बाटामा छु अर्थात् अलपत्रमा छु
बाटामा छु अर्थात् अलकत्रमा छु
बाटामा छु अर्थात् खत्रामा छु
बाटामा छु अर्थात् जात्रामा छु
बाटामा छु अर्थात् यात्रामा छु।
मान्छे किन बाटामा आउँछ ?
जब जब म बाटामा हुन्छु
तब तब मलाई लाग्छ कि यो बाटो कसले बनायो ?
मान्छेले बाटो बनायो कि बाटाले मान्छे बनाए ?
जब कसैको तरक्कीको कुरा आउँछ
मान्छे बाटो नै खोजिरहेको भेटिन्छ।
मैले कयौं बाटाहरूले मानिस पर्खिरहेको पनि देखेको छु
बाटाका विरक्तीका कयौं कथा व्यथा लेखेको छु।
लाटाको खुट्टो त एक दिन बाटामा पर्छ भन्छन्
खुट्टो नभएकाहरूले समेत बाटो भेटेका छन्।
बाटोलाई खुट्टो हुनु नहुनुसँग साइनो सम्बन्ध छैन।।
कोही कतै नहिँडेको भुईंमाटोलाई बाटो भनिँदैन ।
जीवनमा बाटो नभेटेर रनभुल्लमा परेको मनुवाभन्दा
खुट्टो नभेटेर जंगल भएका बाटाहरू धेरै छन्।
बाटाका लागि मान्छे मात्र होइन,
मान्छेका लागि बाटाहरू पनि प्रतीक्षामा छन्।
अझै मानिसहरू बाटा नभेटेर भौंतारिरहेका छन्।
गजब छ यो मान्छे र बाटोको सम्बन्ध !
अर्थात् मेरो र यात्राको सम्बन्ध !
बाटाको माया हो कि मायाको बाटोले हो !
आज फेरि म यात्रामा छु अर्थात् बाटामा छु।
ठेगान हराएर अलपत्र परेको मान्छे
अलकत्र खोज्दै बाटाबीचमा उभिएपछि
जीवन हराएर सधैं खत्रामा परेको मान्छे
अनायासै जात्रैजात्रामा रुमलिएपछि
मान्छे र बाटोको सम्बन्ध द्वन्द्वात्मक बन्छ।
कि मान्छेले बाटो समाउँछ कि बाटोले मान्छे सिध्याउँछ।
जब यात्राका लागि मान्छे तयार हुन्छ,
जोखिमको सामना गर्न संकल्पसहित मुठ्ठी कस्छ।
अनि जात्रालाई यात्रामा र बाटोलाई माटोमा बुझ्छ।
बाटोको माटोमा मायाको रोमाञ्चकता थपिएपछि
सबै खाले खत्रालाई मात दिँदै जीवनमा उत्साह भरिन्छ।
अनि यसरी नै जीवनको बाटो खनिन्छ र अघि बढ्छ।
जसरी म आज बाटामा छु अर्थात् उत्साहमा छु।
बाटामा छु अर्थात् जीवन्ततामा छु।
बाटाको मायाले हो या मायाको बाटाले हो।
यतिबेला म बाटामा छु, अर्थात् आफ्नै माटामा छु।
अविरल, अवच्छिन्न, अनवरत, निरन्तरतामा छु।
त्यसैले त म सधैं बाटामै हुन्छु।
२०७९/१०/२८