अहिले दिनप्रतिदिन तापक्रम घट्दै गएको छ। दैनिकजसो तापक्रम घट्दै जाँदा चिसो बढेर तराईमा शीतलहर र पहाडमा हिमपात हुने गर्छ। जसकारण बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी बढी जोखिममा पर्ने गर्छन्।
चिसोले रगत बाक्लो बनाउँछ। जाडोमा शरीर धेरै खुम्चने भएकाले रक्तनली साँघुरो हुन्छ र रक्तप्रवाहमा समस्या आउँछ। चिसोका कारण रक्तप्रवाहमा हुने समस्याले मुटुको रोग बढी निम्त्याउँछ।

चिसोका बेला हाम्रो पेटको आमाशयले पनि त्यति राम्ररी काम गर्न सक्दैन। खाएको खाना अपच हुने, ग्यास्ट्रिकको समस्या देखिने, वान्ता हुने, पातलो दिसा लाग्ने, टाउको रिंग्याउने, नाकमा पातलो सिँगान बग्ने आदि समस्या देखिन्छन्।
अन्य समयभन्दा यो समयमा भाइरलजन्य रोगले आक्रमण गर्ने सम्भावना रहन्छ। चिसोले मस्तिष्कमा पनि असर परिरहेको हुन्छ। अरू बेला सामान्य रूपमा हुन सक्ने हृदयाघात यो बेलामा मस्तिष्कघातमा परिणत हुन सक्ने जोखिमसमेत रहन्छ।
शरीर चिलाउने र छालासम्बन्धी समस्या पनि देखिन सक्छ। जाडोसँगै इन्फ्लुएन्जा, निमोनियाजस्ता रोग पनि देखा पर्छन्। साना बालबालिकामा निमोनिया देखा पर्दा वयस्क र वृद्धवृद्धामा ब्रोंकाइटिस तथा दम देखापर्ने गर्छन्।
कसरी बच्ने ?
जाडो समयमा चिसोबाट बच्नु निकै महत्त्वपूर्ण हुन्छ। यस्तो मौसममा हामीले शरीरलाई न्यानो राख्न जरुरी हुन्छ। त्यसका लागि न्यानो दिने कपडा लगाउनुपर्छ। पञ्जा, मोजा लगाउनाले पनि हातखुट्टा न्यानो बनाउन महत्त्वपूर्ण भूमिका वहन गर्छ। लामो समयसम्म एउटै मोजा लगाउँदा गन्हाउने हुँदा मोजा फेर्नुपर्छ।
घरमा बाहिरबाट चिसो आउने झ्याल-ढोका बन्द गर्नुपर्छ। तर, घर तातो बनाउने रहरमा सबै झ्याल–ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ। यसतर्फ पनि विचार गर्नुपर्छ।
घाम ताप्ने
अन्य समयभन्दा चिसोका बेला घाम कम लाग्छ। दिउँसोको समयमा एकैछिन घाम ताप्दा शरीर न्यानो हुन्छ। घाम लागेको समयमा कोठाहरू खोल्नाले कोठा पनि तातो हुन्छ।
आफूलाई सक्रिय बनाउने
चिसो समयमा शरीरलाई सक्रिय राख्नुपर्छ। एकै ठाउँमा मात्र बस्नु हुँदैन। एकैछिन हिँड्ने, हातखुट्टा चलाइरहने गर्नाले ऊर्जा आउँछ र शरीर न्यानो हुन्छ।
स्वस्थ र तातो खानेकुरा खाने
जाडो मौसममा सकेसम्म तातो खानेकुरा खाँदा शरीरलाई फाइदा हुन्छ। स्वस्थकर खानाले शरीरमा ऊर्जा दिन्छ।
(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. रोशन झासँग गरिएको कुराकानीमा आधारित)