काठमाडौं- हरेक व्यक्तिको शरीरमा मौसमी प्रभाव पर्छ। गर्मीमा मानिसको शरीरबाट धेरै पसिना र चिल्लो पदार्थ बाहिर निस्किन्छ। त्यसका कारण छाला चिल्लो र चिपचिप हुन्छ। जाडोमा शरीरबाट कम मात्रामा पसिना निस्किन्छ।
गर्मीभन्दा जाडोमा हाम्रो शरीररमा आउने चिल्लो पदार्थ पनि कम हुन्छ। यसलाई ‘नेचुरल मोइस्चराइजिङ फ्याक्टर’ भनिन्छ।
जाडोको समयमा बढी सुक्खा हावा चल्ने भएकाले हाम्रो शरीरभित्र भएको मोइस्चर वा पानीको मात्रा सोस्ने हुनाले छाला पनि बढी सुक्खा हुने गर्छ। जाडोमा बढी एसी र हिटर ताप्ने हुनाले छाला बढी सुक्खा हुन्छ। त्यसका कारण ओठ, गाला र हातखुट्टा फुट्ने समस्या बढी हुन्छ।
के गर्ने ?
छाला फुट्न नदिन धेरै तातोपानी भएको ठाउँमा बस्न वा नुहाउन हुँदैन। शरीर नुहाइसकेपछि छालामा नरिबलको तेल लगाउनुपर्छ। यस्तै, लोसन क्रिम लगाउनु राम्रो मानिन्छ। शरीरमा क्रिम, तेल, पञ्जा, टोपी, मास्कलगायतले ढाक्दा फुट्ने सम्भावना कम हुन्छ।
दैनिक नुहाउने व्यक्तिले साताको दुई वा तीन दिन मात्र साबुन र सेम्पुको प्रयोग गर्नुपर्छ। दैनिक साबुन र सेम्पु प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ। यस्तै, नुहाइसकेपछि सीधै ऊनीको कपडा लगाउन हुँदैन। शरीरभित्र सुतीको कपडा लगाएर मात्र ऊनीको कपडा लगाउनु राम्रो हुन्छ। जाडो याममा पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।