भारत झारखण्डको खुँटी जिल्लाको डुमरदगा गाउँकी फूलमनी टुटी ४६ वर्षकी भइन्। २२ वर्षको उमेरमा पहिलो बिहे भएकी उनका दुई सन्तान थिए र एक सन्तान पेटमा। त्यही बेला उनका पतिको मृत्यु भयो। लामो समय सासु बितिसकेका ससुरा र तीन सन्तानको सहारा बनिन् उनी। ससुराको मृत्युअघि उनले आफ्नी बहिनीका छोरा महावीरलाई धर्मसन्तान बनाए। ससुराको मृत्युपछि फूलमनी महावीरसँगै ‘लिभ-इन रिलेसन’मा बस्न थालिन्। मृत्युअघि ससुराले पनि उनीहरूको निकटतालाई स्वीकारेका थिए।
उनीहरूले विधिवत विवाह गरेनन्। तर, पति–पत्नीझैँ बस्न थाले। त्यसैले गाउँमा उनीहरूलाई ‘ढुकू’ भन्न थालियो। समाजको मञ्जुरी र विवाहबिना नै पति-पत्नीका रूपमा सँगै बस्नुलाई त्यहाँ ढुकू भनिन्छ। तथापि, केही समयअघि गाउँमा भएको सामुहिक विवाहमा उनीहरूले पनि बिहे गरे। त्यसको अवसर जुराइदिएको थियो, गाउँकै ‘निमित्त’ नामक संस्थाले। त्यसपछि मात्र फूलमनीले ससुराको सम्पत्तिमाथिको अधिकार पाइन् अनि ढुकू शब्दबाट छुटकारा पनि। फूलमनी र महावीरले १६ वर्ष लिभ-इन रिलेसनमा गुजारे।
उक्त सामुहिक विवाह त्यसरी नै ढुकू बनेर बसेका जोडीहरूबीच गराइएको थियो। र, उनीहरूको सम्बन्धलाई कानूनी मान्यता दिलाइयो।
सोही गाउँकी सिलवन्ती मुन्डाइन ६९ वर्षकी भइन्। उनका नाति-नातिनासमेत हुर्किसके। तर, अहिलेसम्म विवाह भएको थिएन। उनी ४६ वर्षदेखि लिभ–इन रिलेसनमा थिइन्। उनका छोरा नै ४० वर्षका भइसकेका छन्।
फूलमनी, सिलवन्ती मात्र होइन, प्रमिला टोपनो, ढेकला उराइन, फूलो मुन्डाइन, जाउनी मुन्डाइन, कृपा सोय, मरियम बोदरा, शान्ति आइदले पनि लामो समय लिभ–इन रिलेसनमा बसेर सोही समयमा विवाह गरे। उनीहरू सबैका सन्तान भइसकेका छन्।
झारखण्डमा यस्तो विवाह नयाँ विषय होइन। त्यहाँका आदिवासी समूदायमाझ वर्षौंदेखि चलिआएको प्रथा हो यो। आदिवासी समाजमा यस्ता धेरै विवाह प्रथा छन्, जसमा ढुकू पनि एक हो। आदिवासी समाज महिला प्रधान छन्, अधिकांश। त्यस्ता समाजमा हरेक निर्णयमा महिलाको भूमिका प्रमुख हुन्छ।
त्यसका बावजुद सम्पत्ति हत्याउने दाउमा महिलाहरूलाई डायन, बोक्सी आरोप लगाउँदै हत्या गर्ने घटनाका कारण झारखण्ड बदनाम पनि छ। त्यसका बावजुद महिला आफैंले आफ्नो विवाहको निर्णय हक राख्छन्, यी गाउँमा।
आदिवासी धर्मगुरु बन्धन तिग्गाको भनाइमा ढुकू प्रथा महिला स्वतन्त्रताको एक मानक हो। उनका अनुसार झारखण्डका गाउँहरू अखडा परम्परा विद्यमान छ। अखडामा भेला हुने युवा-युवती एकसाथ नाचगान गर्छन् अनि आफूलाई मन परेको वरबधु रोज्छन्। त्यसरी रोजेका वरबधुलाई परिवारले मान्यता दिए भने विवाह हुन्छ, दिएनन् भने उनीहरू लिभ-इन रिलेसनमा बस्छन्, जसलाई ढुकू भनिन्छ।
कतिपय ‘ढुकू’ गाउँ छाडेर जान्छन् र बालबच्चासहित वर्षौंपछि फर्किन्छन्। उनीहरूको विवाहलाई मान्यता दिन गाउँका पञ्च (पाहन, महतो)ले जरिवाना तिराउँछन्। उनीहरूको विधिवत विवाह भएपछि मात्र पैत्रिक सम्पत्तिको हक पाउँछन्। धर्मगुरु तिग्गाका अनुसार कहिलेकाहीं त बाबु-आमा र छोरा-छोरीको विवाह एकै मण्डपमा भइरहेको हुन्छ।
ढुकूहरूको विवाहका लागि एक सयदेखि दुई सय भारतीय रुपैयाँसम्म जरिवाना तिराइन्छ। र, खसी काटेर उनीहरूले गाउँलेलाई भोज खुवाउनुपर्छ।
सामुहिक विवाह आयोजना गर्दै आएको संस्था ‘निमित्त’की संस्थापक निकिता सिन्हाका अनुसार हालसम्म एक हजार ९५० जोडी ढुकूहरूको विवाह गराइसकिएको छ। र, त्यसका लागि स्थानीय प्रशासनले पनि सहायता उपलब्ध गराउँछ।