काठमाडौं- उपत्यकाभित्र तीनवटा सुन्धारा छन्। तीमध्ये धरहरासँगैको सुन्धाराको चर्चा बढी छ। यसको ऐतिहासिक अस्तित्व जोगाउन सरकारले चासो नदेखाएको बताउँदै काठमाडौं महानगरपालिका-२२ का बासिन्दा र युवा क्लब विरोधमा उत्रिएका छन्।
शहरी विकास मन्त्रालयले पुरातात्त्विक सम्पदा धरहराको निर्माण गरिरहँदा सँगै रहेको सुन्धारा पुनर्निर्माणमा भने बेवास्ता गरेको खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोल बताउँछन्। उनीहरूले अभियान नै चलाएका छन्, ‘सुन्धारामा प्राकृतिक रूपमा पानी आउनुपर्यो। पानी प्राकृतिक रूपमै जानुपर्यो। कृत्रिम पानी चाहिँदैन।’
यस अभियानमा संकटा क्लब, भूलां सुधार समिति, खिचापोखरी युथ क्लब, त्वाः छें परिवार क्लब, साधारण क्लब र पाको युथ क्लब जोडिएका छन्।
शहरी विकास मन्त्रालयले ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माण गर्यो। तर, सँगै रहेको सुन्धारालाई चासो दिएन। ‘डे वानदेखि नै धरहरा पुनर्निर्माण हुन्छ भने सुन्धारा पनि निर्माण हुनुपर्छ भन्ने हाम्रो माग हो। तर, धरहरा निर्माणका लागि दिनरात लागेको पाइयो तर सुन्धारा निर्माणमा सरकारले ध्यान नै दिएन,’ डंगोल भन्छन्।
स्थानीयवासीका अनुसार निरन्तर विरोधपछि सुन्धारा निर्माणमा देखावटी भए पनि चासो देखाइएको छ। डंगोल भन्छन्, ‘ देखावटी हिसाबमा टालटुल गर्ने काम मात्रै भएको छ। त्यसमा पनि यहाँका स्थानीयवासी र विषय विज्ञसँग उनीहरूले सल्लाह लिएका छैनन्।’
उनीहरूले ऐतिहासिक सम्पदाको अस्तित्व जोगाउन र पुरानो शैली नमास्ने गरी प्राकृतिक पानी सुन्धारामा ल्याउनुपर्ने माग राखेका छन्।
सुन्धारामा पानी ल्याउन तीन विकल्प तय भएको धरहरा निर्माण गरिरहेको रमन कन्स्ट्रक्सनका इन्जिनियर सञ्जय नकर्मी बताउँछन्। पहिलो- बोरिङ गरेर भूमिगत पानी प्रयोग गर्ने, दोस्रो- मेलम्चीको खानेपानी पाइपलाइन जोडेर आपूर्ति गर्ने र तेस्रो- टुँडिखेलमा जम्मा हुने भूमिगत पानी संकलन गरी सुन्धारामा पठाउने।
खिचापोखरी युवा क्लबका अध्यक्ष डंगोलका अनुसार सुन्धारामा नियमित पानी ल्याउने तेस्रो अर्थात् टुँडिखेलमा जम्मा हुने भूमिगत पानी संकलन गरी सुन्धारा पठाउने विकल्प तीन वर्षअघि नै स्थानीयवासीले दिएका हुन्। त्यसका लागि यसअघि नै ३-४ वटा च्याम्बर ट्यांकी बनाइएको छ। वर्षायाममा चौबीसै घण्टा पानी आउने सुन्धारामा हिउँद लागेपछि केही मात्रामा पानी घटे पनि वैकल्पिक स्रोत तयार पार्न सके नियमित पानी आउने कुरामा स्थानीयवासी ढुक्क छन्। तेस्रो विकल्पअनुसार जाँदा एक थोपा पानी आएन भने मात्रै अन्य विकल्पमा जाने उनीहरूको अडान छ।

धरहरा निर्माण गरिरहेका ठेकेदारले तेस्रो विकल्पअनुसार काम नगरेका पनि होइनन्। तर, स्थानीयवासी र विज्ञको सल्लाहविना। सोही कारण पानीट्यांकी निर्माण गर्दा सुन्धारामा पानी आउने काठको मुख्य मुहान नै भताभुंग भयो। स्थानीय इन्द्रमान डंगोलका अनुसार सञ्चय कोषको भवन र काठमाडौं मल बनाउने बेलादेखि नै केही संरचना बनाउन परे स्थानीयवासी र विज्ञसँग सल्लाह लिन बारम्बार आग्रह गरिएको थियो। त्यसलाई निरन्तर बेवास्ता गरिएको उनीहरूको गुनासो छ। ‘एक्कासी आयो, झ्यामझुम खनियो, मुहान नै नभएपछि पानी आउने कुरै भएन। हाम्रो विरोध त्यही हो,’ डंगोल भन्छन्।
आयोजना प्रमुख के भन्छन्?
धरहरा पुनर्निर्माण आयोजना प्रमुख पोषनाथ अधिकारी भने सामुदायिक स्तरसम्म छलफल गर्न नभ्याउने भए पनि २२ नम्बर वडाका वडाध्यक्षसँग छलफल गरेर काम अगाडि बढाइएको दाबी गर्छन्। निर्माण व्यवसायीबाट संरचना बनाउने क्रममा केही संरचनामा क्षति पुगे पनि स्थानीयवासीले भनेको जस्तो कसैसँग छलफल नगरी काम गरेको कुरा सत्य नभएको उनको दाबी छ।
‘वडाध्यक्षलगायत अन्य स्थानीयवासीको सिफारिसमा परामर्शदाता एवं विज्ञ विश्व अमात्यसँग एक चरणमा छलफल भइसकेको छ। यो विषयमा हामी सिरियस छौं,’ उनी भन्छन्।
धरहरा निर्माण गर्ने आयोजनामा सुन्धारामा पानी ल्याउने लागत समावेश नभएको कारण अब कसरी अगाढि बढ्ने भन्ने विषयमा प्राविधिक पाटो र थप विज्ञसँग छलफल गरिरहेको उनी बताउँछन्।
सुन्धारामा पानी रिचार्ज कसरी ?
काठमाडौंको कोर एरियाको प्राकृतिक पानी बगेर सुन्धारा हुँदै टुँडिखेलमा जान्छ भन्ने मान्यता छ। यहाँका स्थानीय बासिन्दाले बुझेअनुसार यो कुरा सत्य हो। टुँडिखेलमा प्राकृतिक रूपमा बगेको पानी सुन्धारामा कसरी ल्याउन सकिन्छ भन्नेमा उनीहरू पनि चिन्तित छन्।

निर्माण कम्पनीले टुँडिखेलको पानी सुन्धारा लाने तेस्रो विकल्पमा काम पनि गरेका छन्। तर, खन्न हतार गरेको स्थानीय बासिन्दाको आरोप छ। स्थानीयवासी र विज्ञसँग छलफल गरेर काम गर्नुपर्ने हो तर केही छलफल नगरी काम भएको देखिनछ। धरहराको मात्रै जिम्मा पाएकाले सुन्धारातिर ध्यान नदिएर ठेकेदारले जसरी हुन्छ धरहरा निर्माण सकाउने भन्नेमा लागेको स्थानीयवासीको बुझाइ छ।
सुन्धारामा पानी ल्याउने कुरासँगै त्यो पानीको निकास कसरी गर्ने भन्ने अर्को चुनौती छ। स्थानीयवासीका अनुसार सुन्धाराको पानी भोटेबहालतिर जान्छ। तर, ठेकेदार कम्पनी कहिले टुकुचा कहिले त्रिपुरेश्वरमा निकासी गर्ने भन्ने अन्योलमा देखिन्छन्। ठेकेदार कम्पनीका इन्जिनियरलाई पानी निकासीबारे पहिला नै जानकारी दिएको भए पनि बेवास्ता गरेको स्थानीय बासिन्दाको आरोप छ। हुन्छ र गर्छौं भनेको तर त्यसअनुसार काम नगरेको उनीहरूको भनाइ छ।