शहरमा अहिले चलेको स्मार्ट शौचालयको त्यस्तो ट्रेन्ड हो, जसले सामाजिक अभियानको आकार लिएको छ। र, यसको नेतृत्व गरेका छन्, वातावरण अभियन्ता प्रकाश अमात्यले।
रेश्मा सिंह
शुक्रबार बिहान करिब ११ बजे त्रिपुरेश्वरस्थित सार्वजनिक शौचालयबाहिर महिला, पुरुष गरी दुई अलग लाइन थियो। महिला लाइनमा थिइन्, प्रहरी जवान प्रमिला कार्की। बिहानदेखि ड्युटीमा खटिएकी कार्कीलाई पिसाबले च्यापेपछि शौचालय आएकी थिइन्। शौचालय जाने पालो आएपछि कार्कीले काउन्टरमा रहेकी महिलासँग १० रुपैयाँको सिक्का मागिन्। त्यो सिक्का शौचालय प्रवेश गर्नुपूर्व एउटा बक्समा खसाइन् र भित्र पसिन्।
बाहिर आएपछि नेपाली हेडलाइनले स्मार्ट शौचालयबारे जिज्ञासा राख्दा उनले भनिन्, ‘शौचालयको सेवा, सुविधा एकदमै राम्रो छ। विशेषगरी, शौचालय मेरै लागि खोलिएको होजस्तो लाग्छ। अन्य समयको तुलनामा महिनावारीको समयमा धेरै गाह्रो हुन्छ। तर, यो शौचालय सञ्चालनमा आएपछि कुनै पनि समस्या झेल्नुपरेको छैन।’ उनको ड्युटी त्रिपुरेश्वर क्षेत्रमै पर्छ प्रायः। आधुनिक शौचालय उपत्यकाका अन्य स्थानमा पनि हुनुपर्ने उनको बुझाइ छ।
कार्कीजस्तै थापाथली बस्ने ४० वर्षीय रत्नमाया तामाङ पनि त्रिपुरेश्वरमा स्मार्ट शौचालय बन्दा खुशी लागेको बताउँछिन्। भन्छन्, ‘पहिले यो शौचालय नहुँदा अन्यत्र जानुपर्थ्यो। जहाँतहीँ फोहोरको थुप्रो देख्दा बिसन्चो महशुस हुन्थ्यो। तर, अहिले राहत भएको छ। सरसफाइदेखि सेवा, सुविधा एकदमै राम्रो छ।’ यात्रा गर्दा त्रिपुरेश्वरको बाटो हुँदै आएपछि यहीँको शौचालय प्रयोग गर्ने तामाङ बताउँछिन्।
काठमाडौंका व्यस्त स्थानमध्ये एक हो, त्रिपुरेश्वर। यहाँ सवारी छिचोल्न पैदलयात्रीलाई हम्मे पर्छ नै, त्यसमाथि दिसा, पिसाब लागेमा झनै सास्ती बेहोर्नुपर्थ्यो। त्रिपुरेश्वरको बस बिसौनीसँगै पाँच सय वर्गमिटरमा आधुनिक सार्वजनिक शौचालय निर्माण भएपछि यात्रीले राहत पाएका छन्।
शहरमा बेला-बेलामा विभिन्न ट्रेन्ड चल्छन्। तीमध्ये अधिकांश अर्को ट्रेन्डसँगै बिलाउँछन्। तर, कतिपय यस्ता ट्रेन्ड हुन्छन्, जसले सामाजिक अभियानको रूप लिन्छन्। अनि समाज सुधारको गोरेटो कोर्छन्। शहरमा अहिले चलेको स्मार्ट शौचालयको त्यस्तै ट्रेन्ड हो, जसले सामाजिक अभियानको आकार लिएको छ। यसको नेतृत्व गरेका छन्, वातावरण अभियन्ता प्रकाश अमात्यले।

दृढ इच्छाशक्तिको उपज
वर्षौंदेखि काठमाडौं उपत्यकामा व्यवस्थित सार्वजनिक शौचालयको माग हुँदै आएको थियो। तर, त्यसमा कसैको चासो थिएन। भएका सार्वजनिक शौचालय पनि फोहोर र अव्यवस्थित थिए। त्यही देखेर हो, वातावरणप्रेमी अमात्य स्मार्ट शौचालय बनाउन कस्सिए।
‘म आफैँ वातावरणको विद्यार्थी हुँ। वातावरण सरसफाइदेखि पानी संकलनसम्म धेरै अनुभव बटुलेको मान्छे,’ उनी भन्छन्, ‘सरकारले वातावरण, पानी दिवसको दिन कार्यक्रम गर्ने भए पनि भएका शौचालयलाई व्यवस्थापन गरेको देखिँदैन। हामीसँग भएका शौचालयहरू देखाउन लायकका थिएनन्।’ यी सबै कुरालाई मध्यनजर गर्दै शौचालय व्यवसायीकै रूपमा अगाडि बढ्न हौसिए अमात्य।
शुरुमा उनी शौचालयको संरचनाको ढाँचा बनाउनतिर लागे। जब उनको ढाँचा तयार भयो, काठमाडौं महानगरले पनि चासो दियो। अनि त्यही अवधारणामा उनी शहरभरि आधुनिक ‘शौचालय चेन’ निर्माणमा लागिपरेका छन्। र, त्यसमा महानगरको सहकार्य छ।
त्रिपुरेश्वरबाहेक पाटन मंगलबजार, पाटन ढोका, पाटन दरबार स्क्वायर, दरबारमार्ग, नयाँ बानेश्वर र विष्णुमतीको रामघाटमा आधुनिक शौचालय सञ्चालनमा आएका छन्। यी सबैभन्दा पहिले उनले स्वयम्भुमा त उनले पार्कसहितको शौचालय नै निर्माण गरेका छन्।
स्वचालित प्रविधिको प्रयोग
सार्वजनिक शौचालयभन्दा धेरैजसोले झट्ट सम्झिन्छन्, जहाँतहीँ मलमूत्रको दुर्गन्ध, फोहोर, फ्लस नगरेको चर्पी। तर, अमात्यको कन्सेप्टमा बनाइएका शौचालयको वातावरण नै फरक छ- सफा, चिटिक्क अनि स्वचालित। पहिलोपटक शौचालयभित्र प्रवेश गर्दा जोकोहीलाई लाग्छ, ओहो शौचालय यस्ता पनि हुँदा रहेछन् !
‘सार्वजनिक शौचालयमा प्रायः पुरुषको तुलनामा महिलालाई बढी समस्या हुन्छ,’ अमात्य भन्छन्, ‘प्याडको उपलब्धतादेखि व्यवस्थापनसम्म कुनै समस्या नहोस् भन्ने हेतुले महिलामैत्री शौचालयमा बढी जोड दिइएको छ। दुई रुपैयाँका तीनवटा सिक्का बक्समा खसाएपछि एउटा प्याड उपलब्ध हुन्छ। त्यसैगरी, प्रयोग गरिसकेको प्याडलाई व्यवस्थापन गर्न शौचालयभित्रै मेसिन राखिएको छ।’
स्मार्ट शौचालयमा सेन्सर प्रणाली जडित छ। प्रविधिको युगमा अझै पनि कतिपय सार्वजनिक शौचालयमा मानिसले सफा गरिरहेको देखिन्छ। आफैंले सफा गर्नुपर्ने अवस्था आउँदा धेरैलाई असहज महशुस पनि हुन्छ। तर, स्मार्ट शौचालयमा त्यो झण्झट छैन। यहाँ कुनै ठाउँमा मानिसले छुनु पनि पर्दैन।
धारादेखि शौचालय फ्लसिङसमेत स्वचालित छन्। शौचालयमा सेन्सर बत्ति जडित छन्। मान्छे भित्र पस्दा सेन्सर लाइट बल्छ र बाहिर निस्कँदा स्वतः निभ्छ। पुरुष, अपांग तथा तेस्रो लिंगी र महिलाका लागि शौचालयमा भेन्टिलेसनको राम्रो व्यवस्था छ। स्मार्ट शौचालयको विशेषता भनेकै यसको आधुनिकता हो। सानो ठाउँलाई पनि व्यवस्थित तरिकाले उपयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, यी स्मार्ट शौचालय।

सहयोग अपरिहार्य
कुनै पनि सामाजिक कार्य गर्न टोल, छरछिमेक, समाज, स्थानीय निकाय, सरकारको अहम् भूमिका हुन्छ। अमात्यलाई पनि स्मार्ट शौचालय निर्माणमा सहयोगको खाँचो पर्यो। शौचालय निर्माण एक सामाजिक कार्य भएकाले समाजको झन् बढी महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछन्। भन्छन्, ‘शौचालय भनेपछि गन्ध आउँछ भनेर शुरुमा धेरैले सहयोग गर्न मान्नुभएन। तर, विस्तारै उहाँहरूलाई सम्झाएपछि जग्गा दिनेदेखि अन्य सहयोग प्राप्त हुँदै गयो।’
अमात्यका अनुसार शौचालय निर्माण गर्दा भिन्न ठाउँमा फरक-फरकको सहयोग मिलिरहेको छ। स्वयम्भूमा वडाले जग्गा उपलब्ध गराएको हो। त्रिपुरेश्वरमा फाउन्डेसनलगायत अन्य ठाउँबाट सहयोग मिलेको हो। शौचालयलाई नन-प्रोफिट कम्पनीका रूपमा अगाडि बढाइरहेको अमात्यको भनाइ छ।
यस्तै, शौचालय बनाउँदा लाग्ने लागत पनि फरक छ। शौचालयको आकारअनुसार फरक-फरक लागत छ। त्रिपुरेश्वरमा ३५ लाख र स्वयम्भूमा ५५ लाख रुपैयाँ शौचालय बनाउँदा खर्च भएको अमात्यले जानकारी दिए।

स्वयम्भू पहिलो रोजाइ
स्मार्ट शौचालय निर्माणका लागि अमात्यले सबैभन्दा पहिले स्वयम्भूलाई रोजे। उनले स्वयम्भूलाई रोज्नुको कारण पनि छ। स्वयम्भू काठमाडौं शहरको पश्चिमतर्फ डाँडामा रहेकोे एउटा प्राचीन बौद्ध सम्पदा हो। पर्यटकीय तथा धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण छ, स्वयम्भू। यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ।
‘धेरै नै व्यस्त रहने स्वयम्भूमा शौचालय बनाउन आवश्यक लाग्यो,’ अमात्य भन्छन्, ‘स्वयम्भू छनोट गर्नुको मुख्य उद्देश्य यहाँ आउने पर्यटकलाई शौचालयमा सहज होस् भन्ने हो। ठाउँ छानेपछि वडाले जग्गा पनि प्रदान गर्ने भएपछि कामलाई अगाडि बढाउन धेरै सहज भयो।’
काठमाडौं उपत्यकामा सञ्चालित स्मार्ट शौचालयका आ-आफ्नै विशेषता छन्। अमात्यका अनुसार शौचालयलाई दिगो रूपमा चलाउनका लागि ग्राहकसँग शुल्क लिनुपर्ने बाध्यता छ। ठाउँअनुसार शूल्क पनि फरक छ। स्वयम्भूमा गएपछि त्यहाँको सञ्चालन प्रक्रिया फरक छ। पर्यटकीय स्थल भएकाले त्यहाँ शौचालय प्रयोग गरेवापत १५ रुपैयाँ लिने गरिन्छ। र, त्यहाँ शौचालय प्रयोगकर्तालाई निःशुल्क चिया खुवाउने व्यवस्थासमेत छ। त्रिपुरेश्वरमा शौचालय प्रयोग गरेवापत १० रुपैयाँ लिइन्छ। शौचालयबाट निस्किएको बायोग्यासको प्रयोग गरेर चिया पसल थापिएको छ। वातावरणीय रूपमा यो स्वच्छ अभियान भएको अमात्यको तर्क छ।
महिला कर्मचारी
काठमाडौं र ललितपुर महानगरसँगको सहकार्यमा स्मार्ट शौचालयमा १८ जनाले रोजगारी पाएका छन्। सबै शौचालयमा महिला कर्मचारी छन्। शौचालयसँगै चिया सप पनि खोलिएका छन्, जहाँ बायोग्यासको प्रयोग हुन्छ। निजी कम्पनीले सञ्चालन गरे पनि शौचालयमा उठ्ने रकम भने स्वयं कर्मचारीको पारिश्रमिकका लागि मात्रै खर्च हुने अमात्य बताउँछन्।
‘काठमाडौं उपत्यकामा वर्षौंदेखि सरसफाइ गर्दै आएका व्यक्तिलाई प्राथमिकता दिइएको छ,’ अमात्य भन्छन्, ‘कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब दिइएको छ। त्यसबाहेक उहाँहरूको जीवन बीमा पनि गरिएको छ। सिफ्टअनुसारको काम गरेवापत सोहीअनुसार तलब दिने व्यवस्था पनि छ।’ शौचालय पनि एक सम्मानजनक पेशा हो भन्ने बुझाउने गरी आफूहरू अगाडि बढेको उनी बताउँछन्।
स्मार्टबाहेक काठमाडौं उपत्यकामा २४९ वटा सार्वजनिक शौचालय छन्। तर, तीमध्ये अधिकांश प्रयोग गर्ने अवस्थाका छैनन्। तर, स्मार्ट शौचालयको कन्सेप्टले विस्तारै सबैको सोचाइमा परिवर्तन गरिरहेको छ।

आजको आवश्यकता स्मार्ट शौचालय
शौचालय भन्नेबित्तिकै आज पनि नाक खुम्च्याइन्छ। तर, आधुनिक शौचालय व्यावसायिक मोडेलमा लैजान सकिने अमात्य बताउँछन्। भन्छन्, ‘यस्ता शौचालयहरू शहरकेन्द्रित नभएर ग्रामीण भेगमा पनि उपलब्ध हुनुपर्छ। यस्तै, राजमार्गमा स्मार्ट शौचालय निर्माण गरिनुपर्छ। यात्राको समयमा शौचालयको आवश्यकता पर्छ।
हरेक पेट्रोल पम्प खोल्दा लाइसेन्स लिनुपर्छ। लाइसेन्समा दुइटा कुरा भनिएको छ। एउटा- ग्राहकलाई खानेपानी उपलब्ध गराउनुपर्छ। अर्को- सार्वजनिक शौचालयको सेवा दिनुपर्छ। तर, प्रायः त्यो नियम नियममै सीमित छ। राजमार्गमा हरेक पाँच किलोमिटरको दूरीमा पेट्रोल पम्प छन् तर शौचालय कतै देखिँदैनन्। ‘त्यस्ता ठाउँमा स्मार्ट शौचालयको आवश्यकता छ,’ अमात्य भन्छन्, ‘जनघनत्व बढी भएको स्थानमा स्मार्ट शौचालय बनाउनु समयको आवश्यकता हो।’
कार्यविधि जरुरी
सार्वजनिक शौचालय निर्माण गर्न सहज नभएको अमात्यको अनुभव छ। उनका अनुसार जग्गा व्यवस्थापन, आर्थिकलगायत समस्या आउँछन्। शौचालय बनाउँदा वरिपरिका मानिसले दुर्गन्धित र फोहोर हुन्छ भन्ने सोच्छन्। त्यसैले पुरानै शौचालयको ठाउँमा नयाँ तरिकाले बनाउने जमर्को गरिएको छ।
‘शौचालय बनाउनेदेखि सञ्चालनसम्ममा सरकारले मापदण्ड बनाउनुपर्छ,’ उनी भन्छन्, ‘सञ्चालन र व्यवस्थापन कसरी गर्ने भन्ने कार्यविधि हुनुपर्यो। बनाइएका शौचालयको सरकारले अनुगमन गर्ने नियम बनाउनुपर्छ। काठमाडौं उपत्यकाभित्र शौचालय बनाए पनि बहालमा दिने चलन छ। महानगरपालिकाले बहालमा दिने कार्यलाई रोक्नुपर्छ। शौचालय भनेको नाफामुखीभन्दा सेवा दिने अभिप्रायले खोलिनुपर्छ।’
बहालमुखी नीतिलाई परिवर्तन गरेर सञ्चालनमा ल्याइएका स्मार्ट शौचालयलाई उदाहरण मानेर अन्य ठाउँमा खोल्नुपर्नेमा उनको जोड छ। आगामी तीन वर्षमा ५० वटा स्मार्ट शौचालय बनाइसक्ने अमात्यको लक्ष्य छ।
के हो स्मार्ट शौचालय ?
स्मार्टभन्दा पनि वातावरणीय शौचालय भन्न अमात्य रुचाउँछन्। भन्छन्, ‘यसलाई के नाम दिने भनेर हामी अझै अन्योलमा छौं। राजनीतिज्ञहरूले यसलाई स्मार्ट ट्वाइलेट भनेर सम्बोधन गरेको पाइन्छ। स्मार्ट नामअनुसारकै सस्टेनेबल, मेजेरेबल, एक्सेसेबल, कम्फर्टटेबल र टाइम्ली हुनुपर्छ।’ यी शौचालयमा ती कुराहरू सम्भव रहेको उनको भनाइ छ।
काठमाडौं र ललितपुरमा निर्मित शौचालयहरू स्वचालित र आकर्षक छन्। शौचालयमा आकाशे पानीको प्रयोग हुन्छ। आकाशको पानीलाई ट्यांकीमा संकलन गरी प्रयोग गरिन्छ। धारा स्वचालित भएकाले पानीको पनि बचत हुन्छ। यहाँको दिसा-पिसाब ढलमा जाँदैन। यसलाई बायोग्यासका रूपमा प्रयोग गरेर चिया, नास्ता बनाइन्छ। स्मार्ट शौचालयको नामअनुसारको काम चिटिक्क छ।