काठमाडौं- जसपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सत्ता गठबन्धन छाडेको छ।
यससँगै जसपाले एमालेसँग सिट बाँडफाँटका लागि बार्गेनिङ गरिरहेको छ। सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई २० सिट दिएर आफूलाई १५-१६ सिटमा सीमित बनाउन खोजेको बताउँदै जसपाले गठबन्धन तोडेको हो।
पार्टी गठबन्धनबाट बाहिरिएसँगै जसपाका चार मन्त्रीको पद धरापमा परेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइन, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको पद खोसिने सम्भावना बढेको छ।
जसपाले एमालेसँग संघीय संसदका २५ वटा सिट दिन बार्गेनिङ शुरु गरेको छ। एमालेले २० वटा सिटसम्म दिन सकिने धारणा अगाडि सारेको जसपाका एक नेताले बताए। गठबन्धनबाट भन्दा एमालेबाट ५–७ सिट बढी लिएर चुनावमा होमिने तयारी रहेको ती नेताको दाबी छ।
उनका अनुसार प्रदेशसभातर्फ ३२ वटा सिटमा उम्मेदवारी दिने तयारीमा जसपा छ। ‘कहिल्यै चुनाव नलडेको एमालेलाई बढी सिट दिएर हामीलाई खुम्च्याउन खोजिएपछि गठबन्धन छाडेका हौं,’ उनले भने, ‘माधव नेपाललाई च्यापेर हामीलाई सत्ता गठबन्धनले अपमान गर्न खोज्यो। त्यसैले बाहिरिने निर्णय लियौं।’