काठमाडौं- लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।
रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका सई रजिन रानाले जानकारी दिए।
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहबव बढ्दा यसले क्षति पु¥याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो। उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख ४० हजार क्युसेक पुगेको छ।
गण्डक ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको र सम्भावित जोखिमलाई मध्यनजर गरी आफूहरूले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोलिने उनको भनाइ छ। पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन उनले आग्रह गरे।
गण्डक ब्यारेजमा अढाइ लाख क्युसेक पानीलाई चेतावनी र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो। बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने बिहीबार साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।