मनिष अर्याल
पाहाँ चह्रे अर्थात् घोडेजात्राका अवसरमा नेपाली सेनाले शुक्रबार काठमाडौं टुँडिखेलमा भव्य घोडचढी परेड सम्पन्न गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत सरकारका उच्चपदस्थ व्यक्तिको उपस्थिति थियो।
टुँडिखेलमा घोडा र गुरुमापाको चीर ठड्याएर यसअघि नै नेपाली सेनाले घोडेजात्राको तयारी थालेको थियो।
घोडेजात्राको मूल नाम पाहाँ चह्रे हो। पाहाँ चह्रे विस्तारै घोडेजात्राका नाम प्रख्यात हुन पुग्यो। घोडचढी जात्राका रूपमा मनाइने भएकाले यसको नाम पनि परिवर्तन भएको हो। पाहाँ चह्रेका बेला नेपाः मण्डल (काठमाडौं उपत्यका)मा विभिन्न देवी–देवताको जात्रा निकालिन्छ।
यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजय उत्सवका रूपमा मनाइने किंवदन्ती पनि छ। र, टुँडिखेलमा दौडिने घोडाको टापले गुरुमापाको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास रहिआएको छ। पाहाँ चह्रे पर्वका अवसरमा नेपाली सेनाले बर्सेनि टुँडिखेलमा घोडचढी कला प्रदर्शन गर्छ।

















