काठमाडौं- नेपाली चलचित्र जगत र दर्शकको मनमा बसेको नाम हो, तृप्ती नाडकर। ‘कुसुमे रुमाल’, ‘आमाको काख’, ‘लाहुरे’, ‘साइनो’, ‘सम्झना’, ‘कोशेली’जस्ता सफल र कालजयी नेपाली चलचित्रमा उनको मुख्य भूमिका छ।
भारतको दार्जिलिङमा जन्मिएकी नाडकरले कर्मथलो भने नेपाललाई बनाइन्। तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘कुसुमे रुमाल’ उनी अभिनित पहिलो चलचित्र थियो। मिठो मुस्कान र सरल अभिनय कलाका कारण सबै दर्शकको मन, मस्तिष्कमा बस्न सफल अभिनेत्री हुन् उनी।
यिनैै लोकप्रिय नायिकाका छोरा धीरजले आफ्नो डेब्यु सिनेमा बनाएका छन्, नेपाली कथानक चलचित्र ‘बाबरी’लाई। सुरेन्द्र पौडेलको निर्देशन रहेको यो चलचित्र आगामी १४ असोजमा देशभर प्रदर्शन हुँदैछ।
मुम्बईको खार वेस्टमा बस्दै आएका धीरजले सानै उमेरदेखि विज्ञापन र टीभी सिरियलमा अभिनय गरेका थिए। बोर्नभिटाको विज्ञापन उनको पहिलो विज्ञापन हो। उनले अभिनय गरेका टीभी सिरियलहरू ‘सोनपरी’, ‘चमत्कार’, ‘आविष्कार’, करिश्मा–करिश्मालगायत हुन्। टीभी सिरियलमा अभिनय गर्दा उनी कक्षा ६ तिर पढ्दै थिए। बीचमा उनले पढाइलाई मात्र ध्यान दिए। पछिल्लो समय उनलाई ‘हंगामा प्ले’ र ‘एम एक्स प्लेयर’को सिरिज ‘तेरा छलावा’मा देख्न सकिन्छ।
व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका धीरजलाई अहिले कला क्षेत्र प्यारो भएको छ। शायद आमाको कलाको गुण सरेर पो हो कि!
नेपाली चलचित्र ‘बाबरी’ उनको पहिलो फिचर फिल्म हो। चलचित्र ‘बाबरी’का लागि उनी पहिलोपटक दुई वर्षअघि नेपाल आएका थिए। ‘बाबरी’ अभिनय गर्दागर्दै उनले नेपाली भाषा पनि सिकेका छनन्। मिठो लवजमा नेपाली भाषा बोल्न सक्छन्। चलचित्र ‘बाबरी’की निर्माता पुष्पलता बुढाथोकी र धीरजकी आमा तृप्ती नजिकका साथी हुन्।
एकदिन पुष्पलताले सिनेमा बनाउन लागेको तृप्तीलाई सुनाउँदै भनिन्, ‘धीरजको लागि पनि चलचित्रको एक भाग बनाएको छु।’
धीरज भन्छन्, ‘मैले गरेको अभिनय उहाँले मन पराउनुभयो र मलाई फिल्ममा लिनुभयो।’ चलचित्रमा उनी रमेशको भूमिकामा छन्, जसमा उनलाई भारतकै बासिन्दाको रूपमा प्रस्तुत गरिएको छ।
‘बाबरी रंगमा रंगिएर’, ‘चुलबुल–चुलबुल, चुलबुले बानी तिम्रो त’लगायत चर्चित गीत समावेश चलचित्र ‘बाबरी’ दशैंका दर्शकलाई लक्षित गर्दै प्रदर्शन हुँदैछ। सिनेमा हलमा आउनुअघि नै ‘बाबरी’का गीतले बजार पिटिसकेका छन्।
चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी, अभिनेता धीरज मगर र धीरज नाडकर तथा कमलमणि नेपाल, बादल भट्ट, उर्मिला बस्नेतलगायतको अभिनय देख्न पाइने छ।
अभिनेत्री बुढाथोकीको होम प्रोडक्सनको सिनेमा हो, ‘बाबरी’। र, होम प्रोडक्सन ‘बाबरी फिल्मस’को पहिलो चलचित्र पनि हो यो। उनका बुवा गणेश बुढाथोकी र आमा पुष्पलताले छोरीको करिअर उजिल्याउन योगदान दिएका छन्, होम प्रोडक्सनमार्फत।

नेपाली हेडलाइनसँग कुराकानीमा धीरजले भने, ‘नेपाल अत्यन्त सुन्दर छ। यहाँका मानिसहरूले मलाई न्यानो स्वागत गर्नुभयो। मलाई पहाड धेरै मनपर्छ। पोखरा, मुस्ताङ, चितवन घुम्न मन छ। धेरै ठाउँहरू घुम्न बाँकी छ।’
चलचित्रको स्क्रिप्ट पूजा गर्ने बेला पशुपतिनाथ पुगेको अनुभव सुनाउँदै उनले भने, ‘धेरै ठूलो मन्दिर छ, त्यहाँ छुट्टै शक्ति छ।’ उनी ‘फन्नी’ छन्, सहजै घुलमिल हुन सक्छन्। अदिती र धीरज मगर पनि कहाँ कम छन् र साथी बनाउन ! त्यसैले फिल्म सुटिङताका यी तीन उदियमान कलाकारको बोन्डिङको खुबै प्रशंसा भएको थियो।
नेपालमा आएर सबैभन्दा ठूलो कुरा फिल्ममा अभिनय गनुए रहेको उनी बताउँछन्। नेपालमै ससुराली बनाउने हो कि भन्ने फन्नी प्रश्नमा हाँस्दै धीरजले भने, ‘नेपाल राम्रो छ, म घरै बनाउन सक्छु। ससुराली त भन्न सकिन्न।’
धीरजले ‘बाबरी’ आफ्नो पहिलो डेब्यु चलचित्र भएकाले पनि यसमा सक्दो मिहिनेत र प्रयास गरेकाले दर्शकहरूले मनपराउनेमा ढुक्क रहेको बताए। चलचित्रले रिलिज भइसकेपछि आगामी दिनमा के गर्ने भन्ने कुराको योजना बन्ने उनको भनाइ छ।