पृष्ठभूमि
एक दिनका लागि
मान्छेहरू दीर्घ प्रतीक्षामा छन् ।
कहिले, कसरी, कुन रूपमा आउँछ
दीर्घ उत्सुकतामा छन् ।
मान्छेहरूलाई विश्वास छ,
सबैका दिन आउँछन् भन्ने
एक दिन कसो नआउला त ?
त्यही दिनका लागि मान्छेहरू प्रतीक्षामा छन् ।
………..
अवधारणाा :
कवि युध्दप्रसाद मिश्रले भनेको
एक जुगमा आउने त्यो एक दिन
सबैका लागि आउँछ ।
कसै कसैलाई सधैंका लागि आउँछ ।
जीवनमा उमंग, जोश र हौसलासहित
उज्यालो बिहानी र सुनौलो भविष्य लिएर
नयाँ गीत गाउँदै एक दिन निश्चय आउँछ ।
र, यसरी नै एक दिन,
मेरा लागि पनि आयो ।
हो कि होइनजस्तो गरेर,
आँधी हुरी, बतास र झरीझैं
ऋतुहरूमा पालुवा फेरिएजस्तै गरेर
सामर्थ्य हेर्न हो या जीवन फेर्न हो !
धुमधामसँग आयो,
यो जुगको एक दिन, आफ्नै आँगनमा
छमछमी नाच्दै आयो ।
…….
विषय प्रवेश :
हो ! त्यही दिन मेरो जन्म भएको हो ।
उषाकालमा मैले धर्ति टेक्दा
च्याँ….. गरेर म रुएको सुन्दा,
मेरा बाआमा मुसुक्क हाँसेका थिए ।
खोइ कस्ता हुन् सपना साँचेका थिए ।
मैले हो या समयले मेरो नाममा तिमी लेखेको,
त्यही दिन हो मैले उनलाई देखेको ।
भमराले फूल देखे जसरी,
मैले धर्ति टेके जसरी,
मेरै लागि भनेर तिमी आयौ
जीवनमा उत्सवको बहार ल्यायौ ।
………
लक्षित कुरा :
मान्छेको जीवनमा
एक दिनको महत्त्व बिछट्टै हुन्छ ।
यो एक दिन साँच्चै गज्जबको हुन्छ ।
म एक दिनको कुरा सम्झन्छु !
कलिला थिए जुँगा, काला थिए दारी,
गम्भीर थियो अनुहार, रातो थियो सारी ।
म तिम्रो सपनाको राजकुमार थिएँ कि थिइनँ,
मैले सपनामा परी देखेँ कि देखिनँ !
सात जन्मका लागि अग्नि साक्षी राखेको पनि होइन,
कुनै दिन मन दुखाएर ठुस्स पर्नु परेको पनि छैन ।
तिम्रो राजकुमार म र मेरी तिमी नै हौ
एक दिनको उपहार सधैं साथमा छौं ।
त्यही एक दिन
एउटा सुखद संयोगले
तिम्रो र मेरो मिलन भएको थियो ।
………..
मध्य कुरा :
त्यही दिन शायद !
सूर्यका किरणसँगै तिम्रा सपनाहरू बिउँझिएका थिए ।
हो, त्यही दिन,
मेरो नाममा कसैको मनमा हलचल मच्चिएको थियो ।
कोही कसैका लागि व्यग्र प्रतीक्षामा थिए ।
त्यो दिन
एउटा अन्योलजस्तो,
एउटा अन्धकारजस्तो,
उत्सुकता अनि उत्साहजस्तो,
खै कस्तो कस्तो,
छटपटी, तनाव र रोमाञ्चकताजस्तो ।
त्यो दिन सम्झन्छु !
युग परिवर्तनको प्रसव वेदनाजस्तो ।
हो त्यही दिनबाट शुरु भएको हो यो कथा ।
कथाको उमेर आज पच्चीसको भएछ ।
कथा जवान हुँदा, कथाको पात्रको
जुँगाले कलिलोपन त्यागेछ
दारी तिलचामल भएछ ।
पात्रको उमेरले अधबैंस काटेछ ।
…….
उपलब्धी :
सम्पत्ति भन्नू के हो रछ र !
के पाइयो के गुमाइयो कुनै परवाह छैन ।
हिजो छरपस्ट सपना थिए, आँखा थिएन ।
आज आफ्नै सुनौला बिहानी छन् ।
दुई आँखाका नानी छन्,
नानीमा सपनीका खानी छन् ।
पुतलीजस्ता हाम्रा प्यारा परीहरूको
जादुमयी कहानी छन् ।
अनुहारमा सन्तुष्टिका रेखाहरू छन्,
सारीको सप्कोसँगै रहरका दुपट्टा छन् ।
अन्योल र अन्धकारको कुनै गुन्जायस छैन ।
जालजेल र षडयन्त्रलाई कुनै स्थान छैन ।
यति भए जीवनमा अरू के नै चाहियो र !
…….
अनुभूति :
यो एक दिन हाम्रा लागि युग युगको उपहार भो ।
उजाडजस्तो जीवन सधैं गुल्जार भो ।
कहीं कतै उजाड र मरुभूमि छैन,
यो कुनै कल्पना या सपनामा होइन
साँच्चै जीवनमा, कहिल्यै झुक्न परेन ।
प्रेममय यात्रामा सन्तुष्टिको सिलसिला हो यो ।
स्वैरकल्पनाको होइन, आफ्नै सामर्थ्यको
भाग्यको समुद्र होइन, कर्मको सगरमाथा चढ्ने
श्रमजीवी राजकुमार र मिहिनेती परीको कथा हो यो ।
…….
टुंग्याउनी :
एक दिन नै हो बाँच्नुपर्ने,
एक दिन नै हो हाँस्नुपर्ने ।
यत्तिका लागि हो जीवन साँच्नुपर्ने ।
हरेक दिनलाई उत्सव बनाउन
हरेक रातलाई उज्यालो तुल्याउन
उठबसका मात्र होइन
रसरंगका पनि कुरा हुन्छन् ।
कुरै कुराको एक दिन कहानी बन्छन् ।
जसरी हाम्रो एक दिन, कथामय बनिरहेको छ ।
हरेक पलले शुभकामना भनिरहेको छ ।
।।समाप्त ।।
२०७९/११/१०