खेमलाल पहारी
सधैं आमा म गएँ है भन्ने छोरा बिरालोको चालमा बाहिर निस्केको देखेर आमा छक्क परिन् र दगुरेर बाटोमा पुगिन्। पुसको कठ्यांग्रिँदो जाडो, हप्तादिनदेखि शीतलहरले कायम गरेको साम्राज्यलाई छोराले एउटा सामान्य कमिज सुरुवालले चुनौति दिएको देखेर बुढीमाउलाई आफैँप्रति दया लागेर आयो।
सुईटर लगाएको खै त, बाबु ? आमाको ममता बोल्यो।
पारुको झोलामा परेछ, म उतैबाट लिन्छु भन्दै ऊ कुलेलम ठोक्यो।
कस्तो गतिछाडा रहेछ, यस्तो हिउँ परेको बखतमा आफ्नो आङ्को कपडा खोलेर साथीको झोलामा कोचेर हिंड्ने ए, भरे आउँदा नभुलि ले है। उनले निधारमा दुवै हत्केलाको पाली हालेर भनिन्। ल, ल भन्दै लाले कुद्दै गयो रफ्तारमा।
बाटोमा लालेले सोच्यो, यदि पारु पढ्न आइन भने ? ला, पढाइ सकेर मलाई उसको घरमा पुगेर फर्किंदासम्म त आधा गाउँ सुतिसकेको हुन्छ। फेरि पारु घरमा रहिनछे भने मैले के भनेर आफ्नो सुइटर माग्नु?
साँच्चै त्यसले सुइटर धुन त धोई ? सुकेन भनेर नल्याउने त हैन ? मैले आमालाई के भनेर टार्नु? भरे बलाई भनेर पिटाउनु पो हुन्छ कि। ह्या, धुन हालिछे, चिसैछ रे भनिदिन्छु, भोलि छुट्टि छँदैछ, आइतबारसम्म त कसो नसुक्ला? त्यान्द्रै त्यान्द्रामा पाठशाला पुगेको लालेले थाहै पाएन तर दिनभरि विद्यालयमा के के पढाइ भयो, उसले पटक्कै बुझेन।फर्किने बेलामा साथीहरूले भने, के हो यार, आज त ढोकाबाट बाहिर हेरेरै दिन कटाइस्, के भयो ?
साँझ विद्यालयबाट लाले डराई डराई घर त आयो तर तगारोबाट भित्र पस्न सकेन। आमाले बाटोमै गएर छोराको झोला समातेरभित्र ल्याइन्। लालेले कसैको मुख नहेरी खाना खायो, मानौ ऊ ठूलै अपराधमा समातिएको थियो।
आमाले खाना थपिदिन बाबु, भनेर बोलाउँदा उसले हड्बडाएर भन्यो, ‘पारु आज स्कुल नै आइन।’ आमा खित्का छोडेर हाँसिन्, बुबा ट्वाल्ल परे। ऊ, पाकेको मेवा, फतक्क गलेर आमाबाबाका अघिल्तिर फ्यात्त झर्यो।बिस्तारामा आमाले बासँग छोरालाई नयाँ सुइटर ल्याइदिन भनिन्।
झण्डै हप्ता दिन लालेले विद्यालयमा कक्षाकोठाको ढोकाबाहिर हेरेरै बितायो। हरेक साँझ उसले आमालाई पारु त्यसदिन पनि विद्यालय नआएको बतायो। अर्को हप्ता छोराका कुरा सुनेपछि आमाले सोधिन्- पारु पढ्न आइनन् कि उनले सुइटर फिर्ता दिन मानिनन्? लाले अकमक्क पर्यो, एक घुट्को थुक निल्यो र आमालाई नियालिरह्यो।
छोराको कपाल मुसार्दै आमाले भनिन्, ‘तिमीले पारुलाई सुइटर खोलेर दिएको भोलिपल्टै पारुकी आमा यहाँ आएकी थिइन्।मेरी छोरीबाट ठूलो पाप भयो दिदी । लाले बाबुको सुइटर खुनले लतपत छ। म के गरौ? यो पाप कटनी कसरी हुन्छ भनेर सोधिन्। शुरुमा त मलाई निकै रिस उठेको थियो र पछि डर पनि लाग्यो। पछि उनले पारुले भो भो हामी तल्ला जाति पाप लाग्छ भन्दाभन्दै तिमीले बल जफत …….
आमा मैले त्यस्तो जातभात केही सोचिन मात्र यत्ति सोचें कि म उसको सवैभन्दा नजिकको साथी हुँ।क्षमा गर्नुस् आमा अनि बालाई नभन्नु है, ऊ झण्डै रोयो।
बाबु यहीं बस् है भन्दै आमा भित्र गइन्। लाले मनमा कुरा खेलाइरह्यो। ‘ला तँलाई बाले नयाँ सुइटर ल्याइदिनुभाछ।’ आमाको हातमा विद्यालय पोशाकको सुइटर देख्दा लालेलाई विश्वासै लागेन।
बा ले ……प नि……
हो तेरो कारनाम बाले पति थाहा पाउनु भयो।
के भन्नु भयो त ? पिट्नु त हुन्न ?
पिट्ने भए नयाँ सुइटर आउँथ्यो होला त ?
लाले लाजले रातै भयो।
आमाले उठ्दै भनिन्, ‘अब तेरो सुइटर धोई पखाली पारु आफैँले लगाउने भई। लालेले आफ्ना दुबै हातका बुढी र चोरी औंलाले आफ्नो छातिको गन्जीको छेउ छेउ उठाएर पारुको वक्षस्थलको आकार बनाएर मुसुक्क हाँस्दै ढोकतिर फर्कियो । आमा उसैलाई हेरेर मुसुमुसु गर्दै थिईन्। लाले बेतोडले बारीतिर कुद्यो।
धेरै दिनपछि पारु विद्यालय आई। सधैं लालेसँग बस्ने ऊ त्यसदिन भिन्दै बसी। लालेले पनि खै उता सर्न भन्ने आँट गरेन। ऊ खाजामा पनि गइन न त अरुले दिएको नै खाई। खाली घण्टीमा दिले, नरे, लाले, सीता, तारा सबैजना खेले तर उसले परैबाट हेरिरही। अरुदिन नेता बन्नुपर्ने साथी धेरै दिनपछि भेट्दा पनि नौलीझैं अलग्गै बसेकीले साथीहरूले पनि लामो समय खेलेनन्।
लालेले साँझ दिउसोको सबैकुरा आमालाई बेलिबिस्तार लगायो। भैगो नि त नबस्नेलाई नबस्न दे। पारु नखेले नखेलोस्, अरुसँग खेल। उसो पनि पारु अब तिमीहरूसँग खेल्दिन।
किन आमा ?
ऊ ठूली भइसकी, बदलिई ऊ।
हो पारु पुरै बदलिएकी थिई । ऊ कक्षामा प्राय एक्लै बस्थी। सोधेको कुराको जवाफ दिन्थी नत्र मूर्तिझैं शान्त बस्थी । बाटोमा पनि ऊ साथीहरूको रमाइलो गफमा भुल्दैनथिई। पहिले गाउँमा बेलाबखत आयोजना हुने नाच-गान, जात्रा मेलामा ऊ पुगेकै हुन्थी तर विस्तारै उसको घरआँगन नै उसको सिङ्गो संसार बन्न पुग्यो। साँच्चै पारु फेरिइसकेकी थिई।
लाले नौमा पुग्दा पारु बेहुली बनी। उसले दशौँ कक्षाको खुड्किलो नटेक्दै नरेले भन्यो, ‘लाले, हामी मामा भयौं।’
पारुले पन्ध्रै वर्षमा नानी पाएकी रहिछ।
लाले र उसका दौंतरीहरू प्रवेशिकाको तयारीमा जुट्दै गर्दा एक दिन आमाले भनिन्, ‘बाबु, पारुले भेट्न खोजेकी छ अरे आज ट्युशनबाट उतै जानु, साथीहरू पनि लैजानु।’ लालेले आमाका आँखामा आँशु देख्यो।
पारु उनको घरमा आमाबासँग सिलाएका कपडा लिएर आउँदा आमा उसलाई बाहुनी भएकी भए तँलाई छोरी समान बुहारी बनाउँथें, लोकको पनि ख्याल राख्नैपर्यो हेर। अर्को जुनीमा कि बाहुनी हुनु कि हामी पनि तेरै जातमा जन्मन पाऊँ भनेर जिस्काउँथिन्। ऊ आमाको कपालमा ठुम मार्दामार्दै रिसले आगो हुन्थी र आमालाई भुतेलेर बाटोतिर कुद्थी। लालेले सोच्यो आमाले त्यही सम्झिइन् होला।
साँझ लाले नरे र अरु साथीसँगै पारुकोमा पुग्यो। आँगनभरि मानिस थिए। उनीहरूलाई देखेपछि ल इस्कुले साथीहरूलाई बाटो देओ, कसैले भन्यो। केटाकेटी भित्र छिेरे। मझेरीमा एउटा खाट थियो। खाटमा पारु कोल्टो परेकी थिई। नजिकै उसको नवजात शिशु खेलिरहेको थियो। उसको गोडापट्टी उसकी छोरी उनलाई एकोहोरो हेरिरहेकी थिई।मानौं भन्दैथिई, आमै,मेरो भागको दूध मेरो मुखबाट तिमीले किन खोसेकी ?
तर कमजोर भएर होला सायद ऊ पनि आफ्नो अधिकरको लागि आमा र भाइसँग लड्न सकिरहेकी थिइन। कसैले भान्जी भतिजी समाते त कसैले भानिज भतिज। सुत्केरी बस्न आएकी ? किन यति छिटै दुई दुईटा ? लालेले हप्काउने हिसाबले सोध्यो। अरुले हो मा हो मिलाए।
‘बल्ल यति बेला हो भेट्न आउने? पारुले प्रतिप्रश्न गरिन्, ‘म त तिमीहरूलाई नदेखी मर्छु कि भन्ने सोच्दै थिएँ।’ उनको स्वर बटारिएको थियो। लालेलगायत सबै झस्किए। बाँकी समय मुखामुख गरेरै गयो। पछि जान्ने आएपछि सबै बाहिरिए। साथीहरू सबैले एक स्वरमा रगतको कमी वा कम उमेरमा दुई दुईपटक आमा बन्नुपर्दाको असर होला भन्दै गर्दा झाँक्रीले देवी लागेको र पूर्णेको राति कालो बोको मन्साउनुपर्ने भन्दै सामान टिपाएर गए।
लालेले साथीहरूलाई भन्यो, ‘जाऔं आमालाई भनेर पारुलाई अस्पताल लान भनौं।’ पारुसँग विदा माग्दै लाले आमालाई बोलाउन गयो। ऊ ढोकाबाट निस्कँदै गर्दा पारुले भनिन्, ‘कम उमेरमा विहे नगर्नु है लाले। अनि श्रीमती २० की नभै आमा नबनाउनु। छोराछोरीलाई सकेजति पढाउनु तिम्रो सुइटर …… भन्दै उनले हात यताउता फिराइन्।
तबसम्म लाले दगुरेर तगारो कटिसकेको थियो।
आधा घण्टामा लाले चारपाईसहित आमाबालाई लिएर फर्कँदा पारु चीर निद्रामा पुगिसकेकी थिइन्। उसले पारुको शवलाई नियालेर हेर्यो। शिरानीमुनिबाट एउटा निलो सुइटर उसलाई चियाइरहेको थियो।
पारुको यात्रा बीचैमा रोकिए पनि लालेहरूको बयलगाडा रुपी जीवनचक्र निरन्तर घुमि नै रहेको थियो।
त्यस वर्ष माघको अन्तिम सातादेखि लालेको प्रवेशिका परीक्षा सुरुभयो।
केन्द्रमा जिल्लाका थुप्रै विद्यालयका विद्यार्थीहरू सँगै बसेर परीक्षा दिइरहेका थिए। त्यस दिनको समय सिद्धियो। सबैले उत्तर पुस्तिका बुझाएर उठे। लालेको दुई मेच अगाडिकी नानी उठिन उठ्दै उठिन्। उसलाई कटेर बाहिर निस्कँदै गरेको लालेले खै के सोचेर हो, पछाडि दायाँ फर्केर हेर्यो र हत्तपत्त आफ्नो सुईटर खोलेर भन्यो, ‘पारु, उठ् ।’ त्यो नानी थर्र काँप्दै जुरुक्क उठी।
लालेले लाली छाएको उसको सेतो जामाको पृष्ठभाग छोपिने गरी उनको कम्मरमा आफ्नो सुइटर बाँधिदियो।किंकर्तव्यविमुढ उसले गहभरी आँशु बोकेर लालेलाई हेरी। लाले नराम्ररी झस्कियो र उभिएकै ठाउँमा पारु… भन्दै भुईंमा बजारिन पुग्यो। सुन्नेहरू सबै जम्मा भए। लड्दा मेचमा बजारिएर उसको शिरबाट रगतको लाभा भुइँमा फैलिइरहेको थियो।
उसको शिरमा पट्टि बाँध्ने कपडाकोलागि साथीहरू यत्रतत्र कुदिरहँदा लालेको सुइटर फेरि कुनै नारीको लाज छोप्न काम लागेको थियो। मुर्छित लालेका आँखा माथि अनन्तमा अडिएका थिए।साथीहरूले अनुभव गरेस् नयन भरि हर्षाश्रु लिएर पारु लालेको अगाडि उभिएर उसको सुइटर सुमसुम्याइरहेकी थिइन्।