वाणिका प्रधान, नेपाली सांगीतिक दुनियाँमा एक चर्चित नाम। नेपाली संगीतमा आफ्नो करिअरलाई उचाइ दिइरहेकी उनी पनि कोरोना भाइरसको महामारीका कारण दुई वर्षयता घरमै कैदझैँ जिन्दगी बिताउन बाध्य भइन्। तर, सर्जक कहाँ चुप बस्न सक्छन् र ! गायिका प्रधानले पनि लकडाउन जिन्दगीमा आफूलाई घरभित्रै साधनामा लीन गराइन्। उनले एक हजारभन्दा धेरै गीत गाएकी छन्। त्यसमा चलचित्रका गीत पनि कम छैनन्। नेपाली मात्र कहाँ हो र, मारवाडी, भोजपुरी, राजवंशी, मैथिली गीत पनि गाएकी छन्। उनका चर्चित गीतहरूमा पर्छन्, फिल्म ‘ब्लाइन्ड रक्स’को ‘उड्यो मन’, फिल्म ‘रुद्रप्रिया’को ‘घरिघरि आउँछ तिम्रो याद’लगायत। सांगीतिक करिअर अगाडि बढाउँदै गर्दा आदिकवि भानुभक्त आचार्यको पहिलो कविता ‘घाँसी’लाई गीतमा ढालेर गायिका प्रधानसहितले गरेको प्रयास साँच्चिकै लोभलाग्दो छ। उनै चर्चित गायिका प्रधानसँग नेपाली हेडलाइनले दुईवर्षे कोरोनाकालको जीवनमा केन्द्रित रहेर गरेको संवाद :
कोराना त्रासका कारण दुई वर्षभन्दा बढी समयदेखि सांगीतिक क्षेत्र ठप्प छ। यो समय कसरी बिताउनुभयो?
अरूजस्तै म पनि घरमै बसेँ। गीत-संगीतका कामहरू खासै केही भएन। विपद्को समयमा मनोरञ्जन कम प्राथमिकतामा पर्छ। स्वास्थ्य, खानाजस्ता अत्यावश्यक वस्तको चिन्ता भएको कोरोनाकालमा म पनि जोगिएर बसें। आर्थिक मन्दीमा सांगीतिक क्षेत्र कसरी अगाडि बढ्ला भन्ने चिन्ता पनि लाग्यो।
कोरोना जोखिमका कारण लकडाउन नभएको भए के गर्ने योजनामा हुनुहुन्थ्यो?
केही नयाँ गीत बजारमा ल्याउने, म्युजिक भिडियो बनाउने योजना थियो। केही गीत रेकर्डिङ गर्न बाँकी, रेकर्डिङ भएका गीत मिक्सिङ गर्न बाँकी र अडियो तयार भएका गीतको म्युजिक भिडियो बनाउने तयारी हुँदै थियो। ती कामहरू त्यत्तिकै रोकिए। लकडाउनले रोकिएको कामलाई बल्ल सहज बनाउँदै छु।
केही समयअघि ‘अकस्मात’ बोलको गीत बजारमा ल्याएको छु। झण्डै दुई वर्षपछि यो गीत बजारमा ल्याउन सकेँ। सरकारको तलबभत्ता बुझ्नेबाहेक सबैको आम्दानी ठप्प थियो, कोरोनाकालमा। कलाकारको पनि आम्दानी हुनै कुरै भएन। तर, एउटा खुशी केमा लाग्यो भने विपद्मा पनि पब्लिकले कलाकारलाई सम्झिनुभयो। त्रासमा खुशी दिन होस् वा सन्देशमुलक गीत गाउन हामीलाई सम्झिनुभयो। शान्ति, आनन्दानुभूति र मनलाई एकत्रित बनाइराख्न संगीत सरल माध्यम भएर पनि होला स्रोता दर्शकले हामीलाई प्रत्यक्ष रूपमा नभए पनि भर्चुअल माध्यममार्फत हामीलाई हेर्नुभयो, सुन्नुभयो।
लकडाउनको समयमा भर्चुअल माध्ययमबाट गीत संगीतमा मनोरञ्जन दिँदै आम्दानी पनि गर्नुभयो कि?
कोरोनाको त्रास र पीडाबाट उम्किने एउटा उपाय गीत संगीत बन्न पुग्यो। भर्चुअल माध्ययमबाट गीत गाउन धेरै स्रोता दर्शकले आग्रह गर्नुभयो। शुरुको एक महिना खानपान का विभिन्न परिकार बनाएर खाएर बित्यो। त्यसपछि भर्चुअल माध्यममार्फत गीत संगीत सुन्ने-सुनाउने गर्न थालेँ। तर, त्यो निःशुल्क थियो।

लकडाउनमा यसैसँग सम्बन्धित पेशा व्यवसाय गर्नेहरूले आम्दानी गरेको देखियो तर हामीले निःशुल्क मनोरञ्जन दियौँ। स्वदेश र विदेशमा रहेकाहरूले गीत सुनेर मनोरञ्जन लिने र कसैले पैसा चाहिन्छ कि चाहिँदैन भनेर सोध्नुभएन। त्यो आँट गर्नुभएन। कोरोना राहत पनि पाइएन। जनताका लागि बिनाशुल्क गीत गाएँ। सबैले जनताको लागि सोचे, कलाकारका लागि सोच्ने कोही पनि भेटिनुभएन।
आम्दानी नभएको समयमा पैसाको व्यवस्थापन कसरी गर्नुभयो?
आफैंले बचत गरेको पैसाले आवश्यकता पूरा गरें। घरमा माग्नु पनि परेर, अन्यन्त्र ऋण पनि खोज्नु परेन। हाम्रो देशमा कलाकारले रोयल्टी पनि पाउने व्यवस्था भइदिएको भए आर्थिक रूपमा अप्ठेरो पर्ने थिएन। तर, दुःखको कुरा रोयल्टी पाउन हामीकहाँ सहज कहाँ छ र !