विदा दिएर जनताप्रेमी देखिन खोज्नु एउटा छलछाम मात्र हो। गरिब नेपालीविरुद्ध धोखाधडी हो, अन्याय हो। किनभने यो विदा नभई फरक ढंगमा गरिएको नेपाल बन्द थियो।
प्रश्नै प्रश्नको घेरोमा सत्ता
१ फागुनमा जनयुद्ध दिवसको विदा दिनुले आशंकाहरू बढाएका छन्। के प्रधानमन्त्री पदको आयु सकिएको हो? आज या भोलि जुनसुकै बेला सरकार ढल्नसक्ने अवस्था आएको हो? प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरूलाई केही गरेको देखाउन परेको हो? २७ पुसको राष्ट्रिय एकता दिवसको विदालाई ‘न्युट्रलाइज’ गरेको हो?
प्रधानमन्त्री स्वयंले सार्वजनिक विदा धेरै भए भनिराख्दा त्यस्तो के आपत् आइलाग्यो अपर्झट विदा घोषणा गर्न? पुराना गल्तीहरू स्वीकार गर्ने प्रधानमन्त्रीले किन नयाँ नयाँ गल्तीहरू गर्दैछन्? विदामाथि विदा थप्दा त्यसले धनीलाई कि गरिबकै खप्पर हान्ने हो? विदैविदाको देश भनेर चिनिने भएपछि कुनचाहीं वैदेशिक लगानीकर्ता आफ्नो पुँजी डुबाउन नेपाल आउला?
आन्दोलन र युद्ध प्रचण्डको माओवादीले मात्र गरेका थिएनन्। मानिसको हत्या गर्ने आन्दोलन र युद्ध मधेशी जनाधिकार फोरमहरूले पनि चलाएका थिए। टीकापुर काण्ड पनि हत्या-हिंसाको शृंखला नै थियो। आन्दोलन, विद्रोह र क्रान्तिको दाबी गर्ने अरू पनि थुप्रै होलान्। ‘जनयुद्ध’ नाम माओवादीलाई प्यारो होला, अरूको लागि सन्त्रासयुक्त शब्दावली हुन पनि सक्छ। सबै नेपाली माओवादी थिएनन्।
जनयुद्धभित्रको सुरुङ युद्ध
खुलासा भइसकेको तथ्य के हो भने प्रचण्ड भारतमा बसेर जनयुद्ध हाँक्थे। भारत सरकारविरुद्ध केही नगर्ने भनेर कागज गरेका थिए। भारतकै सपोर्टमा जनयुद्ध रचिएकोमा कुनै शंका छैन। सुरुङ युद्ध नामको रणनीति फगत् लडाकु झुक्याउने चालबाजी थियो। जनयुद्धको समापन पनि दिल्लीमा गरियो १२ बुँदेको आवरणमा। यी तथ्यहरूले बताएका छन् कि प्रचण्डको नभई भारतको रणनीति थियो यहाँको जनयुद्ध।
यो एउटा प्रोक्सी वार थियो, जसमा प्रयोग भएका थिए नेपालका माओवादी नामका नेताहरू। कार्यकर्ताहरू चाहीं असहाय, निरुपाय, गरिब नेपाली थिए, जसलाई परिवर्तनको सपनामा भुलाइएको थियो।
२०४६ सालको आन्दोलनले अपेक्षित दिशा र गति हासिल गरेन। तत्पश्चात् बनेका ०४७-५२ तिरको सत्ताले पुर्याएको आम निराशा कहालीलाग्दो थियो। यसै पृष्ठभूमिमा उदाएको थियो विद्रोह। यसमा कसैले नायकत्व लिन जरुरी छैन। तात्कालिन चल्तीका नेताहरू यसका दोषभागी छन्।
सबैको लागि गणतन्त्र दिवस
ठूलो जनमतका साथ प्रचण्ड सरकारमा गएकै हुन्। अनावश्यक लफडाबाजी गरेर सरकारबाट बाहिरिएकै हुन्। त्यसपछि जनयुद्धको परिवर्तित स्वरुप धनयुद्ध भएको सबैले थाहा पाएकै विषय थियो। जनयुद्ध नामको रक्तपात व्यहोरेका उनकै कार्यकर्ताहरू खाडीका सस्ता श्रमिक भएको सत्य कतैबाट छिपेको छैन। अब के को जनयुद्ध? कहाँ छ जनयुद्ध?
यो देशमा द्वन्द्व निम्त्याउनेहरू मात्र छैनन्, द्वन्द्वमा सहभागी नभएकाहरूको संख्या धेरै छ र तिनले किन मान्ने जनयुद्ध दिवस? जनयुद्ध सिर्जित घाइते, अपांग, विस्थापितलगायतका पीडितहरूले किन मान्ने? कथित जनयुद्ध सकिएको दुई दशक हुनलाग्दा किन छैन अपेक्षित प्रतिफल? के कागजी गणतन्त्रले नागरिकका अपेक्षाहरू पूरा गर्छ?
मुलुकमा गणतन्त्र दिवस छँदैछ। त्यसदिन विदा दिने मात्र नभई टुँडिखेलमा परेड आयोजना नै हुने गरेको छ। त्यसमा किन हुँदैन जनताको स्वतःस्फूर्त सहभागिता? सेना प्रहरीले मनाइदिनपर्ने गणतन्त्र दिवस? माओवादी सरकारले बुझ्न आवश्यक छ कि गणतन्त्र दिवस नै विगतमा भएका सबै प्रकारका आन्दोलन, क्रान्ति, विद्रोहहरूको वार्षिकोत्सव मनाउने दिन हो।
विदा दिएर जनताप्रेमी देखिन खोज्नु एउटा छलछाम मात्र हो। गरिब नेपालीविरुद्ध धोखाधडी हो, अन्याय हो। किनभने यो विदा नभई फरक ढंगमा गरिएको नेपाल बन्द थियो। एउटै अस्त्रले प्रचण्डले दुई लक्ष्य भेदन गर्न खोजेको देखिन्छ। एक- कार्यकर्ताहरूलाई उचाल्न नकारात्मक प्रेरणा दिने। दुई- नेपाली जनतालाई ‘म अझै धेरै खराबीहरू गर्न सक्षम छु’ भनी सन्देश दिने। यसप्रकारको चालबाजी जति गर्नु थियो, सो मञ्चन भइसक्यो भन्ने बुझ्नचाहीं बाँकी नै देखियो।