नयाँदिल्ली- मानव शरीर मेसिनहरूको भण्डार नै हो। कलेजो, मिर्गौला, मुटु, इन्टेस्टाइन, फोक्सो सबै प्राकृतिक मेसिन हुन्। कृत्रिम मेसिनहरूलाई जस्तै यिनीहरूलाई पनि इन्धनको आवश्यकता हुन्छ। र, त्यस्तो इन्धन यिनीहरूले भोजनबाट प्राप्त गर्छन्। हामीले खाएको भोजन पचाएर शरीरले इन्धन प्राप्त गर्छ। र, त्यसलाई आवश्यक पर्ने अंगहरूमा बाँडिदिन्छ।
भोजनमा अनेक प्रकारका पोषक तत्त्व हुन्छन्। त्यस्तै एउटा माइक्रो न्युट्रिएन्स कार्बोहाइड्रेड हो। र, त्यो भात, रोटी र फलहरूबाट शरीरले प्राप्त गर्छ। कार्बोहाइड्रेडलाई छोटकरीमा कार्ब पनि भनिन्छ। कार्ब ऊर्जाको आधारभूत स्रोत हो।
मेटाबोलिक साइन्सका विज्ञहरू मोटोपन बढ्नुमा हाई सुगर र हाई कार्ब फुडहरूलाई जिम्मेवार मान्छन्। टाइप-२ डाइबिटिज र अन्य स्वास्थ्य समस्यामा पनि कार्ब फुड्सलाई जिम्मेवार मान्ने गरिएको छ। सोही कारण कार्बोहाइड्रेडलाई शरीरका लागि हानीकारक भएको बताउनेहरूको संख्या बढी छ। तथापि, कुरा त्यस्तो होइन। कार्बोहाइड्रेड शरीरको मित्र र दुश्मन दुवै हो।
कार्ब दुई प्रकारका हुन्छन्- सिम्पल र कम्प्लेक्स। सिम्पल कार्बलाई पचाउन शरीरलाई कुनै मिहिनेत पर्दैन। सोही कारण सिम्पल कार्ब सहजै ऊर्जामा रूपान्तरित हुन्छन्।
कम्प्लेक्स कार्ब भने फाइबरयुक्त हुन्छन्। यस्तो कार्ब ढिलो पच्छन्। यिनले ब्लड सुगर बढाउँदैनन्। र, गट माइक्रोबायोम्सका मित्र हुन्छन्।
तथापि, सिम्पल कार्ब जति सहजै पच्छन्, त्यति नै ब्लड सुगरको लेभल बढाउन जिम्मेवार हुन्छन्। सोही कारण सिम्पल कार्बको बढी
सेवन स्वास्थ्यका लागि हानीकारक मानिएको छ। जस्तो- चिनीमा सिम्पल कार्ब पाइन्छ। यस्तो कार्बमा कुनै पोषक तत्त्व हुँदैन। तथापि, यस्तो कार्ब प्राकृतिक स्रोतबाट प्राप्त भएको छ भने ज्यादा नोक्सानदायी हुँदैन। किनकि, प्रकृतिले यिनको साथमा कम्प्लेक्स कार्ब अर्थात फाइबर पनि साथै पठाएको हुन्छ। र, मिनरल्स पनि साथमै हुन्छ।
त्यसैले कम्प्लेक्स कार्बयुक्त खानेकुरामा चिकित्सकहरूले जोड दिने गरेका छन्। फाइबरयुक्त खानेकुरामा यस्तो कार्ब पाइन्छ। र, शरीरलाई सन्तुलित राख्न यस्तो कार्बको भूमिका महत्त्वपूर्ण हुन्छ।
के-केमा पाइन्छ बढी कम्प्लेक्स कार्ब ?
जुनेलो
जुनेलो एक प्रकारको पौष्टिक अनाज हो। त्यसलाई हेल्थ कन्सस मानिसहरू ज्यादा रुचाउँछन्। वैज्ञानिक रूपमा यो सिड्स क्याटेगोरीमा पर्छ। तर, यसलाई मानिसलाई उब्जाएर खाने गर्छन्। यसमा ७० प्रतिशत कार्ब हुन्छ। र, प्रोटिन र फाइबरको राम्रो स्रोत मानिन्छ। यसले ब्लड सुगरलाई नियन्त्रणमा राख्ने प्रयोगबाटै पुष्टि भएको छ। र, यो मुटुको स्वास्थ्यका लागि लाभदायक मानिन्छ। जुनेलोलाई गहुँको राम्रो विकल्प मानिन्छ।
ओट्स
ओट्स पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ। ओट्सको प्रयोग बिस्कुट बनाउनमा पनि हुन्छ। यसमा हाई कार्बका साथमा धेरै भिटामिन, मिनरल्स र एन्टी-अक्सिडेन्ट्स पनि पाइन्छ। यसमा ७० प्रतिशत कार्ब र बिटा ग्लुकेन नामक खास फाइबर पनि प्रचुर मात्रामा पाइन्छ। यो प्राटिनको राम्रो स्रोत हो।
यसको नियमित सेवनबाट कोलेस्टेरोलको मात्रा घट्छ। र, हृदय रोगको जोखिम पनि कम गराउँछ। टाइप-२ डाइबिटिजका बिरामीका लागि पनि यो लाभदायक हुन्छ।
केरा
केरा संसारमा सबैभन्दा बढी रुचाइने फल हो। एउटा केरामा ३० ग्राम कार्ब हुन्छ। पोटेसियम तथा ‘भिटामिन-बी ६’ र ‘भिटामिन-सी ईएल’ पनि केरामा भरपुर मात्रामा पाइन्छ। यसले हाइपर टेन्सन कम गर्न मद्दत पुर्याउँछ। पाचनतन्त्रमा भोजन पचाउन पनि यो उपयोगी हुन्छ।
सखरखण्ड
हाम्रो गाउँघरमा ‘सुठुनी’ भनेर चिनिने सखरखण्डमा प्रशस्त कार्ब पाइन्छ। १०० ग्राम सखरखण्डमा करिब २०.७ ग्राम कार्ब हुन्छ। यो ‘भिटामिन-ए’, ‘भिटामिन-सी’ र पोटेसियमको राम्रो स्रोत हो। यो एन्टीअक्सिडेन्टबाट भरपुर हुन्छ।
चुकन्दर
बिटरुट अर्थात चुकन्दर हाम्रो शरीरका लागि अति उपयोगी हुन्छ। यो अति पौष्टिक पनि हुन्छ। चुकन्दरलाई हाई-कार्ब फुड मानिँदैन। १०० ग्राम चुकन्दरमा १० ग्राम कार्ब हुन्छ। यसमा एन्टिअक्सिडेन्ट र प्लान्ट कम्पाउन्ड्सका साथमा भिटामिन र मिनरल्स पनि पाइन्छ।
चुकन्दरमा अकार्बनिक नाइट्रेट भरपुर पाइन्छ। यसले शरीरमा नाइट्रिक अक्साइड बनाउँछ। नाइट्रिक अक्साइडले हाइपरटेन्सनलाई कम गर्छ। र, धेरै प्रकारका बिरामीबाट बचाउँछ।
स्याउ
स्याउ जति स्वादिलो हुन्छ, उति नै गुनिलो पनि। १०० ग्राम स्याउन १४ देखि १६ ग्राम कार्ब हुन्छ। साथमा धेरै प्रकारका भिटामिन र मिनरल्स पनि पाइन्छ। यो भिटामिन-सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत हो। नियमित स्याउ खाँदा ब्लड सुगर र मुटुको स्वास्थ्य व्यवस्थित रहन्छ। र, क्यान्सरको खतरा पनि कम हुने विज्ञहरूको दाबी छ।
सुन्तला
सुन्तला सबैभन्दा लोकप्रिय फल हो। यसमा पानीको मात्रा प्रशस्त हुन्छ। १०० ग्राम सुन्तलामा १५.५ ग्राम कार्ब पाइन्छ। र, यो फाइबरको राम्रो स्रोत पनि हो। ‘भिटामिन-सी’ ‘भिटामिन-बी’ र पोटेसियम पनि भरपुर पाइन्छ। यस्तै, साइट्रिक एसिड र एन्टिअक्सिडेन्ट पनि भरपुर हुन्छ। सुन्तला मिर्गौला र स्टोनको उपचारमा पनि उपयोगी हुन्छ।