काठमाडौं- नेपालमा बसोबास गर्ने जाति, भूगोल र परम्पराअनुसार आ-आफ्नै तरिकाले मनाइन्छ, दशैं। नेपालीका लागि दशैं राष्ट्रिय चाड हो।
हिमाल, पहाड र तराई तीनै क्षेत्रमा बसोवास गर्नेहरूको दशैं मनाउने विधि, तौरतरिका फरक छन्। कतै देवीको पूजा आराधनासहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा नराखेर जात्रा, आफन्त भेटघाट र मिठो परिकार खाएर मात्रै पनि मनाइन्छ।
दशैं भन्नेबित्तिकै ठूलाबडाका हातबाट टीका र आशिर्वाद थाप्ने भन्ने बुझिन्छ। दशैंमा समुदायअनुसार रातो, सेतो, पहेंलो र कालो टीका लगाउने चलन छ। दशैंलाई मुख्य चाडको रूपमा मनाउने हिन्दू धर्म मान्ने धेरैजसोले रातो टीका लगाउँछन् भने आदिवासी जनजाति समुदायले सेतो टीका लगाउने गरेका छन्। ब्राह्मण र क्षत्री समुदाय रातो टीका लगाउने समुदायका हुन् भने तामाङ, मगर, लिम्बू, राई, गुरुङ र थारू समुदायले सेतो टीका लगाउँछन्।
पछिल्लो समय रातो र सेतो टीका लगाउनेबीच विवाद देखिन्छ। संस्कृतिविद् जगमान गुरुङका अनुसार नेपालमा अबिर नबन्ने भएकाले पहिले-पहिले सबैले सेतो टीका नै लाउने गरेका थिए। घरमा भएको दही र चामल मुछेर टीका लाउने प्रचलन थियो। विस्तारै नेवार समुदाय व्यापारका लागि भारत जान थालेपछि भारतबाट ल्याएको अबिर प्रयोग गरेर रातो टीका लाउन शुरु गरिएको उनी बताउँछन्।
‘रातो भनेको रगत हो, हामीले रातो टीका लगाउन हुँदैन’ भनेर आदिवासी जनजातिले गर्ने तर्क यसको अपव्याख्या रहेको उनको भनाइ छ। वास्तवमा रातो टीका भनेको मगर, गुरुङ, राई र लिम्बूलगायत आदिवासी जनजाति समुदायको रहेको उनको तर्क छ। गुरुङ र मगरले नागलाई पनि भोग दिएर पूजा गर्ने चलन छ। ‘नागनागिनी देवी देउराली पूजा गर्दा त्यहाँ कुखुराको भाले अथवा पोथी, परेवा र बोका र भेडाको भोग दिँदा टाउकोको रगत थालमाथि रहेको अक्षतामा चुहाउँछन्,’ उनी भन्छन्, ‘त्यसकारण रगतले मुछेको टीका लगाउने समुदायमा यिनीहरू पर्छन्। तर, त्यो रातो अबिर भनेको रगत हो भनेर भनिएको भने अपव्याख्या हो।’
उनको बुझाइमा क्षत्री, ब्राह्मण समुदायको थातथलो दुल्लु दैलेख हो। उनीहरू विस्तारै बसाइँ सर्दै पूर्वतिर आए। दुल्लु दैलेखका ब्राह्मणले अझै पनि चामल, दहीमा बेसार मोलेर पहेंलो टीका लगाउने गरेका छन्।
हिमाली क्षेत्रको दशैं
नेपालको हिमाली क्षेत्रमा भने दशैं मनाइँदैन। हिमाली क्षेत्रमा जमरा राखेर टीका लाउने चलन नरहेको गुरुङ बताउँछन्। मनाङमा झावासावा मनाइन्छ। मनाङको मनाङ गाउँमा दशैंको टीकाको दिनमा एउटा भेडा काटेर त्यसको खोले बनाएर त्यहाँ ढावाछावाङ, भद्रभलादमी बसेर जाँड खान्छन्। उनीहरूले त्यसलाई दशैं मानेको भन्दैनन्, राजा मानेको भन्छन्।
यस्तै, मुस्ताङ र मुक्तिनाथदेखि दक्षिणपट्टि लुब्रा गुम्बा छ। लुब्रा गाउँमाथिको पखेरामा बडादशैंको महाअष्टमीको दिन भूमि पूजा गर्ने चलन छ। तर, त्यहाँ टीका लाउने चलन छैन।
मध्य पहाडी भूभाग र मधेशमा जमरा राखेर टीका लाउने चलन छ। सेतो टीका लगाएकाहरूले पुरानै परम्परालाई निरन्तरता दिएको संस्कृतविद गुरुङ बताउँछन्।