काठमाडौं- यसपटकको निर्वाचनमा होमिएका कलाकारहरूमध्ये थोरैले मात्र जित निकाले भने धेरैजसो चर्चामै सीमित रहे। कलाकारहरू विभिन्न पार्टीमा प्रवेश मात्रै गरेनन्, जित्छु भन्ने अठोटका साथ चुनावी मैदानमा पनि उत्रिए। तर, आफ्नो कलाले जस्तो सजिलै मतदाताको मन लोभ्याउन पहाडै फोरेभन्दा कम सकस भएन।
निर्वाचनअघि धेरै चर्चामा रहेकी कलाकार हुन्, रेखा थापा। उनको चुनावी प्रचारप्रसार हेर्दा सहजै जित निकाल्ने अड्कल धेरैको थियो। नतिजा भने विपरीत आयो। हाल मतगणना जारी रहेको मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाबाट चुनाव लडेकी थापाले १० हजार ७१० मत बटुलेकी छिन्। उनको प्रतिस्पर्धा कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसँग थियो। कांग्रेसका शर्मा ४६ हजार ९३६ मतका साथ अग्रस्थानमा छन् भने एमालेका ढकाल २५ हजार ७४ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाकी थापा तेस्रो स्थानमा छिन्।
यस्तै, हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार ‘सितेबा’ अर्थात् मधुसुदन पाठक काठमाडौं-५ मा हाम्रो नेपाली पार्टीबाट चुनाव लडेका थिए। उनले जम्मा ३६४ मत प्राप्त गरे। सोही क्षेत्रबाट कांग्रेसका प्रदीप पौडेल १५ हजार २३७ मतका साथ विजयी भए।
कलाकारहरूले काठमाडौं मात्र होइन, आफ्ना गृहजिल्ला र अन्य क्षेत्रबाट चुनावमा भाग लिए। चलचित्र निर्देशक मनोज पण्डित काभ्रे क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार हुन्। ७० करोड भ्रष्टाचार गरेको काण्डमा मुछिएका एमाले नेता गोकुल बाँस्कोटालाई हराउन आफ्नो उम्मेदवारी रहेको उनले चुनावअघि भन्दै आएका थिए। तर, उनले जम्मा ५२ मत प्राप्त गरे। यस क्षेत्रमा एमालेका बाँस्कोटाले जितेका छन्।
चुनावमा भाग लिएका कलाकारमध्ये प्युठान प्रदेशसभा ‘ख’तर्फ निर्माता तथा कलाकार सरोज थापा (रोज राणा) विजयी भएका छन्। कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका राना २२ हजार ५१८ मतका साथ विजयी भएका हुन्।
यसैगरी फिल्म निर्माता मधुकुमार श्रेष्ठ धादिङ १ प्रदेशसभा ‘क’तर्फ निर्वाचित भएका छन्। कांग्रेसबाट चुनाव लडेका उनले १७ हजार ८३२ मत प्राप्त गरेका छन्। यी दुईबाहेक अन्य कलाकारले जित हासिल गर्न सकेका छैनन्।
यस्तै, काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठले ४९९ मत पाउँदा उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भएका छन्। धादिङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका कमेडियन हिमेश पन्तले १२ हजार ४७५ मत ल्याएका छन्। चुनावी मैदानमा उत्रिएका कलाकारहरूमध्ये राम्रै मत ल्याएर पराजित भएका कलाकारमा पन्त पर्छन्।
यसैगरी, कपिलवस्तु क्षेत्र नम्बर १ मा एकीकृत शक्ति नेपालबाट चुनाव लडेका चलचित्र तथा टेलीश्रृंखला निर्देशक वसन्त पोखरेलले जम्मा १७ मत प्राप्त गरे। उक्त क्षेत्रबाट एमालेका बलराम अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी भएका छन्। लोकदोहोरी गायक मिलन लामा (विष्णु लामा) ले पनि यसपटकको निर्वाचनमा भाग लिएका थिए। चितवन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लामाले ४५६ मत ल्याए। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार २८९ मतका साथ विजयी भए।
यसअघि समानुपातिकबाट संसद छिरेकी नेकपा एमालेकी नेतृ एवम् गायिका कोमल वली यसपटकको निर्वाचनमा भने प्रत्यक्षतर्फका उम्मेदवार थिइन्। दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लडेकी वलीको संसद यात्रा टुंगिएको छ। उनले २९ हजार ३२ मत प्राप्त गर्दा कांग्रेसका दिपक गिरी ३६ हजार ८४२ मतका साथ विजयी भए। चुनावमा उठेका कलाकारहरूमध्ये सबैभन्दा बढी मत ल्याएर पनि हार बेहोरेका कलाकारमा पहिलो नम्बरमा गायिका वली पर्छिन्।