काठमाडौं- बडादशैंले हिन्दू धर्मालम्बीहरूको घर-आँगनमा खुशीयाली छाएको छ। सबैजना आ-आफ्नो परम्परा र चाल-चलनअनुसार दशैं मनाउन जुटेका छन्।
बडादशैंको आठौं दिन अर्थात् अष्टमीमा नेवार समुदायमा भने ‘कुछी भ्वय’ (कुछी भोज) खाएर मनाउने चलन छ। नेपाल भाषामा कुछीको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा नेवारी विभिन्न परिकारको भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्त्व रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
उनका अनुसार नेवार समुदायमा समय-समयमा भोज भइरहने भए पनि कुछी भोजलाई महाभोजका रूपमा लिइन्छ। कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरि चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। यस भोजमा केराको पातको महत्त्व धेरै छ।
सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स-साना दुईथरि चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौंला, भटमासलगायत परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन छ।
दशैंको आठौं दिन अष्टमीमा नेवार समुदायले खाने विशेष प्रकारको भोज हो, कुछी भोज। ‘कूल’ भनेको आफ्नो कूलका सगोत्री र ‘छी’ भनेको बसेर खाने हो,’ संस्कृतिविद् धौभडेल भन्छन्, ‘कुलका सबैजना मिलेर खाइने भोज भएकाले कुलछी र त्यसबाट अपभ्रंश भै अहिले कुःछी भोज रहन गयो। यस भोजमा घरको सबैभन्दा ठूलो मान्छे सबैभन्दा माथि वा शुरुमा बसेपछि क्रमबद्ध रूपमा अन्य व्यक्तिहरू सुकुलमा बस्छन्।’ घरको कान्छो मान्छे सबैभन्दा अन्तिममा बस्ने चलन रहेको धौभडेलले बताए।
उनका अनुसार अपभ्रंश भएर कुलछी भोज कुछी भोज हुन पुग्यो। कुछी भोजमा सबैभन्दा महत्त्वपूर्ण सामान भनेको केराको पात हुन्छ।
नेवार समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने गर्छन्। कतिपय नेवार समुदायले दशैंैमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गरेको उनी बताउँछन्।
कुछी भोजले परिवारका सदस्यको मिलनको संकेत गर्छ। संयुक्त परिवारमा ठूलादेखि सानासम्म माया-प्रेम कायम राख्ने कुछी भोजको सामाजिक महत्त्व पनि छ।
टाढा रहेकाहरू आफन्तहरू अन्य भोज वा अवसरमा नआए पनि देवालीको भोज र कुछी भोजमा भने अनिवार्य उपस्थिति हुन्छन्। सगोत्रीको भोज भएका कारण पनि यस भोजमा परिवारका सदस्य जहाँ भए पनि अनिवार्य रूपमा आउनैपर्ने मान्यता रहेको संस्कृतिविद् धौभडेलको भनाइ छ।
उनका अनुसार कुछी भोजले एकै समयमा परिवारका सबै सदस्यलाई जोडेर राख्छ। अन्य समयमा परिवारका सदस्यबीच मतभेद भएको भए पनि यस भोजमा रिस, राग, वैमनश्य सबै बिर्सेर आपसमा सदभाव कायम गरिन्छ।
परिचय नभएका परिवारका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम गर्ने विशेष मौका कुछी भोजले जुराइदिने उनको भनाइ छ।