काठमाडौं- चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित बनाउँछ। चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यो समयमा मुख्यतः बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित हुन्छन्।
यस्ता समस्या देखिन सक्छन्
चिसोले विशेषगरी रुघाखोकी, ज्वरो, निमोनियाजस्ता समस्या पार्ने गर्छ। यसबाहेक दम, बाथ र अन्य दीर्घरोगीलाई पनि चिसो घातक हुन्छ। उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीमा मांसपेशीको दुखाइ र अत्यधिक कमजोरीपन देखिएको छ। त्यसैले चिसोबाट बच्न सावधानी अपनाउनुको विकल्प छैन।
के गर्ने ?
जथाभावी औषधि नखाने
स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या जस्तै ज्वरो, रुघाखोकी, झाडापखाला, श्वासप्रश्वास, शरीर दुखाइ, निमोनिया र दम देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। आफैंले जथाभावी औषधि सेवन गर्नु हुँदैन।

तातोपानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त खाने
चिसोबाट बच्ने पहिलो उपाय भनेको शरीर पूरै ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउने नै हो। चिसोमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू सकेसम्म अत्याधक चिसो हुने स्थानमा जानु हुँदैन।
हिउँ खेल्ने र रमाइलोका लागि घुम्न जानेहरूमा चिसोले समस्या निम्त्याउने जोखिम रहन्छ।
चिसोबाट बच्न आगो, हिटर बालेर कोठा बन्द गर्दा ज्यान जाने घटना पनि बढिरहेका छन्। तसर्थ, कोठा न्यानो बनाउँदा भेन्टिलेसनको व्यवस्था गर्न छुटाउनु हँुदैन। कोठामा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्नुपर्छ।
आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै छाड्नु हुँदैन। साथै, आगो बालेर छोड्दा आगलागीको जोखिम रहने हुँदा आगो निभाएर वा सुरक्षित राखेर सुत्नुपर्छ।
दूधे बालबालिकालाई नियमित स्तनपान गराउनुपर्छ। साथै, अन्य बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीमा खानपानको उचित व्यवस्था गर्नुपर्छ। चिसोमा सकेसम्म तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त मात्रामा खानुपर्छ। जाडोका कारण पानी कम पिउँदा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन्।
(सशस्त्र प्रहरी अस्पतालका डा. झासँग गरिएको कुराकानीमा आधारित)