मुम्बई- समीक्षकले चलचित्रको समीक्षा गर्दा भारतीय अभिनेत्री यमी गौतम आक्रोशित भएकी छन्।
यमीको चलचित्र ‘दशवी’ हालसालै रिलिज भएको छ। कुनै सिनेमा रिलिज भएपछि समीक्षकले चलचित्रको समीक्षा गर्छन्। यस्तै, अभिनेत्री यमीको चलचित्रमा बहन गरेको भूमिकाबारे समीक्षा गरिएकोप्रति उनले आपत्ति जनाएकी हुन्।
चलचित्र ‘दशवी’को समीक्षा गर्दै एक समाचार पोर्टलले ‘यमी अब हिन्दी सिनेमामा मृत्यु भएकी प्रेमीका रहिनन्, तर पनि सिनेमामा उनको मुस्कानलाई दोहो¥याउने क्रम जारी छ’ भन्ने पंक्तिमा यमीलाई चित्त नबुझेको अनुमान छ। त्यसपछि उनले समीक्षा गरिएको वाक्यको स्क्रिनसर्ट सामाजिक सञ्जालमा सेयर गरेर आक्रोश पोखेकी छन्।
यमीले आफ्नो पोस्टमा लेखेकी छन्, ‘केही भन्नुभन्दा पहिले म यो भन्न चाहन्छु कि सामान्यतया म रचनात्मक आलोचनालाई विकास र प्रगतिको रूपमा लिन्छु। तर, जब एक प्लेटफर्मले लगातार तपाईंलाई तल्लोस्तरको देखाउने प्रयास गर्छ भने आवाज उठाउनु महत्त्वपूर्ण हुनजान्छ।’
हिमाचल प्रदेशको बिलासपुरमा २८ नोभेम्बर १९८८ मा जन्मिएकी यमीले मोडलिङबाट करिअरको शुरुवात गरेकी हुन्। उनले पहिलो विज्ञापन ‘फेयर एन्ड लभ्ली’ गरेकी थिइन्।