काठमाडौं- सार्वजनिक विदाका दिन घरमै बसेर मिठा परिकारको स्वादमा रमाउनेहरूको संख्या दिनानुदिन बढ्दो छ। कोही शाकाहारी परिकार बनाएर खान रुचाउँछन् त कोही मांसहारी।
आज हामी भने एक स्वादिलो मांसहारी परिकार बनाउने तरिकाबारे पाठकहरूलाई जानकारी दिन गइरहेका छौं। र, त्यो मांसहारी परिकार हो, खसीको टाउको सुप।
आवश्यक सामग्री
(१) खसीको टाउको गर्धनसहित
(२) प्याजका टुक्रा
(३) अदुवा र लसुनको पेस्ट
(४) गरम मसला (सुकुमेल, तेज पत्ता, जाइफल, दालचिनी, ल्वाङ, बेसार, मरिच, जिरा, धनिया सबैको धुलो)
(५) हरियो खुर्सानीका टुक्रा
(६) धनियाँ पत्ता
(७) टुक्र्याइएको गोलभेडा
(८) टिमुरको धुलो
(९) नुन र मरिचको धुलो

बनाउने तरिका (कुकर प्रेसरमा)
शुरुमा खसीको टाउकोलाई खानयोग्य हुने गरी टुक्र्याउने। त्यसपछि कुकर प्रेसरमा तोरीको तेल तताउने। अनि गरम मसला हाल्ने। त्यसपछि मसलाको फेभर आउँछ। अनि प्याजका टुक्रा हालेर रंग आउने गरी भुट्ने।
त्यसपछि स-साना टुक्रा बनाइएको खसीको टाउको हाल्ने। र, त्यसलाइए मज्जाले भुट्ने। बेसार हाल्ने। अनि गरम मसलाको धुलो हाल्ने। अदुवा र लसुनको पेस्ट हाल्ने। फेरि भुट्ने।
त्यसपछि हरियो खुर्सानी, धनियाँ पत्ता र गोलभेडाका टुक्रा हाल्ने। केहीबेर मज्जाले भुटेर पानी हाल्ने अनि उमाल्ने। त्यसपछि प्रेसर कुकरको बिर्को लगाउने। र, पाक्ने गरी ६-७ सिठ्ठी लगाउने। त्यसपछि खसीको टाउकोको सुप खानको लागि तयार हुन्छ। परिवार बसेर प्रेमपूर्वक स्वादिलो र पोषिलो सुप खाने।