Advertisement
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबीबी’ पहिचान भएको बताए। उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ सम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना संकलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबीबी’ पत्ता लागेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो। मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ। अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिइरहेका छन्। मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ।