यस वर्ष साविकभन्दा अलि छिट्टै नेपालमा मनसुन शुरु भयो। र, त्यो मनसुनको प्रभाव बुधबार काठमाडौं उपत्यकामा राम्रैसँग देखियो। प्रधानमन्त्री निवास, बालुवाटारको गेटबाट भित्रै छिर्यो भल। मानौं, प्रधानमन्त्रीसँगको ‘अपोइन्टमेन्ट’को समय घर्किनै लाग्दा हतारमा छ, बाढी। र, आफ्नो व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग गुहार माग्दैछ।
लाजिम्पाटमा टुकुचाले बगाइदियो बाइक, धन्नले बचे चालक। कपन मिलन चोक खहरे खोलोको केन्द्र बन्यो। अनि त्रिपुरेश्वर क्षेत्रमा जमेको पानीमा डुंगाझैँ हुइँकिए, सवारी साधन।
यी त सामाजिक सञ्जालमा यत्रतत्र सेयर गरिएका तस्बिर र भिडियोको कुरा भयो। पूर्वसचिव भीम उपाध्यायले पनि फेसबुकमा पोस्ट गरे, सडक किनारामा थुप्रिएको फोहोर बाढीले धमाधम तान्दै गरेको तस्बिर। मानौँ, काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहले सकेनन्, अब बाढीले नै बगाइदिने भयो सभ्य राजधानीवासीले सडकमा निकालेको फोहोर।
यो त मनसुनको शुरुवाती ‘कास्टिङ’ मात्र हो, वास्तविक कथा त मुसलधारे वर्षापछि मात्र शुरु हुनेछ। यही कास्टिङमा कहाँ छन् त बाढी व्यवस्थापकहरू ? जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामक फेसबुक, ट्विटर पेजहरूबाट दैनिक सतर्कता गराइरहेकै छ। सरकार भने अहिले आगामी आव ०७९–८० को बजेटमाथि दफावार छलफलमा छ। कुनै ठूलो दुर्घटना नहुन्जेल सरकार त्यहाँबाट बाहिर ननिस्किने त विगतकै उदाहरण काफी छन्।
काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेन्द्र शाहलाई दोष दिने ठाउँ छैन। किनकि, उनी काठमाडौंका गल्ली–गल्ली, चोक र सडक किनारामा थुप्रिएको फोहोरको डुंगुरबाट महामारी फैलिनुअघि नै व्यवस्थापनको तनावमा छन्। त्यो पनि डम्पिङ साइटका बासिन्दा र अन्य सरकारीको निकायको तीव्र (अ)सहयोगका बावजुद।
हुन त, काठमाडौंका खोलानालामा पनि फोहोर नै बग्ने हो, वर्षैभरि। वर्षामा भने त्यही फोहोरसहितको लेदो उधिन्दै दक्षिण हानिन्छन्, यी खोलानाला र वागमतीमा समाहित भएर चोभारबाट बाहिरिन्छन्।
काठमाडौं उपत्यकामा जम्माजम्मी ६ वटा खोलानाला छन्– हनुमन्ते, मनोहरा, वागमती, विष्णुमती, धोबीखोला र टुकुचा। ती खोलानालाको किनारै किनार जति उत्तरतर्फ बढ्यो, एकाध ठाउँलाई छाडेर फराकिला छन्, यी खोलानाला। अनि जति–जति दक्षिणतर्फ झर्यो, अझ शहरी इलाकामा आइपुग्दा त एकमुठीका कुलोहरू झैँ साँघुरिएका छन्। खोलामै बनेका छन् सडक। खोलामै ठडिएका छन्, निजी घर र गगनचुम्बी भवन।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता इन्जिनियर कमल अर्यालले काठमाडौं उपत्यकामा वर्षातको बितण्डालाई नजिकबाट नियालेका छन्। विभिन्न ठाउँमा नदी किनारा मिचेर बस्ती बसेका छन्। र, ती बस्तीहरू नहटाइएसम्म उपत्यकाका नदीनालाले निर्वाध दक्षिण हानिन पाउने छैनन्।
कतिपय ठाउँमा खोला र नदीमै रातिराति ल्याएर फोहोर फाल्ने प्रवृत्ति छाडेका छैनन्, उपत्यकाका ‘सभ्य नागरिक’ले। घर भत्काएपछि सिर्जित हुने सिमेन्ट, इँटा, माटोलाई नदीभित्रै पर्ने गरी फाल्ने ‘सभ्य’ बानी व्यवहार पनि उपत्यकावासीमै अत्यधिक छ। अनि नदीले नसाँघुरिएर भयो त ? त्यसै पनि पानीसँगै बगेर आउने बालुवाले खोला, नदीको सतक माथि–माथि उठाइरहेकै हुन्छन्। त्यसमाथि घर भत्काएर मिल्काइने सिमेन्ट, इँटा र माटोको ढिस्कोले खोला–नदीलाई गहिरो होइन, उचाइतिर लगिरहेका छन्।
चोभारकै कुरा गरौँ। काठमाडौंमा फराकिलो चक्रपथ निर्माण क्रममा निस्किएको माटो र फोहोरजति सबै वागमतीमा मिल्काएर पहाडजस्तै अग्लो बनाइएको छ। अनि नदीले नेछेकिएर कसो गरोस् त ! ‘त्यो सबै नहटाएसम्म हामीले तयार पारेको हरेक नदी–खोलाको चौडाइ पुग्ने कुरै भएन,’ अर्याल भन्छन्, ‘जसले गर्दा ठूलो बाढी आउँदा भेल नदीमा होइन, दायाँबायाँ गएको देखिन्छ।’
त्यसरी नै चौडाइ र नदीको सतहमाथि मानवीय अतिक्रमणकै कारण हो, उपत्यकामा बर्सेनि डुबानको समस्या हुने पनि। उपत्यकाका नदीनालालाई निर्वाध दक्षिणतर्फ जान दिन मापदण्ड पनि नबनाइएको कहाँ हो र ! वागमती, विष्णुमती र मनोहराको न्यूनतम क्षेत्र २०–२० मिटर तोकिएको छ। धोवीखोलाको नौ–नौ, नख्खुखोलाको १२, कर्मनाशा, साँगा र मारे खोलाका लागि १०–१० मिटरको चौडाइ हुनुपर्ने मापदण्ड छ।
त्यस बाहेक अन्य खोलाका लागि चार–चार मिटरको अधिकार क्षेत्र तोकिएको छ। तर, त्यही मापदण्डभित्रको क्षेत्रलाई पनि मिचेर घर ठड्याइएको छ। सोही कारण वर्षातको बेल नदीमा पानीको बहाव उच्च हुँदा शहरी इलाकातिर पस्छ, भल।
उपत्यकावासीले पूजा नै गर्ने वागमती नदीका लागि अलग–अलग मापदण्ड तोकिएको छ। सुन्दरीजलबाट गोकर्ण ब्यारेजसम्म २०, त्यहाँबाट जोरपाटीसम्म ३५ मिटर र जोरपाटी पुलबाट गुह्येश्वरीसम्म ४० मिटर अधिकार क्षेत्र कायम गरिएको छ। गुह्येश्वरीबाट शंखमुलसम्म ३० र त्यहाँबाट विष्णुमतिसम्म ६० मिटर न्यूनतम क्षेत्र कायम गरिएको छ। वागमतीमा जति दक्षिण गयो, उति नै अधिकार क्षेत्र बढाउनुको पनि कारण छ।
त्यो हो– उपत्यकाका सबै नदीनालाको पानी बोकेर चोभारबाट बाहिरिनुपर्छ, उसले। त्यही चोभारमा लगेर थुपारिएको छ, रिङरोडबाट निस्किएको माटो र फोहोर। कतिपय ठाउँमा मापदण्डअनुसार समितिले दायाँ–बायाँ पर्खाल लगाइरहेको छ। तर, बस्ती हटाउन नसकिएका क्षेत्रमा पर्खाल लगाउने बुता कसको ? र, तिनै बस्तीमा नदीनालाले बितण्डा मच्चाउने हुन्, बर्सेनि।
अर्यालको भनाइमा वर्षातअघि लगाइएको पर्खाल पनि बर्सेनि माटोले पुर्छ। पर्खाल लगाउँदा पाँच मिटर गहिरो छाडिएको खोलाको सतह वर्षा सकिँदासम्म दुई मिटर बढिसकेको हुन्छ। त्यसरी नदी र खोलामा जमेको माटो ननिकाल्ने हो भने नदी पर्खालभन्दा बाहिर बग्न थाल्छन्।
यस वर्ष विष्णुमती नदीले धेरै बितण्डा नमच्चाउला कि भन्ने आशामा छन्, इन्जिनियर अर्याल। उनका अनुसार नयाँ बसपार्कदेखि तलतर्फ दुवै किनारमा विष्णुमतीलाई पर्खालले बाँधिएको छ। गत वर्ष आफ्नो सतहबाट बाहिर आएर डुबान गराएको विष्णुमती यस वर्ष आफ्नै सतहमा बग्ने उनको अपेक्षा छ। किनकि, यस वर्ष नदीको सतहबाट माटो निकालेर गहिरो पनि बनाइएको छ।
तर, नयाँ बसपार्कभन्दा माथिको क्षेत्रमा नदी किनारामै बस्ती छन्। ती बस्ती नहटाएसम्म नदीलाई बाँध्न सकिने सम्भावना छैन। विष्णुमतीको टोखा क्षेत्रमा हेर्ने हो भने कतिपय ठाउँमा आठ मिटरमा खुम्चिएको छ, नदी। कतिपय ठाउँमा त खोलाको बीचमै घरको पिलर ठड्याइएको छ। त्यस्ता संरचनाहरू हटाउन, बहाव क्षेत्र कायम गर्न र मापदण्ड लागू गर्न आगामी वर्ष सफलता मिल्नेमा समितिका अधिकारीहरू आशावादी छन्। असार मसान्तसम्म आइसक्ने अध्ययन प्रतिवेदनमा आधारित रहेर आगामी आवमा विष्णुमतीको व्यवस्थापन सक्ने योजनामा समिति देखिन्छ।