भैरहवा-रुपन्देहीको मर्चवारी गाउँपालिकामा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। सेवा नै धर्म हो र सेवामा कुनै स्वार्थ हुँदैन भन्ने गाउँपालिका अध्यक्ष गयाप्रसाद बराईले पुष्टी गरेका छन्, निःशुल्क एम्बुलेन्स सेवा दिएर।
उनको उद्देश्य हो, चुनावी अभियानमा मतदाता सामु गरेका बाचा पूरा गर्नु। जनविश्वासकै कारण गाउँपालिकावासीका अभिभावकको भूमिकामा छन्, उनी अहिले।
देश संघीयतामा गएपछि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटा तहका सरकार सञ्चालनमा छन्। यी तीनवटै तहका सरकारमा नेतृत्व गर्ने जनप्रतिनिधि र मातहतका कार्यालयमा काम गर्ने उच्च तहका कर्मचारीका लागि सवारी साधन, इन्धन खर्च र यातायात खर्च अपरिहार्यजस्तै बनाउँदै तीनवटै तहका सरकारले ठूलो रकम त्यस्तै अनुत्पादक ठाउँमा खर्च गर्दै आएका छन्। तर, मर्चवारी गाउँपालिकाका अध्यक्ष बराई भने जनसेवामा अगाडि बढेका छन्।
कुनै समय सवारी साधनकै विषयलाई लिएर विवादमा नआएको होइन, मर्चवारी गाउँपालिका पनि। तर, बराई निर्वाचित भएर आएपछि जनप्रतिनिधिले लिने गरेका सवारी साधन, इन्धन र यातायात खर्च कटौती गर्दै निःशुल्क एम्बुलेन्स सेवा शुरु गराएका छन्।
गाउँपालिकाले हरेक बिरामी व्यक्ति र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ। निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नु कुनै नौलो विषय होइन। तर, जनप्रतिनिधिले आफूले पाउनुपर्ने सेवा सुविधा त्यागेर जनताको सेवामा लागेको कुरा नौलो हो। अध्यक्ष बराईले आफूलाई उपलब्ध भएको सरकारी गाडी प्रयोग गर्दैनन्। त्यसमा खर्च हुने रकम कसैको निःशुल्क एम्बुलेन्स सेवामा लगाएका छन्।

गाउँपालिका अध्यक्ष गयाप्रसाद चौधरी
गाउँ कार्यपालिकाको पहिलो बैठकले नै आफ्नो क्षेत्रका बिरामी, अपांग र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको थियो। भौगोलिक विकटतासँगै पालिकामा सुविधासम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारका लागि भैरहवा नै जानुपर्ने बाध्यता रहिआएको थियो। जनताको त्यही दुःख मध्यनजर गर्दै गाउँपालिकामा रहेको भाडाको गाडी फिर्ता गरी त्यसमा हुने खर्चले एम्बुलेन्सको खर्च धानेको अध्यक्ष बराई बताउँछन्। भन्छन्, ‘गाउँपालिकामा रहेको भाडाको गाडी जसको मासिक भाडा मात्र ८० हजार थियो। र, ४० हजार इन्धन र अन्य खर्च गरी कुल एक लाख २० हजार भाडाकै गाडीमा खर्च हुने गथ्र्यो।’
यसअघि पालिकाभित्र तथा बाहिर जिल्लाभित्र र बाहिरबाट बिरामी बोकेर जाने एम्बुलेन्सका लागि पालिकाले निश्चित भाडादर निर्धारण गरेको थियो। तर, पालिकाभित्रका बिरामी मुख्यतः गर्भवतीहरूका परिवार आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य संस्थासम्म जान पनि गाडी भाडा तिर्न सक्दैनथे। कतिपयले अकालमै ज्यान गुमाउनु पर्थ्यो। अब त्यस कहरबाट गाउँपालिकाका बासिन्दाले केही हदसम्म छुटकारा पाएका छन्।
एम्बुलेन्स चालक सुरेन्द्र बराईको भनाइमा अहिले चौबीसै घण्टा सेवा दिएको छ, पालिकाले। ‘मर्चवारी विकट क्षेत्रमा पर्छ। यहाँ निःशुल्क एम्बुलेन्स उपलब्ध थिएन,’ पालिका अध्यक्ष गयाप्रसाद भन्छन्, ‘हामीले पालिका बासिन्दाको सुविधालाई ध्यानमा राखेर आफैंले एम्बुलेन्स सञ्चालनमा ल्याएका छौं।’

बाटो खराब र समयमै एम्बुलेन्स सेवा नपाउँदा यहाँका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए। समयमै उपचार नपाउँदा कतिको ज्यानसमेत जाने गर्थ्यो। पालिकामा रहेको स्वास्थ्य कार्यालय व्यवस्थित नहुनु र सामान्य सेवासमेत उपलब्ध नहुनु निकै दुःखको विषय थियो। तर, अब परिवर्तन आएको छ। बिरामी बोक्न गाउँकै एम्बुलेन्स दौडिन थालेपछि स्थानीय अफसना खातुनको ओठमा खुशी र आँखामा विकासको सपना दौडिएको छ। ‘अबचैं काल नआई मरिन्न कि !’ उनले आफ्नै भाषामा भनिन्।
गाउँपालिकाले दुईवटा एम्बुलेन्सबाट निःशुल्क सेवा दिइरहेको छ। गाउँपालिकाको रायपुर प्रथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाइएको छ। सोही स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य बीमा कार्यक्रम पनि कार्यान्वयन गरिएको छ। गाउँमा एम्बुलेन्स दौडिन थालेपछि घरमै सुत्केरी हुने बाध्यता हटेको छ। अब हत्तपत्त कुनै महिलाले प्रसव पीडाका कारण ज्यान गुमाउनुपर्ने छैन। रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेशप्रसाद यादवका अनुसार अहिले मासिक ६० जनाको दरले केन्द्रमै आएर सुत्केरी हुने गरेका छन्।
नयाँ जनप्रतिनिधि आएको तीन महिनामै मुहारमा केही फरकपन देखिएको छ, मर्चवारीवासीको। त्यसैमा जोड दिन्छन्, मर्चवारी-२ का वडाध्यक्ष शशिदयाल चौधरी पनि। ‘एउटै एम्बुलेन्सले पालिकाका बासिन्दाको मुहारमा खुशी देखिएको छ। विगतमा निराश उनीहरूको अनुहारमा छचल्किएको खुशीले हामीलाई पनि केही नयाँ गर्ने प्रेरणा प्राप्त भएको छ,’ चौधरी भन्छन्।