काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य हमला जारी राखेको छ। रुसले विभिन्न शहरमा गरेको सैन्य हमलाबाट लाखौँ सर्वसाधारण देशबाहिर गएका छन्।
युद्धमा सयौँ मानिसले ज्यान गुमाएका छन्। हजारौँ बालबालिका अभिभावकविहीन बन्न पुगेका छन्। यसैबीच एक ११ वर्षीय बालक एक्लै आफ्नो ज्यान बचाउन सुरक्षित ठाउँमा जाँदै गरेको भिडियो सार्वजनिक भएको छ।
रुसको बमबारीबाट बच्न उनी एक्लै ११ सय किलोमिटर टाढाको स्लोभिकियातर्फ जाँदै गरेका हुन्। उनको एउटा हातमा फोन नम्बर लेखिएको छ। समाचारमा जनाइएअनुसार उनी स्लोभिकियामा भएका आफन्तकोमा जान लागेका हुन्।

भिडियोमा उनी हिँड्न नसकेको देखिएको छ। उनी एक्लै रुदै हिँडेका छन्। उनी आँखाभरिको आँसुले बाटो देखेका छैनन् तर, सुरक्षित ठाउँको खोजीमा हिँडिरहेका छन्।
भिडियोमा उनकै उमेरका अन्य बालबालिका आफ्नो परिवारसँग हिँडिरहेका देखिएका छन्। उनलाई कसैले साथ दिएका छैनन्।
बच्चाको साथमा उनले लगाएको एकसरो कपडा मात्रै छ । यस्तै, एउटा हातमा चक्लेट र अर्को हातमा सानो झोला बोकेका छन्।
उनका अभिभावक कहाँ छन् भन्ने यकिन हुन सकेको छैन। दैनिक भाष्करबाट