडेको थिएँ’, सुनाए- ‘मार्क पनि गतिलो आएको थिएन। सरले टेस्ट लिनुभयो। यो भाइले पढ्न सक्तैन भनेर प्रिन्सिपल नारायणबहादुर दुवालले क्लास डाउन गरिदिनुभयो। म कमजोरै थिएँ, स्कुलले ठिकै गरिदियो।’

न्यास्रिनुको परिणाम
६ महिना बुबाआमा हुने, ६ महिना नहुने। अभिवावक साथमा नहुँदा नियन्त्रण गर्ने कोही भएन। सल्लाह सुझाब दिने कोही थिएनन्।

‘पढाइ राम्रो नहुनुको खास कारण पनि थियो’, सुनाए- ‘तैपनि माथिल्लो कक्षामा भर्ना लिइदिएको भए पढ्न सक्छु भन्नेचाहिँ थियो।’

गाउँमा एक्लै बस्थे दिदीभाइ। गाउँमा जम्मा दुई घर थिए- एउटा चतुरको, अर्को उनका कान्छा काकाको अर्थात् सागरका कान्छा

हजुरबाको। सागरका आफ्नै हजुरबाको चाहिँ अलि पर।

‘आफ्नो हजुरबाको घर पुग्न १५ मिनेट हिँड्नुपथ्र्यो’, सागरले पढाइमा कमजोर हुनुको बेलीविस्तार लगाए- ‘बुबाआमा सहरमा। हजुरबा हजुरआमा टाढा। न्यास्रो पनि लाग्थ्यो परिवारको। त्यसले पनि पढाइमा असर गर्‍यो।’

खाना आफैँ बनाउँथे। ‘दिदीलाई खाना भए पनि हुन्थ्यो, नभए पनि हुन्थ्यो’, सुनाए- ‘खाना बनाए मैले बनाउँथें। आफैँ नबनाए भोकै पनि परिन्थ्यो।’

खेलकुदले बिगारेको पढाइ
उमेरै त्यस्तै। पढाइमा भन्दा खेल्नमा बढी ध्यान गयो- खाने, बस्ने, खेल्ने। सङ्गत पनि त्यस्तै। खेलमा रमाइलो पनि हुने, पैसा पनि कमाइने। ‘खेलमा बाजी राख्ने’ पढाइमा कमजोर हुनुको अर्को कारण पनि उनले सुनाए- ‘म त पैसा कमाउने। भलिबल खेलिन्थ्यो।

त्यसमा बाजी राख्यो। बाजी राख्न ठुला पनि आउँथे। १२-१३ सय रूपैयाँसम्म कमाइन्थ्यो। नभए पनि घटीमा ३ सय त जहिल्यै बाजी मारिन्थ्यो। अनि किन पढाइमा मन जाओस् !’

पैसा जितेपछि भाग लगाउने। १२ सय जित्यो भने ६ जनालाई भाग लाउँदा दुई सय हात पथ्र्यो। त्यो पैसा नि खाएरै सिद्ध्याउँथे।

स्कुलछेउमा पसल थियो। त्यही पसल जान्थे। भने- ‘रारा चाउचाउ खुबै मन पथ्र्यो। त्यही किनेर खाइन्थ्यो।’

अभिभावकको राम्रो निर्देशन नभएर बिग्रिनुपरेको अनुभव हो यो सागरको।

सहरको खाद्यान्न गाउँमा
परिवारको कमजोर आर्थिक अवस्था त भट्टामा श्रम गर्न आउनाले पनि अनुमान हुन्थ्यो। दुख नभए आफ्ना छोराछोरीको भविष्यसमेत वास्ता नगरी किन घरबाट बाहिरिन्थ्यो र मान्छे श्रम गर्न ?

उब्जनी हुने जमिन छैन। आफ्नो कमाइले तीन महिना पनि खान पुग्दैन। खेत छैन, पाखो बारीमा गहुँ, जौ, फापर मात्र फल्छ। त्यसले केही महिना धान्ने हो। अनि बाँकी समय के खाने ? घर आउँदा चतुर बोकेर आउँथे खाद्यान्न। चामल, आलु आदि ल्याएर छाडिदिन्थे बेला बेला।

सहरबाट बोकेर लगेको खाद्यान्न गाउँमा बसेर खानुपर्ने बाध्यता थियो। तर सागर बुबाआमा भक्तपुरको इँटा भट्टामा काम गर्दै गर्दा जन्मिए। सुरूआती पढाइ पनि भक्तपुरमै भयो। हजुरबा बितेपछि भने गाउँ जानुपर्‍यो। त्योभन्दा पहिला पनि बेला बेला आउजाउ भइरहन्थ्यो।

नेपालथोकको बाटो बनेकै थिएन त्यतिखेर। हिँडेरै जानुपथ्र्यो। काभ्रेको नेपालथोक लुभुघाट, कटुन्जे, खनियापानी, रुपाकोटसम्म गाडी पुग्यो अलि पछि। रुपाकोटबाट भने हिँड्नुपथ्र्यो गाउँ पुग्न।

सुनापनी गाउँपालिका वडा नम्बर ५ (साविक खनियापानी गाविस) मन्द्रुधोङ पर्छ उनको गाउँ। बसोबास पातलो थियो यहाँ। मन्द्रुधोङ बस्तीभरिमा जम्मा ९ घर थिए- सबै कच्ची, खरका छाना भएका। अहिलेचाहिँ टिनको छानो पनि लाउन थालेका छन् मान्छेहरु। ‘हेर्दाहेर्दै टिनको छानो हुन थाल्यो’, सुनाए- ‘अब गाउँमा पनि विकास पुग्न लाग्यो।’

केही समयपछि सुनकोसी नदीमा झोलुङ्गे पुल बन्यो। हेर्दाहेर्दै लुमुघाटमा पुल बनेपछि ओहोरदोहोर सजिलो भयो। घाटैको मुखसम्म मोटरबाटो पुगेको छ। खैरनीमा पक्की पुल पनि बन्दै छ। पुल बनेपछि काठमाडौंबाट घरैसम्म बस पुग्नेछ। घरबाट सिधै गाडी चलेपछि काठमाडौं सुगम हुनेछ।

व्यावसायिक खेती गर्न सकिएन
खनियापानी क्षेत्रका मान्छे घरैपिच्छे इँटा भट्टामा काम गर्न जान्थे बर्सेनि। कोही सपरिवार जान्थे, कोही परिवार छाडेर। भट्टामा काम गरेपछि आर्थिक अवस्थामा पनि केही सुधार आयो। सागरको परिवार पनि यसैमध्ये एक हो। सागरले सुनाए- ‘आर्थिक अवस्था केही सुध्रिँदै छ अहिले त।’

कोही भट्टामै जुनि बिताउने पनि थिए। कोही कोही कमाइ भएपछि गाउँमै गएर व्यावसायिक खेती गर्ने भए। कसैले बङ्गुर पाले, कसैले कुखुरा, कसैले माहुरी पालन गरे।

दानबहादुर मानन्धर माहुरी पालनमा लागेका थिए। शिवलाल मानन्धर कुखुरा पालनमा लागे। हेमलाल मानन्धरले बङ्गुर पाले।

हेमलालले ढुङ्गाको पक्की खोर बनाएका थिए बङ्गुर पालन गर्न। १७ वटाबाट फर्म सुरू गरेका थिए।

गाउँको एक मात्र फार्म भएकाले बङ्गुरलाई खुवाउने कुराको चिन्ता छैन। गाउँभरि रक्सी पार्छन्। जाँडको कट फार्ममै पुर्‍याउन आउँछन् गाउँलेहरु। बङ्गुरको साह्रै मन पर्ने खान्की हो कट। घरमा लिन गए सित्तैमा दिन्छन्, फार्ममा पुर्‍याउन आए भने ज्यालाबापत केही रकम दिनुपर्छ।

कमाइ पनि राम्रै छ। बेच्न पनि समस्या छैन। बजार गाउँ नै हो। लिन खोरमै आइपुग्छन्। ४५ वर्षीय मानन्धरले यसैको आम्दानीले छोराछोरीलाई शिक्षा दिए। १० कक्षासम्म बढाएका छोरा उमेशलाई गाडी किनिदिएर त्यसैको चालक बनाए। कान्छी छोरी निर्मला पनि गाउँमै पढ्दै थिइन् ८ कक्षामा।

दानबहादुरले २०६८ सालमबाट शुरु गरेका हुन् मौरी पालन। व्यावसायिक खेती गर्न जिल्ला कृषि विकास कार्यालयले पनि प्रोत्साहन गर्‍यो।

मौरी पालन तालिम दिन गाउँमै प्राविधिक पठाएको थियो कार्यालयले। दानबहादुरले पनि तिनै प्राविधिकसँग तालिम लिएर मौरी पालन सुरू गरेका थिए। घार पनि दिएको थियो कृषि कार्यालयले।

व्यावसायिक खेतीमा अरुभन्दा अगि बढेका थिए दानबहादुर। कमाइ पनि राम्रो छ। व्यवासाय सुरू गर्नुपहिल्यै ऋण गरेर छोराको बिहे गरेका थिए। मौरीबाट भएको आम्दानीले जेठो छोराको बिहेको ऋण तिरे। कान्छो छोरो स्नातक तहमा पढिरहेका थिए। भक्तपुरमै बसेर पढ्थे कान्छा छोरा।

दानबहादुर दम्पति नै खटेको छ मौरी पालनमा। अब घार पनि निकै भए। मह खोज्न घरमै आउँछन् ग्राहक।

जग्गाजमिन पनि जोडे। सानैदेखि नै कहिले अरुको घरमा, कहिले इँटा भट्टामा बित्यो दानबहादुरको समय। कठोर मेहनतले केही कमाए र उद्यममा लगानी गरे।

माहुरीका लागि उपयुक्त क्षेत्र रहेछ खनियाँपानी। लालीगुराँस लटरम्म फुलेका हुन्छन्। मौसमअनुसारका विभिन्न फूलहरु फुल्छन्। मौसमी फूलमा चर्न निकै मन पराउँछन् माहुरी। पाखामा पनि फूलै पूmल। काफल फुल्छ, आरू फुल्छ।

‘तपाईंका लागि कोही प्रेरक पात्र थिएनन् गाउँमा ?’ मेरो जिज्ञासाको जबाफमा सागरले अगुवा किसानहरुका कथा सुनाए थिए।

भट्टामा काम गरेर कमाएको रकम गाउँमा लगानी गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो सागरलाई तर भनेको जस्तो कमाइ नै भएन।

कहाँ पाउनु उद्योग खोल्ने पैसा !


भक्तपुरका भट्टामा काम सिकेर गाउँमा इँटा भट्टा सञ्चालन गर्ने पनि छन्। २०७२ सालमा भुइँचालो गएपछि गाउँमा सबैका घर भत्किए।

नयाँ घर बनाउने क्रममा इँटाको माग बढ्यो। भुइँचालो गएपछि गाउँतिर पनि पक्की घर बनाउने क्रम तीव्र भयो। यसले गर्दा पनि इँटाको माग ह्वात्तै बढ्यो। गाउँमा इँटा उत्पादन नभएको बेला बालकृष्ण मानन्धरले भक्तपुरदेखि इँटा लगेरसमेत पक्की घर बनाएका थिए।

‘इँटा बिक्री हुँदो रहेछ’ भनेर गाउँमा भट्टा खोल्ने क्रम बढ्यो। लामो समय राजधानीको भट्टामा समय बिताएका शिवलाल मानन्धरले गाउँको पहिलो इँटा उत्पादकको सूचीमा नाम दर्ता गराएका हुन्।

त्यति खर्चिलो छैन इँटा उद्योग। ठुला मेसिन राखेर खोलिएका भट्टा होइनन् यी। सानो घर जस्तो बनायो, त्यसमा माथिबाट दाउरा राख्यो, अनि पोल्यो। माथिबाट दाउरा हालेपछि तल इँटा पाक्छ।

घरमुनिको करेसा बारीमै खोलेका थिए उद्योग। श्रीमतीले काममा साथ दिइन्। त्यही कमाइले परिवार चलेको थियो, छोराछोरीलाई शिक्षादीक्षा दिन पुगेको थियो। जेठा भरत स्नातक तह सिध्याए। माहिलो जयराम, ठुली छोरी शर्मिला र कान्छी चन्द्रकला पनि काठमाडौंमै बसेर पढिरहेका छन्।

खोल्न सके नाफै रहेछ इँटा उद्योगबाट। सागरको भनाइमा एक लाख इँटा बनाएर पोल्न सक्यो भने १२-१३ लाख रूपैयाँ नाफा आउँछ।

यसका लागि खर्च भने बढीमा पाँच लाख मात्र हुन्छ।

‘आपैm बनाएर बेच्ता त कता हो कता फाइदा हुन्छ नि !’ सागरले सुनाए।

५५ वर्षका भए शिवलाल। चतुरसँगै आएका थिए राजधानीको इँटा भट्टामा। शिवलालले गाउँमा गएर उद्योग खोलेर चकचकी गरिसके, यहीँ रहेका चतुरको अवस्था भने उही।

’पोहोरसम्म यहीँ हुनुहुन्थ्यो’, सागरले सुनाए- ‘यही वर्ष गाउँमा गएर भट्टा खोल्नुभयो।’
चतुरको मनमा पनि उद्योग खोल्ने सोच त नआएको होइन। तर, सोच आएर मात्र के गर्नु ? पैसा बँचाउनै सकेनन्। कहिले छोरी बिरामी, कहिले सागर। कमायो, छोराछोरी पढायो, बढायो। कमायो, गाउँमा खाद्यान्न पठायो। यसै गरी सकिएको थियो सागर लगायत छोराछोरीले समेत हात घोटेर जम्मा भएको चतुरको कमाइ।

सागर भट्टामै जन्मिए। भट्टामै हुर्किए। परिवारमा सागरले गरेको आर्थिक योगदान कस्तो थियो ? कसरी गरेका थिए भरथेग ? मुख्य विषय यही थियो मेरो चासोको। उनले भट्टामा दश नङ्ग्रा खियाएको मैले पहिलै नै थाहा पाइसकेको थिएँ। यही कहानी सुनेर कथाको बिट मार्ने योजनामा थिएँ।

स्कुलअघि भट्टा, छुट्टीपछि पनि भट्टा

पढ्दै, श्रम गर्दै। यही कहानी सुनौं अब।

‘श्रम गर्दै, पढ्दै’ गर्नेहरु धेरै छन् तर सागरको नियति ‘पढ्दै, श्रम गर्दै’ थियो। मैले सङ्घर्षका थप कथा सुनाउन आग्रह गरें सागरसँग।

‘मैले थाहा पाएदेखि श्रम नगरेको त गाउँमा बस्ताको एक वर्षबाहेक थाहा छैन। सधैं सघाएको छु परिवारलाई।’ सागरले पढ्दै भट्टामा काम गर्दै गर्दाका दुखद् कथा सुनाए।

सुरूमा कमाउने एक्ला थिए चतुर। केही समयपछि पत्नीले साथ दिँदै आइन्। अहिले सागरको बलियो साथ थपियो। गाउँमा एक वर्षबाहेक सधैं परिवारसँगै बसे सागर।

चतुरको परिवार बिहान २ बजे उठेर इँटा बनाउन थाल्थ्यो। बुबाआमासँगै उठ्थे सागर पनि, काम सघाउन जान्थे। स्कुल समय १० बजे, छुट्टी ४ बजे। स्कुल जानुअगि पनि भट्टामा, छुट्टी भएपछि पनि भट्टामै। चतुरको परिवार राति ११ बजे सुत्थ्यो। सागरको सुत्ने समय पनि त्यही थियो- ‘स्कुल जानुअगि कामै गर्नुपथ्र्यो, स्कुलबाट आएपछि पनि सघाउन गैहाल्नुपथ्र्यो। मेरो स्कुले जीवन यसै गरी सकियो।’

१० कक्षामा आएपछि भने कामबाट मुक्ति पाए सागरले। ‘अब पढाइमा ध्यान दिनुपर्छ’ भनेर भट्टाबाट फुक्का गरिदिए चतुरले।

घरमा श्रमको तनाब, स्कुलमा पढाइको तनाब। घरमा काम गर्दा होमवर्क छुट्थ्यो। होमवर्क छुट्ता धेरै पटक सजाय भोग्नुपरेको थियो सागरले। भट्टाको काममा नसघाए बुबालाई खर्च धान्न धौधौ पर्ने। कति चर्को समस्या !

बुबा चतुरको बिहेको ऋण तिर्नै बाँकी थियो। त्यही सम्झिएर पनि सागरले भट्टाको काममा सानैदेखि सघाए बुबालाई।

समय, चलन त्यस्तै थियो, चतुरले बालविवाह गरे। विवाह गर्नासाथ छुटिनुपरेको थियो। बाध्यताले चौध वर्षमै परिवारबाट छुटी भिन्न भए। जेजति भएको थोरै अंशसँगै बिहेको ऋण पनि भाग लाग्यो। ९ हजार लागेको रहेछ बिहेमा ऋण।

मानबहादुरका जेठा छोरा चतुरलाई बहिनीहरुको बिहे गर्ने अभिभारा पनि थपियो। दुई बहिनी र एक भाइको जिम्मेवारी चतुरले आफ्नै काँधमा लिए।

मानवबहादुरले भट्टामै जीवन बिताएर पनि आर्थिक अवस्था सुधार्न सकेका थिएनन्। उनका कान्छा छोरा अर्थात् चतुरका भाइ कृष्ण पनि ६ महिना काठमाडौं, ६ महिना गाउँतिर गएरै पढेका थिए। आधा यता काम गर्थे, अन्तिम परीक्षा दिनचाहिँ गाउँ पुग्थे। यता काम गर्दा यताको स्कुल भर्ना हुन पाएनन्। त्यस्तो अवस्थामा उनको पनि पढाइ निरन्तर हुन सकेन। गाउँकै भिरकोट स्कुलबाट आठौं कक्षा उत्तीर्ण गरेका थिए कृष्णले।

भट्टामा काम गर्दागर्दै बिरक्तिएर विदेश गए कृष्ण। तीन वर्ष बसे विदेशमा। केही पैसा कमाएर फेरि गाउँ फर्किए। आफूले सानैदेखि सिकेको सिप इँटा बनाउने। त्यही सिप आफ्नो गाउँमा प्रयोग गर्ने निधो गरे। साझेदारीमा भट्टा खोल्ने योजना बन्यो। अहिले गाउँमै इँटा उद्योग सञ्चालन गर्छन्। चालिस वर्षका भए। भट्टाकै आम्दानीले परिवार चलेको छ, छोराछोरी पढाएका छन्। दुई छोरा र एक छोरीको शिक्षादीक्षा राम्रै चलिरहेछ।

४५ वर्षीय चतुरले भने जम्मा दुई दिन मात्रै स्कुल देखेछन्। त्यति बेला कुटी कुटी पढाउने चलन थियो। चतुरलाई स्कुल गएकै दिन शिक्षकले पिटेछन्। पहिलो दिनै चुटाइ खानुपरेपछि स्कुल देख्तै डर लाग्न थाल्यो। त्यसपछि त्यता हेर्नै मन लागेन। स्कुलप्रति नै विरक्ति बढेछ।

‘अर्काको कुटाइ खानुभन्दा त बाख्रा चराउनु बेस भनेर स्कुलै जानु भएनछ बुबा’, सागरले सुनाए।

बिहे गरेकै वर्ष ऋणको भार लिएर छुट्टिएका चतुरको ब्याज बढ्दै गयो। बहिनीहरुको बिहे भयो, त्यसको ऋण थपियो। पछि भाइ कृष्णको बिहे भयो, त्यसको पनि ऋण चतुरले नै बेहोर्नुपर्‍यो।

‘अङ्कलको बिहेपछि ऋणको पनि भागबन्डा भयो’, सागरले सुनाए- ‘बुबाको भागमा फेरि १२ हजार ऋण थपियो।’

ऋणको प्रभावले आर्थिक अवस्था उकास्नै नसकिएको अनुभव सानैमा लिए सागरले। कसरी तिर्ने ? विकल्प थिएन। त्यही भट्टाको साहुसँग लियो, निरन्तर तिर्‍यो, तिरिरह्यो। ऋण लिएर पनि राम्रोसँग काम गर्न सकेन चतुरको परिवारले। राम्ररी काम नभएपछि भट्टामा पनि ऋण थपिँदै गयो। ब्याज त उसै थपिने भइगयो।

कमाएको पैसा उपचारमै सकियो। कहिले छोराछोरीको उपचार, कहिले श्रीमतीको उपचार। यता दौडाउँदा र उता कुदाउँदा कान्छी छोरीको उपचारमा ६० हजार सिद्धियो। छोराछोरीको उपचारबाट भर्खर मुक्ति पाएका चतुरकी पत्नीको पाठेघरमा अचानक समस्या देखियो।

६ जना बच्चा जन्माइन् सागरकी आमाले। बालविवाह, त्यसमाथि ६ सन्तानको जन्म। त्यसको प्रभाव पाठेघरमा नपर्ने कुरै भएन। पाठेघरको अपरेसन गर्न फेरि ऋण लिए- उही भट्टाबाट।

केही गर्दा पनि ऋण सकिँदैन। हरेक वर्ष कमायो तिर्‍यो, अर्को भट्टामा जान पाउनु पनि छैन। बँधुवा मजदुर नै थिए उनीहरु, अघोषित रुपमा।

भट्टामा चतुर एक्लै थिएनन्। श्रीमतीको सहयोग सुरूदेखि नै थियो। जेठी छोरी पनि बेला बेला सहयोग गर्न आउन थालिन्। सागरले सानैदेखि सहयोगै गरे। जसले जति सहयोग गरे पनि ऋणमुक्त भने हुन सकेनन्। आफ्नै बिहेको ऋण तिर्न बाँकी रहेका चतुरलाई छोराछोरीले ‘बाउको बिहेको ऋण’ तिर्न धेरै सघाए। तर यता टाल्दा उता टाल्दा ऋणमुक्त भएनन्। धेरैजसो पैसा परिवारको उपचारमै सकियो। अहिले पनि सानोतिनो बिरामीले छाड्दैन। धुलैधुलोमा गर्नुपर्ने काम। कोही न कोही त बिरामी भएकै हुन्थे। अस्पताल छोइसक्नु थिएन। ‘अस्पताल भन्नु मत्रै, सामान्य बिरामी भए पनि कम्तीमा दुई हजार त सकिइहाल्छ।’ सागरले सुनाए।

कुराकानी गरेको वर्ष चतुरले इँटा भट्टासँग थप तीन लाख रूपैयाँ ऋण लिएका थिए। अब कहिले तिरिसक्नेको हो, ठेगान छैन।

सागरको लामो कहानी सुनियो। उनको परिवार कहिले ऋणमुक्त होला ? ऋणुमुक्त भएको सुन्न पाएको छैन अझै। अहिलेसम्म पनि तिरिसकेको छैन ऋण।

यथार्थमा यो त प्रतिनिधि कथा मात्र हो। यस्ता कथा सागरका मात्र होइनन्, चतुरका मात्र पनि होइनन्। यस्ता थुप्रै कथा छन् समाजमा।

मलाई थुप्रै सागर अनि धेरै चतुरहरुका कथा सुन्नु थियो।

भट्टाका श्रमिक मात्र होइन, सडक मजदुरका कथा सुन्नु थियो। घरेलु श्रमिकका कथा पनि सुन्नु थियो। श्रमिक मुक्त बनाउन पहल गर्नेका सङ्घर्षका कथा पनि सुन्नु थियो। घरेलु श्रमिकका रुपमा रहँदा बिताएका दासतापूर्ण जीवनका कथा सुन्नु थियो। दासताको जन्जिरबाट उम्किएकाहरुका कथा सुन्नु थियो।

अभिभावकले झेल्ने समस्याले बालबालिकामा पनि मनोवैज्ञानिक असर पर्छ। घरलाई कसरी ऋणमुक्त बनाउने ? यही चिन्ताले उनीहरु भट्टामा काम गर्छन्। घरकै समस्याले गर्दा कोही अरुको घरमा गएर श्रम गर्छ। कोही होटलमा श्रम गर्छ। जहाँ श्रम गरे पनि बेग्लाबेग्लै व्यवहार तर समान समस्या भोगिरहेका छन् बाल श्रमिकहरु।

आधुनिक दासताका अनेक कथा सुन्नु थियो मलाई। दासता र दासता विरोधी गतिविधिका कथालाई पुस्तकमा लिपिबद्ध पनि गर्नु थियो।

यही उद्देश्यले भट्टामा सागरका कथा सुनेपछि दासताको जन्जिरबाट उम्किएकाहरुको खोजी गर्न घर घर गएको थिएँ। बस्ती बस्ती धाएको थिएँ। जिल्ला जिल्ला डुलेको थिएँ।

(लेखक तथा पत्रकार दामोदर न्यौपानेको पुस्तक दास प्रथाको नयाँ रूपबाट)

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.