रेश्मा सिंह
कोरोना कालले संसारभरिका मानिसलाई घरभित्रै कैद गरायो। तर, त्यसले अवसर पनि जुरायो। मानिस इन्टरनेटमा मात्र व्यस्त भएनन्, शारीरिक तन्दुरुस्तीका लागि ‘वर्क आउट’मा पनि अग्रसर भए। त्यही ‘वर्क आउट’को एक अंग बन्यो, योग। यही समयमा हो, घर-घरमा योग साधना पुगेको पनि।
पछिल्ला दुई वर्षका बारेमा मानव सभ्यताले कहिल्यै सोचेको थिएन। विभिन्न कालखण्डमा मानव सभ्यताले महामारीको सामना नगरेको होइन। तर, पछिल्ला दुई वर्ष विगतका महामारीको अवस्थाभन्दा फरक थिए। किनकि, प्रविधिको उच्चस्तरको विकासले संसारभरका मानिसलाई आपसमा जोडेको छ। र, त्यही प्रविधिको सहायताले कुना-कुनासम्म योग पुगेको छ। जानकारहरू कोरोना कालमा मानिसको मनबाट डर, अशान्ति, तनाव, बेचैनी, छटपटी, र त्रास भगाउन योगले मद्दत पुर्याएको मान्छन्।
कोरोना भाइरस संक्रमण एकाएक महामारीमा परिणत हुँदा विश्वभरका मानिसमा हतासा र मानसिक विचलन उत्पन्न गरायो। त्यसको प्रत्यक्ष असर मानिसको स्वास्थ्यमा देखापर्नु स्वाभाविकै थियो। लामो समयसम्म अफिस, कलकारखाना र शिक्षण संस्था बन्द रहँदा घरमै लकडाउनको जिन्दगी बाँचे मानिसले। महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक बाटो एउटा बलियो कडी बन्यो।
लकडाउनका बेला आत्मा र शरीरलाई बलियो बनाउन योग महत्त्वपूर्ण कडी सावित भएको योगगुरु लवदेव मिश्र बताउँछन्। भन्छन्, ‘योग साधना प्रत्येक मानिसले गर्न आवश्यक छ। योगले मनमा सकारात्मक ऊर्जा जाग्छ। भय र बेचैनी हट्छ। यसले मनलाई स्थिर र शान्त बनाउँछ।’
कोरोना कहरमा योग
कोरोना, लकडाउन, आर्थिक मन्दी, बेरोजगारी आदिले मान्छेमा चरम निराशा, शंका, भय, अनिश्चितता, क्रोधजस्ता मानसिक समस्या उत्पन्न गरिदिएको थियो। यहीबेला योगले त्यस्तो त्रासदीबाट मुक्त रहन अस्त्रको काम गरेको उनको अनुभव छ।
‘कोरोनाकालमा योग सञ्चालन गर्ने क्रममा दुईवटा विधि मुख्य रुपमा आश्रित थिए,’ उनी भन्छन्, ‘कोरोनाकालमा एक व्यक्तिले अर्कोलाई छुन सक्ने अवस्था थिएन। प्रारम्भमा योग मान्छेलाई कसरी गराउने भन्ने नै समस्या थियो। नेपालभर रहेका करिब चार हजार नियमित कक्षा कोरोना कहरका बेला बन्द भए। त्यसबेला जुन क्वारेन्टिनहरू निर्माण भएका थिए। हिम्मती योग गुरुहरूले त्यहाँ गएर योग कक्षा दिए। आइसोलेसनमा पनि विभिन्न प्रविधि अपनाएर योग गराइयो।’ उनका अनुसार यसबाहेक अनलाइन (भर्चुअल) माध्यमबाट पनि नियमित योग गराइयो।
उनका अनुसार जुमबाट देशभर ३२ वटा योग कक्षाहरू सञ्चालन गरिएका थिए। एउटा जुम कक्षाको क्षमता हजार जनासम्मको थियो। हजारौं मानिस अनलाइनबाट जोडिएर योग गर्थे। कहिले घरबाट बाहिर नगएका, योग गर्न नचाहने मानिसहरूले पनि अनलाइन कक्षामार्फत धेरै कुरा सिके।
यस्तै, सञ्चारमाध्यमको सहज पहुँचले कोरोनाकालमा घर-घरमा योग पुगेको वास्तुतन्त्र तथा योगविद् वासुदेवकृष्ण शास्त्री बताउँछन्। भन्छन्, ‘कोरोनाकालमा जताततै लकडाउनको स्थिति थियो। यो समय सबैजना सञ्चारमाध्यममा सक्रिय रहे। विशेषगरी युट्युब, इन्टरनेट तथा अन्य सामाजिक सञ्जालले योगलाई बृहत बनाउन अहम् भूमिका वहन गर्यो।’
योगप्रति रुचि
कोरोनाकालमा धेरै समय घरमै बस्नुपर्दा के गर्ने भनेर धेरैलाई द्विविधा थियो। यहीबेला सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट योगसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन भए। यससँगै कोरोना कहरको बेला विश्व स्वास्थ्य संगठनले एउटा सन्देश जारी गर्यो। संगठनले सबैलाई स्वस्थ र खुशी रहन योग साधनामा लाग्न प्रेरित गरेको योगगुरु मिश्र बताउँछन्।
‘डब्लूएचओले नै योगबारे संकेत गरेपछि योग प्रमाणित कुरा हो भनेर नेपाललगायत विश्वभर योग गर्न थालियो,’ मिश्र भन्छन्, ‘मान्छेहरू तनावमा भएको बेला औषधिभन्दा मोटिभेसनल स्पिच र प्रयोगात्मक विधिबाट काम गर्छन्। मोटिभेसनल कुनै प्रवचन वा भनाइ सुनेर मान्छेको मनमा एक किसिमको चलिराखेको विचारमा परिवर्तन आउँछ। यसले मान्छेको तनाव कम हुन्छ। यसैगरी योगद्वारा शरीरमा पर्याप्त मात्रामा अक्सिजन सप्लाइ गरेर शरीरका प्रत्येक अंगमा जमेका विजातीय तत्त्वहरूलाई बाहिर निकालेर पनि तनाव कम गर्न सकिन्छ।’ यी दुई प्रक्रिया कोरोनाकालमा अत्यन्त प्रभावी सावित भएको उनी बताउँछन्।
योगका फाइदा
मानिसले व्यस्त दिनचर्याका क्रमा कैयौं रोगहरूको सामना गर्नुपर्छ, जसका बारेमा मानिसले कहिल्यै सुनेका पनि हुँदैनन्। यसको सबैभन्दा ठूलो कारण हो, अस्तव्यस्त जीवनशैली र चौबीसै घण्टा स्ट्रेसमा रहने दैनिकी। सही ढंगले योग र ध्यान गर्ने हो भने जिन्दगीबाट तनाव भाग्छ।
योगगुरु मिश्रका अनुसार योग साधनाले सकारात्मक भावनाको विकास गराउँछ। र, सकारात्मक ऊर्जाले नै हो, व्यक्तिलाई दीर्घजीवी बनाउने पनि। शरीरमा हल्कापन महशुस हुन्छ। भय, तनाव र असुरक्षाको भाव हट्छ। जब मानिस सकारात्मक मनले कुनै कामना गर्छ, उसमा एक किसिमको शक्ति प्राप्त हुन्छ। मनोबल उच्च रह्यो भने सानोतिनो संकटले पनि विचलित बनाउँदैन।
किन गर्ने योग?
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ। सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो। साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो। परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोड्ने माध्यमका रूपमा लिइन्थ्यो। योग विभिन्न प्रकार छन्, याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्यागलगायत।
योग हरेक उमेर समूहका मानिसले गर्न सक्छन्, त्यसमार्फत रोगी व्यक्ति निरोगी बन्छन्, सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिमा हिँडाउँछ। योगले सकारात्मक सोचको विकास गराउँछ र मनमा नकारात्मकता पैदा नहुँदा व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन गराउँछ।
पृथ्वीमा अक्सिजनको मात्रा अत्यधिक हुने समयलाई ब्रह्म मुहुर्त भनिन्छ। खासगरी, बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने अध्ययनहरूले देखाएका छन्। र, त्यही समयलाई ब्रह्म मुहुर्त नाम दिइएको छ। यही समयमा आधा घण्टादेखि डेढ घण्टासम्म योग गर्नाले शरीरमा अक्सिजन प्रशस्त मात्रामा भित्रिने जानकारहरू बताउँछन्।