नेपाल र भारतबीच वर्षौँ पुरानो धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध छ। त्यसमा पनि तराई मधेशका जिल्लाहरू भारतीय सीमासँग जोडिएका छन्। कतिपय यस्ता नाका पनि छन्, जहाँ दुई देशको सिमाना छुट्याउनसमेत कठिन पर्छ।
सामान्यतः जस्तोसुकै छिमेकी मुलुक भए पनि आर्थिक कारोबार भने सम्बन्धित मुलककै मुद्रामा हुने गर्छ। यस्ता पनि भारतीय बजार छन्, जहाँ नेपाली रुपैयाँमा कारोबार हुन्छ। सुन्दा अचम्म लाग्न सक्छ तर धनुषा र महोत्तरीको सीमावर्ती बजारहरूमा नेपाली रुपैयाँमा कारोबार हुने गर्छ।
धनुषा सीमामै छ, भारत मधुवनी जिल्लाको पिपरौन बजार। धनुषा सदरमुकाम जनकपुरबाट करिब १५–१६ किलोमिटर दूरीमा पर्ने पिपरौन र उमगाव बजारमा नेपाली उपभोक्तरुको भीड लाग्ने गर्छ। खुला सीमा र नेपालभन्दा सस्तो भारतीय बजारले नेपाली उपभोक्तालाई तान्दै आएको छ।
भारतीय रुपैयाँ पाउन त्यति सजिलो छैन, नेपालमा। जनकपुरस्थित नेपाल राष्ट्र बैंक वा मनी चेन्जरहरूबाट भारतीय रुपैयाँ लिनुपर्छ, त्यो पनि सीमित मात्र। तर, जनकपुरका उपभोक्तालाई सीमावर्ती भारतीय बजारमा किनमेल गर्न भारतीय रुपैयाँ नै जरुरी छैन। सीमावर्ती बजारमा नेपाली रुपैयाँमै हुने कारोबारले सजिलो बनाएको छ, नेपाली उपभोक्तालाई।
विगतमा किनमेल गर्दा भारु मूल्यबराबर नेपाली रुपैयाँ दिँदा पनि हुन्थ्यो। तर, बेलाबेलामा भारतीय रुपैयाँ अभाव भइरहन्छ। त्यस्तो बेलामा केही मात्रामा थपेर (बट्टी) नेपाली रुपैयाँ दिनु परेको जनकपुरका रोशन मण्डल बताउँछन्।
सीमा क्षेत्रका व्यापारीहरू पनि नेपाली उपभोक्तासँग नेपाली रुपैयाँमै कारोबार गर्न रुचाउँछन्। चिनी, तेल, साबुन, तरकारीलगायत दैनिक उपभोग्य वस्तु किनमेल गर्न बढी नेपाली उपभोक्ता सीमावर्ती बजारमा पुग्ने गरेको पिपरौनका किराना पसल सञ्चालक राजेश कुमार बताउँछन्।
‘यहाँ अधिकांश जनकपुरका उपभोक्ता पुग्ने गरेका छन्,’ राजेश भन्छन्, ‘उहाँहरूले नेपाली रुपैयाँ तिरेर सामान खरिद गर्नु हुन्छ, हामीलाई केही समस्या छैन।’ तरकारीलगायत किराना सामान जनकपुर बजारभन्दा झण्डै २० देखि २५ प्रतिशत सस्तो पर्ने भएकाले नेपाली उपभोक्ता बढी आउने गरेको उनी बताउँछन्।
यस्तै, नेपाली उपभोक्ताको घुइँचो देख्न सकिन्छ, महोत्तरी सीमाको मधवापुर बजारमा। मटिहानी नगरपालिकासँगै रहेको मधवापुर पुगेपछि दुई मुलुकको सीमा छुट्याउनसमेत गा¥हो हुन्छ, पहिलोपटक त्यहाँ पुग्ने मानिसलाई। एक सडकले मटिहानी र मधवापुरको सीमा छुट्याएको छ। नेपालको मटिहानी सीमाबाट विहारको मधवापुर पुग्न दुई मिनट पनि हिँड्नु पर्दैन।
दैनिक प्रयोगका साथै भोजभतेर हुँदा जनकपुरसहित त्यस क्षेत्रका नेपाली उपभोक्ताको पहिलो प्राथमिकतामा पर्छ, मधवापुर बजार। घरायसी प्रयोजनका दैनिक उपभोग्यका सामग्री ल्याउन दुवैतर्फका सुरक्षाकर्मीले पनि छुट दिएका छन्। अनि, भारतीय व्यापारीले नेपाली मुद्रामै सामान बिक्री गर्न सहज बनाएकाले नेपाली उपभोक्ताको रोजाइमा परेका हुन्, भारतीय बजार।