मनिष अर्याल
काठमाडौंको केन्द्र टुँडीखेलमा भूकम्पले भत्काएका सम्पदाहरूबाट निस्केको माटोको थुप्रो सरकारले हटाइदिएको छैन। नहटाएर के भो त, टुँडिखेलको दृश्यलाई कुरूप बन्न नदिन नेपाली सेनाले अलग्गै तरिका अपनाएको छ।
सेनाले शिवरात्रि नजिकिएपछि त्यही माटोको थुप्रोमाथि आराध्यदेव पशुपतिनाथको चीर ठड्याउँछ। शिवरात्रिकै बेला सेनाले टुँडिखेलमा शिवरात्रि बढाइँ र सेना दिवसको भव्य कार्यक्रम आयोजना गर्छ, जसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहने गर्छ।
जब शिवरात्रि सकिन्छ, सेनाले शिवजीको चीर त्यस ढिस्कोबाट हटाउँछ। नजिकै आइसकेको हुन्छ, घोडेजात्रा। अहिले टुँडिखेलमा शिवजी हटिसकेका छन्। र, उनको स्थान ग्रहण गरेका छन्, घोडा र गुरुमापाका चीरले। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार घोडेजात्राको प्रयोजनका लागि अहिले घोडाको टापले गुरुमापाको छातिमा प्रहार गरिरहेको चीर टुँडिखेलमा ठड्याइएको हो।
घोडेजात्राको मूल नाम पाहाँ चह्रे हो। पाहाँ चह्रे विस्तारै घोडेजात्राका नाम प्रख्यात हुन पुग्यो। घोडचढी जात्राका रूपमा मनाइने भएकाले यसको नाम पनि परिवर्तन भएको हो। पाहाँ चह्रेका बेला नेपाः मण्डल (काठमाडौं उपत्यका)मा विभिन्न देवी–देवताको जात्रा निकालिन्छ।
यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजय उत्सवका रूपमा मनाइने किंवदन्ती पनि छ। र, टुँडिखेलमा दौडिने घोडाको टापले गुरुमापाको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास रहिआएको छ। पाहाँ चह्रे पर्वका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडचढी कला प्रदर्शन गर्छ।


