काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याउँदै गरेको सुनसहित बुधबार दिउँसो तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट एक सय ग्राम सुन बरामद भएको छ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ का २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय कविन्द्र विश्वकर्मा र कालिकोट पलाता गाउँपालिका–७ का २५ वर्षीय जीवराज बम छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको हो। उनीहरूको साथबाट भन्सार छली ल्याएको १–१ थान सिक्री र १–१ थान औंठी बरामद भएको छ।
यस्तै, उनीहरूसँग सोधपुछका क्रममा उक्त सुन जीवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि कारवाही चलाउन प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको छ।